शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोटेश्वर–जडीबुटी सडक चैतसम्ममा सम्पन्न गरिने

बिहीबार, १३ माघ २०७८, १५ : ५५
बिहीबार, १३ माघ २०७८

काठमाडौँ उपत्यकाको बढी सवारी चाप भएको सडकमा पर्ने कोटेश्वर–जडीबुटी विस्तार एकातर्फ सकिएको छ भने अर्कातर्फको काम चैतसम्ममा सकिने गरी अघि बढाइएको छ । दक्षिणतर्फ विस्तार सकिएको र उत्तरतर्फ काम भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।

दक्षिणतिर चिसो नआउँदा नै सकिएको तर उत्तरतर्फ तल्लो भागको काम सकाउँदा नै चिसो बढिसकेको डिभिजनका सूचना अधिकार इञ्जीनियर सुमित केसीले बताए । उनले भने, “चिसो सकिनासाथ कालोपत्र पनि गर्न सकिनेछ ।”

उत्तरतर्फको निर्माणस्थलमा एउटा घर रहेको छ, जुन घरका कारणले पनि विस्तारमा समस्या भएको डिभिजनले जनाएको छ । घरधनी स्थानान्तरणका लागि सहमत नभएपछि अहिले सो विषय मुद्दामा छ । कोभिड सङ्क्रमणका लागि असर पुगेका अरु ठेक्का जसरी यो ठेक्काको अवधि आगामी चैतसम्मका लागि थप भएको छ । त्यतिबेलासम्म निर्माण सकिने इञ्जीनियर केसीले बताए । काममा अवरोध नभए ‘बेस’ एक सातामा र ‘ओभरले’ एक साता गरी जम्मा दुई सातामा सम्पन्न हुने उनको भनाइ छ ।

काठमाडौँ उपत्यका भित्रने एक प्रमुख नाकाका रूपमा यो सडक रहेको छ । खासगरी प्रदेश १ र मधेस प्रदेशसँगै बागमती प्रदेशका विभिन्न जिल्लाबाट उपत्यका भित्रिनका लागि यही नाका छ । अरनिको, मध्यपहाडी, बिपीलगायतका राजमार्गका कारण पनि सडकको चाप बढिरहँदा यहाँ सडक घण्टौँ जाम हुने गरेको थियो । सबैतिरबाट सवारीसाधन आउने तर चोक सानो हुँदा भीडभाड हुने गरेको थियो । चोक चौडा गरेसँगै जाम नियन्त्रणमा सहजरुपमा हुने अपेक्षा गरिएको छ ।

कोटेश्वरबाट जडीबुटीतर्फ लाग्दा देब्रे (उत्तर) तर्फ एक लेन र दाहिने (दक्षिण) तर्फ दुई लेन थप्ने गरी निर्माण सुरु गरिएको थियो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको थियो । सडक सम्पन्न भएपछि जडीबुटीबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडीबुटी हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन् । चोक नै पार गर्नुपर्दा केही समय रोकिए पनि चोक पार नगर्ने सवारी भने रोकिने छैनन् । सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने योजना छ ।

सामान्य अवस्थामा यो सडकमा लामो समयसम्म जाम हुँदा यात्रु र सवारीचालक हैरान थिए । तीनकुनेबाट लोकन्थलीसम्म नै जाम हुँदा नागरिकलाई केही किमी यात्रा गर्न घण्टौँ लाग्ने गरेको थियो । 

अहिलेको सडक विस्तार अल्पकालीन समाधान भए पनि दीर्घकालीनरूपमा यसको समाधान ‘फ्लाइओभर’ नै भएको सडक विभागले बताउँदै आएको छ । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सो स्थानमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माणका लागि अध्ययन गरिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप