शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार मुद्दा परेपछि महासंघ राजनीतिमा रक्षात्मक मुरारका

बिहीबार, १३ माघ २०७८, १७ : ४७
बिहीबार, १३ माघ २०७८

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्व अध्यक्ष पशुपति मुरारका रक्षात्मक स्थितीमा पुगेका छन् । निजी क्षेत्रको छाता संगठन महासंघमा विगत लामो समयदेखि हालीमुहाली गर्दै आएका मुरारका विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेपछि रक्षात्मक बनेका हुन् ।

महासंघको केन्द्रीय राजनीतिमा सँधै हाबी भइरहने मुरारका यतिबेला महासंघको विशिष्ट सदस्य छन् । निवर्तमान अध्यक्ष भवानी राणाभन्दा अघिल्लो कार्यकालमा अध्यक्ष पद सम्हालेका मुरारका अहिले पनि महासंघमा शक्तिशाली व्यक्ति मानिन्छन् । उनै मुरारका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४९ करोड माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

मुरारकाको प्रमुख लगानी रहेको सिद्धार्थ मिनरल्स प्रालिले सिमेन्ट खानी सञ्चालन गर्दा राज्य स्रोत दोहन गरेको अख्तियारको आरोप छ । उक्त कम्पनीले खानी सञ्चालन गर्दा स्वीकृतभन्दा बढी चुनढुंगा प्रयोग गरेको र त्यसबापतको राजश्व राज्यलाई नबुझाएको अख्तियारले जनाएको छ ।

मुरारकाले आफ्नो कार्यकालमा प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्था परिवर्तन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने गरी महासंघको आन्तरिक विधान परिवर्तन गरेका थिए । उक्त प्रावधानमा टेकेर निर्वतमान अध्यक्ष राणा र वर्तमान अध्यक्ष शेखर गोल्छा महासंघ नेतृत्वमा पुगे ।

यतिबेला उनै मुरारका महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान बेठीक भएको भन्दै विधान संशोधन गर्नेतर्फ लागेका छन् । मुरारकाले पूर्व अध्यक्ष कुशकुमार जोशीलाई साथ लिएर आफूअनुकुल विधान संशोधनको मस्यौदा समेत तयार पारिसकेका छन् ।

आफु अध्यक्ष हुँदादेखि महासंघमा बलियो पकड जमाएका मुरारका महासंघको केन्द्रीय राजनीतिमा यतिबेला रक्षात्मक बनेका छन् । महासंघको राजनीतिमा विगतदेखि नै चण्डीराज ढकाल र मुरारका समूह रहेको छ । वि.स. २००६ मा अध्यक्ष बनेदेखि बलियो पकड जमाएका ढकाललाई पाखा लगाउँदै मुरारका यतिबेला महासंघको सबैभन्दा शक्तिशाली व्यक्तिका रुपमा उदाएका छन् ।

उनलाई शक्तिशाली बनाउन वर्तमान अध्यक्ष शेखर गोल्छाले सपथ लिएलगत्तै विशिष्ठ सदस्यको जिम्मेवारी दिएका थिए । महासंघमा विशिष्ठ सदस्य अध्यक्ष वा सो सरहको शक्तिशाली मानिन्छ । पूर्व अध्यक्ष ढकालले पनि लामो समय विशिष्ठ सदस्यमा रहेर छायाँ अध्यक्षको रुपमा महासंघ चलाएका थिए । ढकाललाई हटाएर उनकै स्थान लिने र आफु शक्तिशाली बन्ने मुरारका​को चाहना यतिबेला तुहिने स्थितिमा पुगेको छ ।

उनै मुरारकाले पूर्व अध्यक्ष प्रदीपजंग पाण्डे महासंघका बहालवाला अध्यक्ष हुँदा अदालतमा मुद्धा परेपछि राजीनामा दिन लगाएका थिए । अदालतमा मुद्दा पर्नासाथ पाण्डेलाई राजीनामा दिन लगाएका मुरारकाले आफूविरुद्ध अदालतमा मुद्दा परेपछि महासंघको विशिष्ठ सदस्यबाट राजीनामा दिन कार्यसमिति र पदाधिकारी तथा सदस्यहरूको दबाब आउन थालेपछि रक्षात्मक बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप