ad
x
रिपोर्ट

जीवनहरणको थलो बनेका मधेसका सामुदायिक विद्यालय

person explore access_timeमाघ १३, २०७८ chat_bubble_outline0

घटना एक : २०६६ साल ११ महिना २५ गते । श्री जनता मावि शिवपुर, धनुषा, साविक शिवपुर, वार्ड नं. ३ हाल जनकपुरधाम उपमहानगरपालिका वार्ड नं. १९ मा विद्यालय व्यवस्थापन समितिको समयावधि समाप्त भएकाले शिक्षा नियमावलीअनुसार भद्रभलादमी, अभिभावक र शिक्षाप्रेमीहरूको बैठकमा विद्यालयको हरहिसावका विषयलाई लिएर उत्पन्न विवादमा शिवपुर वार्ड नं.२ बस्ने मो.रेजाको हत्या भयो ।


हरहिसाबका विषय स्थानीयले कुरा उठाएपछि मो. रेजासँग चर्काचर्की भएको थियो । घटनापछि सात जनाउपर मुद्दा चल्यो । यसरी मुद्दा चल्नेहरूमा रामसागर यादव, नागेन्द्र यादव, श्याम यादव, रामकुमार यादव, संजय साह, वीरेन्द्र यादव र प्रकाश यादव छन् । तीमध्येका रामसागर यादव हाजिरी हुँदा धनुषा जिल्ला न्यायाधीश विमल ढुंगेलले पुर्पक्षका लागि थुनामा राखी कारबाही गर्ने भनी जिल्ला अदालतकै निर्णयलाई सदर गरे । १२८ नं. का न्यायाधीशले निजको उमेर नाघि सकेकाले १० वर्षमात्रै सजाय तोक्नुपर्ने राय पुनरावेदनमा पेस गरेका थिए ।



अन्तरिम संविधान धारा १५१, आममाफीका लागि काठमाडौंमा शेरबहादुर केसी, सरकारी वकिल, कारागार व्यवस्था विभागको सिफारिस, मन्त्रिपरिषद्को निर्णयपछि उनी ४ साल २ महिना जेल काटेर रिहा भए । उनले पुराना, पाका उमेरका भएकाले जेलभित्र पनि पञ्चायत गर्दथे भने उनको आचरण पनि असल भएको कैदीहरूले बताए । उत्प्रेषण मुद्दा, सर्वाेच्चमा मुद्दा चल्दैछ । १ वर्ष पहिलेसम्म श्याम यादव पुर्पक्षका लागि जलेश्वर जेलमै थिए ।



यस्तै नागेन्द्र यादव प्रहरी कस्टडीबाट नै फरार भए भने श्याम यादवले आफ्नो आमालाई तत्कालीन जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेका बेला नै पक्राउ परे ।



मृतक मो. रेजा भने विदेशबाट बिदा मनाउन घर आएका थिए । उनी लुगा फुकालेर नुहाउन गइरहेका बेला नै साथीहरूको आग्रहमा विद्यालय परिसर पुगे । त्यहाँ उनले उपस्थित भद्रजनलाई नमस्कार पनि गरेका थिए । उनी सिरहामा बच्चा चोरीको आरोपमा पनि पक्राउ परेका थिए । २ तीनचोटि प्रहरीको फन्दाबाट पक्राउ पर्दै उम्किँदै आएका पनि स्थानीयले सुनाए ।



मृतकका तर्फबाट श्याम मिश्रा, दीपक केसी, मन्सुर राइनले बहस गरेका थिए भने आरोपीका तर्फबाट देवेन्द्र ठाकुर निराला, विश्वनाथ उपाध्याय र विनोद शर्माले वकालत गरेका थिए । 



घटना दुई : ०६८सालतिर श्री मिथिला तिलक नन्दकुमारी कार्की मावि, झटियाही, वार्ड नं. ४, विद्यालय व्यवस्थापन समितिको छनोट प्रक्रियाका लागि बसेको छलफलमा विवाद हुँदा हंसपुर नगरपालिका वार्ड नं.८ भतही घर भएका अन्दाजी वर्ष ५० का रामएकवाल मण्डलको हत्या भयो । त्यतिबेला धनुषाको सुगानिकास घर भएका रामवृक्ष साह विद्यालयका प्रधानाध्यापक थिए । दुई समूहबीच भएको विवाद उग्र हुन थालेपछि एकले अर्कामाथि जाइलाग्ने क्रममा उनको मृत्यु भएको हो ।



हत्यामा संलग्न भनिएका सुनिल मण्डल, अन्दाजी वर्ष ३६ का लवटोली घर भएका, लवटोली प्राविका प्रधानाध्यापकसमेत रहेका उनी नेकपा माओवादी पार्टीका कार्यकर्तासमेत  थिए । उनी थुनामुक्त भएपछि कारबाहीमा उनी पनि मारिएको जानकारी प्राप्त भएको छ । उल्लेखनीय के छ भने मृतक मण्डलका शवमा नेपाली काँग्रेस पार्टी र मधेसी जनाधिकार फोरम पार्टीले आफ्नो कार्यकर्ता भएको दाबी गर्दा पनि विवाद उत्पन्न भएको थियो पछिबाट दुवै पार्टीका नेताहरूले आआफ्ना पार्टीका झन्डा ओढाएर अन्तिम बिदाइ गरे । हाल हंसपुर नगरपालिका, वार्ड नं. ८ मृतकः राम एकवाल मण्डल, वार्ड नं. ८, भतही, अन्दाजी वर्ष ५० का थिए ।



घटना तीन : मिति २०७१ चैत ८ गते मदन आश्रित विद्यालयमा व्यवस्थापन समितिका विषयमा भएको विवादमा धनुषाको सबैलामा दुईजना मारिए । लाठी र दाउराको चिर्पटसहित आएको समूहले आक्रमण गर्दा २०७१ चैत ८ गते आइतबार राति ९ बजे एकजनाको मृत्यु भएको हो भने घटनाको तीन घण्टापछि अर्का एकजनाको अपहरणपछि गोली हानी हत्या गरिएको हो । मारिनेहरूमा रामसेवक राउत र रामप्रकाश यादव थिए । घटनामा कैयौं घाइते पनि भए । कुटपिटबाट घाइते राउतको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । यादवलाई गोली हानी हत्या गरिएको थियो ।

सबैला नगरपालिका १ स्थित रामएकवाल ठाकुरको घरमा स्थानीय मदन–आश्रित निम्नमाध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उम्मेदवारका विषयमा छलफल गरिरहेका बेला आक्रमण भएको थियो ।

सबैला गाविसको पूर्वअध्यक्ष रामवली साहले केही अभिभावकसहित छलफल गरिरहेका बेला लाठी र दाउराको चिर्पटसहित आएका करिब ४० जनाको समूहले एक्कासि कुटपिट गर्न थालेको बताए ।

धनुषाको सबैला हत्याकाण्डका योजनाकार भनिएका एमाले वैकल्पिक पोलिटब्युरो सदस्य एवं जनकपुर अञ्चल इन्चार्ज योगनारायण यादवसहित २५ जनाको नाममा जिल्ला अदालत धनुषाले वारेन्ट जारी गर्यो ।

घटनाको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका तीनजनालाई भने पुर्पक्षका लागि थुनामा राखी कारबाही गर्ने भनी आदेश सुनाइयो ।

जिल्ला अदालत धनुषाका न्यायाधीश मुकेश उपाध्यायको इजलासले सुनाएको आदेशमा यादवसहित २५ जनाको नाममा पक्राउ पूर्जी तथा मुद्दा अनुसंधानका क्रममा प्रहरी नियन्त्रणमा रहेका महेन्द्र यादव, महेश यादव तथा रामबिहारी यादव भने लालबिहारी यादवका हकमा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने उल्लेख छ ।

प्रहरी नियन्त्रणमा रहेका तीन जनाको हकमा आदेशमा भनिएको छ —तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादीहरू निज कसुर घटनामा संलग्न नरहेको भनी मान्न नसकी मुलुकी ऐन २०२० ÷११८ को देहाय २ बमोजिम हाललाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्ने ।

विद्यालय व्यवस्थापन समिति गठन विवादमा २०७१ चैत ८ गते राति सबैलामा भएको दुईपक्षीय भिडन्तमा सख्त घाइते बनेका स्थानीय ५२ वर्षीय रामसेवक राउत गडेरीको उपचारका क्रममा चैत ९ गते बिहानै मृत्यु भयो । रामसागर साह गम्भीर घाइते भएका थिए । अज्ञात समूहको आक्रमणबाट पूर्वगाविस अध्यक्ष साह, स्थानीय रामसागर साहसहित १४ जना घाइते भए । एमाले नेता योगनारायण यादव जेलबाट छुटेपछि बिरामीका कारण उनको पनि मृत्यु भइसकेको छ ।

फेरिएको समय

यसपटकको ठिही अलिक फरक छ । त्यतिसारो सिरेटो चलेका छैनन् । कुहिराले आकास ढपक्कै ढाकिएको छैन । न्यानो लुगाले जाडो छल्न सकिने स्थिति छ । यस्तोमा धनुषा जिल्लाको मध्यपूर्वी भेगको श्री जनता नमुना प्राविधिक विद्यालय, गिद्धाबेलापट्टीका प्राचार्य पवन मण्डल एकाबिहान विद्यालय परिसरमै चमेनाघरअघि पाहुनासँग बात मारिरहेका छन् । चियाको चुस्कीसँगै गफिँदा उनले विद्यालयका सानातिना काम पनि गरिरहेका छन् ।

त्यतिबेलै विद्यालयनजिकको गाउँ नेमुवाटोलका अभिभावकहरू मुवारक साफी तथा शिव साहले आफ्ना विद्यार्थी कासिम साफी र सुमित साह लिएर आइपुग्छन् । तिनले आफ्ना बालबच्चालाई धनुषा जिल्लाको सदरमुकाम जनकपुरधाममा अहिले कक्षा ७ मा पढाइरहेका छन् । जनकपुरधाममा बच्चाहरूको लेखपढ नसप्रिएपछि गाउँकै विद्यालयमा पढाउने आसमा उनी प्राचार्य मण्डललाई भेट्न आएका हुन् । मण्डलले पनि बच्चालाई स्कुलमा पढाइदिने आश्वासन दिन्छन् ।

तर, सहरको आवासीय विद्यालयमा पढेका बच्चालाई हेर्दा प्राचार्य मण्डल हच्किन्छन् । लामालामा कपालमा ती बच्चालाई हेरिरहँदा मण्डलको आँखामा काँडा बिझ्छ । केही कक्षा पार गरेर एक कक्षामा पढ्नुपर्ने स्थिति हुँदा बोर्डिङ्ग स्कुलका ती छात्रको उमेर बढी नै देखिन्छ । अभिभावकले पनि बोर्डिङ्ग स्कुलमा पढेको ढिपी गर्दै कक्षोन्नति गरेर भर्ना गर्न जोडबल गर्छन् ।

कोर मधेस भनेर चिनिने मधेस प्रदेशको केन्द्र धनुषामा मात्रै हेर्ने हो भने विद्यालय व्यवस्थापन समिति गठनको नाउँमा झन्डै आधा दर्जन व्यक्ति मारिए । दर्जनौं व्यक्ति थुनामा छन् । कयौं प्रहरीको फरार सूचीमा छन् । दर्जनौं व्यक्तिले मुद्दामामिलाका जालझेलमा नराम्ररी फसेका छन् ।  शान्तिक्षेत्र घोषित विद्यालय हिँसा र क्रुरता प्रदर्शन गर्ने थलो बनेका छन् । र, जीवनहरण हुने दंगाग्रस्त क्षेत्रभन्दा फरक देखिँदैनन् यहाँका परिदृश्य ।

प्राचार्य मण्डल प्रवेश परीक्षा लिएरै बच्चालाई भर्ना गर्ने बताउँछन् । अनि एकजोर पाइन्ट, सर्ट, जुत्ता, कापीकिताब किनिदिने सल्लाह पनि अभिभावकलाई दिन्छन् । विद्यार्थीको व्यक्तिगत सरसफाइमा ध्यान दिन पनि अभिभावकलाई उनले आग्रह गर्छन् ।

वर्षौंदेखि विद्यालयको सम्पत्तिमा केही उपद्रवी तत्वले गरिरहेको रजाइ तोड्न उनले कम्ती जोखिम मोलेनन् । विद्यालय प्राङ्गणमा विद्यार्थी अट्न नसकेर विद्यार्थीहरू छेउकै कम्पाउन्डमा प्रार्थना गर्छन् । त्यो पहिला साना पोखरी जस्तै थियो । फिल्डमा भएको खाल्डाखुल्डी पुर्नका लागि मञ्चसहितको व्यवस्थित मैदान तयार गर्नका लागि विद्यालयले निजी स्रोतबाट ३० लाख बजेट प्राविधिक प्रारम्भिक अनुमान गरेकोमा १३ लाखमै काम सकिएको उनले बताए । बचेको पैसाबाट विद्यालय नै लाभ भयो ।

विद्यालयमा शिक्षकविद्यार्थी सबै बिहानै दस बजे नै आएर पंक्तिबद्ध हुँदारहेछन् । सामान्य पिटी हुन्छ । मोटिभेसनल स्पिच विद्यार्थी र आगन्तुकबाट हुन्छन् । प्राचार्य मण्डल भन्छन्, ‘हामी केवल पढाउँदैनौं, जीवन जिउने कला पनि सिकाउँछौ । प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप पनि हुन्छन् । त्यसमा सबै भाग लिन्छन् ।’

प्रति वर्ष सार्वजनिक र सामाजिक लेखापरीक्षण गरिन्छ । विद्यार्थी संख्या बढी भएकाले साना साउन्ड बक्समा सुन्न अप्ठेरो नहोस् भनेर विद्यालयले नै लाउडस्पिकर पनि किनेको छ । गिद्धाका पुनमदेवी दास आफ्नो छोरा दिनभरि मोबाइलमै झुण्डिइरहने र टिकटक बनाउन थालेको गुनासो गरेपछि प्राचार्य मण्डलले उनलाई मोबाइलको प्रयोगबारे सिकाउँछन् । उनकै अगाडि विद्यार्थीलाई बोलाएर मोबाइलको जथाभाबी प्रयोग नगर्ने सर्तमा कक्षाकोठामा भित्र्याउँछन् ।

प्राचार्य मण्डलले बढी बदमासी गरे थर्ड डिग्री प्रयोग गर्छु भनेपछि विद्यार्थी थर्कमान हुन्छन् । खासमा थर्ड डिग्री भन्नाले विद्यार्थीलाई परामर्श दिएर पढाइप्रतिको चाख बढाइदिने हो ।

शैक्षिक थलोमा यस्ता गतिविधि तराईमधेसका प्रायः विद्यालयमा हुँदैनन् । विद्यावारिधि गरेका, डबलत्रिपल मास्टर्स गरेका शिक्षकहरू मण्डल प्राचार्य भएका विद्यालयमा छन् । अनियमितता र अल्छी गर्ने, ढिलो आउने, चाँडै विद्यालयबाट गइहाल्ने, शैक्षिक वतावरण बिगार्ने, ग्रुप बनाउने, विद्या्लयको समयमा खेतीपाती गर्ने तथा पसल चलाउने, नेताहरूको पछाडि लागेर बिना जानकारी लामो समयसम्म विद्यालयबाट अनुपस्थित रहने लगायतका शिक्षकलाई सबै सरोकारबालाहरूले सम्झाउन प्रयास गरे पनि र स्पष्टीकरणको चित्तबुझ्दो जबाफ नआउँदाखेरि विद्यालय व्यवस्थापन समितिको .निर्णयअनुसार १४ जना शिक्षकलाई हालसम्म कारबाही गरिएको उनी बताउँछन् ।

अहिले ५६ जना शिक्षकको टिम छ । ती शिक्षकहरू आफ्ना कर्तव्य र दायित्व कुशलतापूर्र्वक निर्वाह गरिरहेका छन् ।

असल र भरपर्दा शिक्षकहरूको समूहका कारण विद्यालयमा लेखपढको गुणस्तर कायम भएको प्राचार्य मण्डलको भनाइ छ । विद्यालयमा ४१ सय विद्यार्थी छन् । धान भित्र्याउने बेलामा पनि तीन हजार छ सयभन्दा बढी विद्यार्थी नियमित विद्यालय पुग्ने गर्छन् । यतिको संख्यामा विद्यार्थी सातवटै घन्टीसम्म रहनुलाई मण्डलले ठूलो उपलब्धिका रूपमा व्याख्या गर्छन् । जिल्लाकै अन्य सामुदायिक विद्यालयमा यस्तो स्थिति बिरलै देखिन्छन् ।

विद्यालयमा बालविकासदेखि प्लस २ र विद्यालयमै तीनकोरिया बहुमुखी क्याम्पस पनि खोलेर बिबिएस, बिए र यस वर्षदेखि कानुनको पनि पढाइ भइरहेको छ ।

यसरी तराईमधेसको शैक्षिक स्तर खस्कियो भने चिन्ता फिकिर भइरहँदा ज्ञानगुणको यो भूमिमा यो विद्यालयले भने शैक्षिक सुधारको बलियो आधारशिला खडा गरेको छ ।

भनिन्छ, काठमाडौंपछि सबभन्दा बढी मधेसमै विद्यालयहरू खोलिए । झन् काठमाडौभन्दा पहिला वीरगन्जमै विश्वविद्यालय पनि खोलियो । २००७ साल चैतमा वीरगन्जमा नेपाल राष्ट्रिय विद्यापीठ स्थापना भएको थियो ।

महोत्तरीको मटिहानीस्थित संस्कृत विद्यालयको पृष्ठभूमि र महत्ता गौरवपूर्ण त छँदैछ । यसभेगमा २००७ सालको छेउछाउतिर विद्यालयहरू खुलेको पाइन्छ र खुल्ने क्रम आजसम्म जारी नै छ । यहाँका जनताले सात दशकको कालखण्डमा पनि विघौं निजी जग्गा विद्यालयका नाउँमा दान गरे । सक्नेले जग्गा, नगदसम्म अर्पण गरे नसक्नेले श्रमदान गरे । केही नहुनेले आफ्नो समय नै विद्यालयलाई दिए । यसरी बाँस र टाटका टहरावाला विद्यालय आ–आफ्नै पौरखले यहाँका शिक्षाप्रेमी, समाजसेवी र जनताले ठड्याए । अहिले ती विद्यालयका नाउँमा पाँच सय रूपैयाँसम्म सहयोग गर्न हतपत कोही तयार भइरहेका छैनन् ।

सामथ्र्य भएकाहरू आफ्ना छोराछोरीलाई बर्दिवास, सिन्धुली, काठमाडौ र हेटौडाजस्ता ठाउँमा पढाइरहेका छन् । नहुनेले मात्र गाउँका टहरामा सञ्चालन हुने बोर्डिङ्ग स्कुलमा बालबच्चा पढाउँछन् । सामुदायिक विद्यालयसँग कुनै मतलब राख्नेहरूको संख्या कमैमात्र छ । विद्यालयमा विपन्न र दलितका बालबालिका छन् । तर, शिक्षक र व्यवस्थापन समितिमा ठूलाठालुको पकड, वर्चस्व र पहुँच छ । त्यसैले पनि विद्यालहरूको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ ।

मधेस प्रदेशले शिक्षाक्षेत्रका लागि विनियोजित बजेट नै रकमान्तर गरेर मन्दिर र तिनका पर्खाल निर्माणमा अनियमितता गरेको खबरहरू सार्वजनिक भइरहेका छन् ।

यसले प्रस्ट हुन्छ कि विद्यालय र समुदायबीचको सम्बन्ध केही दशकयता चिसिएकै छ । जनप्रतिनिधिविहीन रहेका बेला विद्यालय राजनीतिको अखडा बन्न पुग्यो । सरकारी र गैरसरकारी स्तरबाट पनि मधेशमा शिक्षा सुधारका लागि अरबौं रूपियाँ खर्चियो । पाँचतारेदेखि सानाठूला सबै होटल र सभाहलमा दिनहुँ कुनै न कुनै कार्यक्रम भइरहन्छन् । विज्ञसमूहले अनुसन्धान, र अन्वेषण गरिरहेका हुन्छन् । जसको निचोड हुन्छ–मधेश प्रदेशमा शिक्षाको अवस्था नाजुक छ ।

अन्य प्रदेशका तुलनामा न्यून साक्षरता दर रहेको मधेस प्रदेशमा बालविकासदेखि उच्च शिक्षासम्मको कहालीलाग्दो अवस्थामा परिवर्तन ल्याउन विभिन्न किसिमका कार्यनीति र रणनीति तर्जुमा भइरहन्छन् । तर, परिणाम भने शुन्य नै हुन्छ ।

कोर मधेस भनेर चिनिने मधेस प्रदेशको केन्द्र धनुषामा मात्रै हेर्ने हो भने विद्यालय व्यवस्थापन समिति गठनको नाउँमा झन्डै आधा दर्जन व्यक्ति मारिए । दर्जनौं व्यक्ति थुनामा छन् । कयौं प्रहरीको फरार सूचीमा छन् । दर्जनौं व्यक्तिले मुद्दामामिलाका जालझेलमा नराम्ररी फसेका छन् ।  शान्तिक्षेत्र घोषित विद्यालय हिँसा र क्रुरता प्रदर्शन गर्ने थलो बनेका छन् । र, जीवनहरण हुने दंगाग्रस्त क्षेत्रभन्दा फरक देखिँदैनन् यहाँका परिदृश्य ।

भाइभतिजा, छोरीबुहारी र आसपासे नियुक्त गर्ने भर्तीकेन्द्र बन्यो विद्यालय । साइत हेरेर विद्यालयको दैलासम्म पुग्ने शिक्षकको सँख्या अझ पनि औंलामा गन्न नसकिने छ ।

संघीय संरचनामा मुलुक गएपछि बेथिति थप्यैको थप्यै छ । कुन तहको शिक्षा कुन तहका सरकार मातहत भन्ने प्रश्नको उत्तर देशको मूलकानुनले नै दिएको छ । तर, त्यसअनुसारका संरचना, जनशक्ति र पद्धति विकसित भएका छैनन् । जसले गर्दा शैक्षिक सुधारका मार्गचित्र गन्तव्यविहीन भएको छ ।

शिक्षा प्रशासन र व्यवस्थापनमा परम्परागत शैलीका कर्मचारीहरूको हालीमुहाली छ । राजनीतिकर्मीको वर्चस्व र प्रभावका कारण सुकिलामुकिलाहरू खेताला शिक्षक राखेर ठेक्कापट्टा गरिरहेका छन् । विज्ञान र गणित पढाउने अब्बल शिक्षकलाई साइकलको पन्चर टाल्न पनि धौधौ छ ।

सेवानिवृत्त शिक्षकहरू पेन्सनपट्टाका लागि वर्षादेखिविद्यालय, पालिका तथा अन्य सरोकारवाला निकायमा धाइरहेका छन्, नेताका दैला चहारिरहेका छन्  । तर कतै कुनै सुनवाइ भइरहेको छैन । चौमासिक तलब पनि पाउनलाई पालिकामा धर्ना अनसनमा बस्नुपरेको यर्थाथसँग आँखा चिम्लिन सकिँदैन । सिंगो गाउँ नै एउटै शिक्षकको निर्देशनमा चल्ने हाम्रो समाजमा प्रधानाध्यापक र शिक्षाका अधिकारीहरू नै चरम यातनाका शिकार भए । उनीहरूसँग अभद्र व्यवहार गरिए ।  यसरी शिक्षकको आफ्नो पेसागत सुरक्षा, मनोबल र आत्मसम्मानका साथ बाँच्न पाउने अधिकार खुम्चिएको छ ।

मधेस प्रदेशले शिक्षाक्षेत्रका लागि विनियोजित बजेट नै रकमान्तर गरेर मन्दिर र तिनका पर्खाल निर्माणमा अनियमितता गरेको खबरहरू सार्वजनिक भइरहेका छन् ।

तर, प्रतिकूल परिस्थितिमा पनि जिल्लाका एकाध विद्यालयले राम्रो गरेका छन् । पूर्वी धनुषाको यस्तै विद्यालय हो – श्री जनता नमुना प्राविधिक विद्यालय, गिद्धाबेलापट्टी । अहिले धनुषाको मध्यपूर्वमा रहेको यो विद्यालय त्यहाँका गरीब र खाडी मुलुकमा पसिना बगाइरहेकाहरूका सन्तानको आकर्षण केन्द्र बनेको छ । हुनेखानेले पनि आवासीय विद्यालयबाट बच्चाको नाउँ कटाएर यस विद्यालयमा भर्ना गराउने क्रम बढेको छ । गाउँकै विद्यालयमा पढ्ने भनेर बाहिर शिक्षार्जन गरिरहेकाहरू धमाधम घर फर्किरहेका छन् ।

यो विद्यालय क्षेत्रका बस्तीमा धुरन्धरहरू जन्मिएका छन् । भाषावैज्ञानिक डा.रामावतार यादव (मुरिवा निवासी), अमेरिकामा रहँदै आएका अर्थशास्त्री इकराही निवासी स्वर्गीय डा. सुकदेव साह, बेलापटट्ीका पारिजातका कृति शिरिषका फुललाई मैथिली अनुवाद गरेका साहित्यकार डा.गंगाप्रसाद अकेला, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा राजनीतिशास्त्रका केन्द्रीय विभाग प्रमुख डा. हबिबुल्लाह, उनका छोरा डा. अजिज, शिक्षा क्षेत्रका प्रतिष्ठित अनुहार इकराही निवासी सुधीर झा, त्यहाँका बंगाली परिवार, दुहबीका साहित्यकार अयोध्यानाथ चौधरी, प्राध्यापक रामसागर पण्डित, गिद्धाका डा. कुलदीप पण्डित, यौन तथ चर्मरोग विशेषज्ञ डा. नरेन्द्र पण्डित, करोनाकालका ख्यातिप्राप्त डा रवि प्रधानलगायतका अनेकौं उल्लेखनीय नाम छन्, यस क्षेत्रका लागि ।

मधेस प्रदेशका १३६ वटा स्थानीय तहमा मात्र २ दलित मेयर रहेकामा एकजना बेचन दास हुन् । उनी यो विद्यालय रहेकै नगर विदेह नगरपालिकाका प्रमुख छन् । उनले पनि विद्यालयको सर्वाङीण विकासमा चासो नदेखाउनु ज्यादै नै दुखद भएको स्थानीयहरू बताउँछन् । झन् नगर प्रमुख दासले प्रचार्य मण्डललाई मावि दुहवी गोबराही काजसरुवा गर्दा विवाद नै चर्कियो । यो विवाद २ वर्षसम्म (२०७५देखि २०७६ सम्म चल्यो । विद्यालय विरोध प्रर्दशनका लागि रणभूमि नै बन्यो ।

 कहिले प्रचार्य पक्षधरले नगरपालिकाउपर घेराउ, ढुंगामुढा त कहिले मेयर पक्षधरले पनि प्रचार्यविरुद्ध नारावाजी गर्यो । विवाद सुल्झिनुको साटो झनै बल्झियो । विवाद उच्च अदालतसम्म पुग्यो । अदालतको परमादेश र फैसला पनि प्रचार्य मण्डलकै पक्षमा आएपछि विवाद साम्य भयो । यस विवादबाट विद्यालयको विकास निर्माणका कडोडौं रकम फ्रिज भयो । शिक्षा विरोधी र विद्यालयविरोधीहरू मिलेर अकल्पनीय षड्यन्त्र, छल र प्रपञ्च रच्यो । अदालतदेखि अख्तियारसम्म सयौं मुद्दा प्राचार्य मण्डल र विद्यालयले खेप्यो । तर हार उनीहरूकै भयो ।

अहिले विद्यालयको स्थिति निकै राम्रो छ । अहिले मेयरले पनि सहयोग गरिराखेको अवस्था छ । त्यसैले त्यस क्षेत्र शंकर मावि दुहवी, केएचएस मावि, खजुरी, जनता मावि सहिदनगरलगायतका ठूलाबडा सबै विद्यालयलाई उछिन्दै आएको स्थानीय सुनाउँछन् । अहिलेकै गतिमा विद्यालयको विकास भयो भने जिल्लाको नमुना र उत्कृष्ट विद्यालय घोषणा भएकै छ । यो विद्यालय देशकै टप टेनमा पर्न पनि सफल भएको प्रचार्य मण्डल दावी गर्छन् । नगरपपालिकामा कोरोनाको अवस्था सामान्य रहेकाले नगरपालिका कार्यालयको सूचनाअनुसार विद्यालय सञ्चालनमा अहिले पनि रहेको छ ।

यसरी बोर्डिङ्ग स्कुल छुटाएर पनि विद्यालयमा भर्नाका लागि अभिभावकका दबाब थेगिनसक्नु छ । बिनाजानकारी अनुपस्थित हुने विद्यार्थीका निवेदनउपर प्राचार्यको कारबाही हेर्नेलायक हुन्छ । विद्यालय नआएका विद्यार्थीका अभिभावकलाई फोनमार्फत प्रत्येक दिन सोधीखोजी गर्ने फोनिँग कार्यक्रम लागू गरिएको छ ।

प्रत्येक दिन एसेम्बलीमा मोटिभेसनल स्पिचका लागि स्थानीय र जनकपुरधाम क्षेत्रका शिक्षा र सामाजिक क्षेत्रका प्रेरणादायी अतिथिलाई निम्त्याइन्छ भने विद्यार्थीहरूका तर्फबाट पनि बोल्न लगाइन्छ जसले गर्दा बोल्ने र लेख्ने बानी विकासमा टेवा पुग्ने दाबी शिक्षकहरू गर्छन् ।

 होस्टल तथा खाजाघर विद्यालय प्राङ्गणमै छ । बारह बजे लेट नँई दु बजे भेट नँई उक्तिलाई उल्टाउँदै विद्यार्थी र शिक्षक पोसाकमै बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म कार्यरत रहन्छन् । विद्यालयमा विकास निर्माणका कार्य पनि भइरहेका छन् । प्रतिमहिना परीक्षा लिइन्छ र नतिजा प्रकाशन गरिन्छ । कमजोर नतिजा भएका विद्यार्थी तथा अभिभावकलाई केस स्टडी गरी काउन्सिलिग गरिन्छ । विद्यालयको एसइईका नतिजा शतप्रतिशत, ३० देखि ४० जनाले विशिष्ट श्रेणी र थोरैमात्र ’बी प्लस र सी’मा रहने गरेको बताइन्छ ।

यसरी गरीब तथा विपन्न बस्तीका झुपडीमा शिक्षाको दियो बाल्ने र तिनका बालबालिकाका अनुहारमा मुस्कान ल्याउने प्रयास गरिरहेका प्राचार्य मण्डलका विद्यालय परिवारप्रतिको झुकाव, मोह र उत्तरदायित्वले दिनदिनै विद्यालय अग्रपथमा लम्किरहेको छ । जुन धेरैका लागि अनुकरणीय, प्रेरणास्पद र पथप्रदर्शक हुन सक्छ ।

शैक्षिक क्रान्तिका मसिहाहरूले यस विद्यालयलाई २००८ सालमा प्राविका रूपमा सञ्चालन गरेका थिए । त्यसपछि २०४९ सालमा मावि भएको यो विद्यालय यस क्षेत्रका सबैभन्दा कान्छो विद्यालय भए पनि सबैलाई उछिन्दै आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको छ ।

यसरी तराईमधेशको शैक्षिक स्तर खस्कियो भने गहिरो चिन्ता फिकिर हुनु स्वाभाविक नै हो । ज्ञानगुणको यो भूमिमा प्राज्ञिक तेजोहरणका कारण जे सुकै भए पनि यस्तो अवस्थाको यथार्थ र यसबाट उत्पन्न हुने अनिष्टले अत्याउँछ नै । तर, घनघोर निराशाका वीच याज्ञवल्क्य, गार्गी र मैत्रीयको यो थलोले सामथ्र्य, सम्भावना र आशाको आधार भने तय गरिरहन्छ ।

मुलुकले संघीयताको अभ्यास गरिरहँदा पनि शिक्षामा खासै उपलब्धिमूलक सुधार देखिएको छैन । मन्दिर जानलाई केबुलकार र विद्यालय जानलाई तुइन भएको हाम्रो देशमा शिक्षामा व्यापक लगानी गरिए पनि नतिजा उत्साहप्रद छैन । कर्णाली प्रदेशको मानवीय सूचकांक र मधेस प्रदेशको शिक्षाको अवस्था हेर्ने हो भने आङ्खसिरिँग हुन्छ ।

यो विद्यालयसँग पनि हिंसा, अवरोध, आक्रोस, असन्तुष्टिका डोबहरू छन् । जुन बासी चियाको दागजस्तै अमिलो छाप कहिल्यै नमेट्नेगरी त्यहाँका प्रचार्य पवन मण्डलसँग छ ।

हिंसाका चोटहरू आलै छन् । विद्यालयको मुखमै अँग्रेजी माध्यममा पढाइ हुने स्कुलहरू छन् । राम्रै लगानीमा खोलिएका । तर, छेउछाउका ती निजी विद्यालयहरूबाट भने नाम कटाएर अभिभावकहरू यस विद्यालयमा आउने गरेका छन् ।

प्राचार्य मण्डलका अनुसार निजीका प्रिन्सिपलहरूले हारगुहार गर्छन्, किन हाम्रा बच्चा लगेको ? तर उनी भन्छन्, हामीले राम्रो ग–यो भने हामी कहाँ आउँछन्, रह्यो सवाल गुणस्तरको हो । जहाँ राम्रो सेवा दिइन्छ, त्यहाँ विद्यार्थीको लर्काे लाग्छ नै । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालजस्तै जनप्रतिनिधि वा जिम्मेवार व्यक्तिले आफ्ना विद्यालयका गुणस्तरमा ध्यान दिए त्यस वरपरका निजी विद्यालयहरू त्यतिकै सुकेर जाने विश्वास उनको छ ।

विपन्नता र अशिक्षाको कहालीलाग्दो अँध्यारोमा रुम्मलिएका मुलुकका विकट ग्रामिण क्षेत्रहरूमा शिक्षाको दियो बाल्ने काम ज्यादैं नै चुनौतीपूर्ण भएका बेला अत्यन्त साहसिक सङ्कल्प र दृढताको पृष्ठभूमिमा मधेसमा विद्यालयहरू स्थापना भएको इतिहास छ । समुदायका लागि निर्वाह गर्नुपर्ने दायित्वलाई केही दशक अगाडि चिन्तन–मनन गरेर लेखपढ गर्ने गराउने कुरामा अभिभावक र बालबालिकाको रुचि एवं संलग्नता बढाउने उच्च विचार, महान् सोच तथा महत्वपूर्ण दृष्टिकोणले अघि सरेका समाजका अगुवाहरू लगायतका शिक्षाप्रेमीहरूले विद्यालय स्थापना र विकासमा पु¥याएका अतुलनीय–अविस्मरणीय भूमिका, योगदानलाई बिर्सन सकिँंदैन ।

सस्तो, गुणस्तरिय र उत्पादनमुखी शिक्षाको सरकारी सङ्कल्प सार्वजनिक भएको बर्षाै नाघिसक्यो । यस अर्थमा सबैका लागि शिक्षा भन्ने नाराले सैद्धान्तिक र अवधारणात्मक रूपमा छलाङ्ग मारेको छ । तर यसको अप्राविधिक, अव्यवहारिक र अदूरदर्शी कार्ययोजना र तिनको कार्यान्वयन तथा लक्ष्यनिरपेक्ष, अनुपलब्धिमूलक तथा परिणामविहीन प्रबन्धनबाट शिक्षाक्षेत्रको संकट थप चुलिएको छ ।

सरकारी विद्यालयहरू चल्ने स्रोत सुकेका छन् । सामाजिक दायित्वलाई व्यक्तिगत कार्यसूचीमा पार्ने व्यक्तिहरूको अभावले जिम्मेवारी वहन गर्नेहरूको खडेरी परेको छ । सरकारको शुल्क उठाउने र नउठाउने नीतिगत अस्थिरता र अस्पष्टताले संस्था एवम् अभिभावक चेपुवामा परेका छन् । अजिंगरझैं फिँजिदै मध्यमवर्गीय किसानको कोठीमा वर्षभरि छाक टार्न थन्किने धानचामल हसुर्ने कम्पनी विद्यालयहरूले गुण्स्तरीय शिक्षाको गुड्डी हाँकेर रिक्साठेला गाडा घिसार्दै लखतरान पर्नेहरूको पसीना निचोरेका छन् ।

अन्तोगत्वा सहरबजारका मात्र होइन, सदरमुकामबाट कोसौं टाढाका सरकारी विद्यालयहरू केही नहुनेको पाठशाला बन्न पुगेका छन् । यसले निम्त्याएको छ अत्यासलाग्दा दुष्परिणाम – कक्षा, छात्र र बजेटमा ह्रास ल्याएर । सरकारी विद्यालयको कहालीलाग्दो चित्र यहाँमात्र कहाँ थामिन्छ र ? शिक्षकको अपुग दरबन्दी, दरबन्दी मिलानको बेथिति, विद्यालयको दैलो साइत जुराएर टेक्ने शिक्षकको प्रवृत्ति, बाह्रैमासा लेखपढको किंवदन्ती आदि सरकारी विद्यालयका पछिल्ला चित्र हुन् । पाठ्यक्रमिक त्रुटि र तालिमविहीन शिक्षकको समस्याले सरकारी विद्यालयले जन्माउँदै गरेका अद्र्धदक्ष घोकन्ते पुस्ताको कहानी त छँदैछ ।

शिक्षाक्षेत्रका यी तमाम समस्यालाई राजनीतिक, सामाजिक र आर्थिक चिन्तनको विषय बनाई राष्ट्रिय बहसमा ल्याउनुपर्छ । र, खोज्नुपर्छ गतिशील समयसापेक्ष शैक्षिक प्रणाली । यो प्रणालीले सम्बोधन गर्न सक्नुपर्छ – पढाइ र रोजीरोटी बीचको सम्बन्ध, शिक्षकको छवि सुधार्ने उपाय, शिक्षकको सामाजिक सम्मान, पेसाप्रतिको आत्मसम्मान, शैक्षिक संस्थानको दिगो, प्रभावकारी र अनावश्यक हस्तक्षेपहीन प्रबन्धन आदि ।

मुलुकको बदलिंदो राजनीतिक परिदृश्यमा गहिंरिएको सामाजिक, सांस्कृतिक, आर्थिक समस्यालाई व्यवस्थापन गर्ने चुनौतीसँगै सबै खालका संस्था, संयन्त्र र कार्यहरूको पुनर्संरचना गर्ने सम्भावना भने समाप्त भइसकेको छैन । उँधो लाग्दै गरेको शिक्षा जगतलाई उँभो लगाउन यतिबेला नै बलियो जग हाल्नु सान्दर्भिक हुनेछ ।  

विद्यालय र तीनै तहका सरकारबीच समन्वय जरुरी छ । संघीय शिक्षा ऐन, शिक्षक तयारीको पाटो, स्थानीय तहमा शिक्षक व्यवस्थापन, शिक्षाको मोडालिटी, राष्ट्रिय भाषाको नीति, मातृभाषामा पाठ्यपुस्तक निर्माण, तिनका जाँच, पेपर चेकअप, भाषागत विषयका शिक्षक निर्देशिका, अन्तिम पिरियडमा भाषाका विषयलाई राख्ने परिपाटी, शिक्षाको रकम रकमान्तरण गरी माटो कि बाटोमा लगानी, कोभिडका बेला वैकल्पिक शिक्षाका कार्यक्रमहरू सञ्चालन नगर्ने प्रवृत्ति, शिक्षकलाई मातृभाषामा कक्षामा लेख्न र पढाउन पनि समस्या, प्रदेशको भाषा निर्धारण, क्षेत्रगत हिसाबले त्यसको प्राथमिकीकरण, स्थानीय तहमा मातृभाषामा पाठ्यपुस्तक र सामाग्री उत्पादन एवं निर्माणमा समस्या, नीतिगत विषयमा स्पष्ट सञ्चारको आभाव, स्थानीय तहमा नीतिको आभाव, भाषिक व्यवस्थापन, मातृभाषाको सम्मान र बुझाइमा हीनताबोध, सन्दर्भसामग्रीको आभाव, प्रविधिको प्रयोग तथा पूर्वाधारको आभाव, पेसागत क्षमताको अभाव आदिमा सरकारहरूबीच गतिलै सहकार्य आवश्यक छ ।

कुनै बेला दक्षिणबाट उत्तरतिर शिक्षा पसारिने गथ्र्यो तर समयक्रमले अहिले उत्तरबाट नै दक्षिणतर्फ शिक्षाको खोल्सो बगिरहेको छ । सामावेशी र समतामूलक शिक्षा, गैरदलित शिक्षकहरूको वर्चस्व, कोभिडका बेला सबैलाई पास गर्ने परिपाटी, राजमार्गवरपर, भारतीय सीमा र तिनका बीचमा रहेका विद्यालयहरूको फरकफरक समस्या, उपलब्धि र नतिजालाई मूल्याङ्कन गरेर विद्यालय शिक्षामा सुधार गर्नुपर्ने हुन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।