
माओवादीका महासचिव दाबेदारबीच भेटवार्ता

नेकपा माओवादीका नेतात्रय वर्षमान पुन, देव गुरुङ र जनार्दन शर्मा तीनैजना महासचिवका दाबेदार हुन् । वर्षमान र जनार्दनबीच प्रतिस्पर्धा बढ्दै गएमा प्रचण्डले देव गुरुङलाई महासचिव बनाउन सक्ने चर्चा छ । यिनै महासचिवका दाबेदारहरुबीच बुधबार साँझ खुमलटारमा भेटवार्ता भएको छ ।
चीनबाट उपचार गराएर फर्किएका वर्षमान पुनको स्वास्थ्य स्थिति बुझ्न भन्दै देव गुरुङ पत्नी यशोदा सुवेदीसहित खुमलटारस्थित पुनको निवासमा पुगेका थिए । गुरुङले केही बेर पुनसँग पार्टीको आन्तरिक स्थितिका बारेमा छलफल गरेको पुनको सचिवालयले रातोपाटीलाई बतायो ।
पुनलाई भेटेर गुरुङ दम्पति बाहिरिनासाथ अर्थमन्त्री जनार्दन शर्मा पुष्पगुच्छा लिएर पुनलाई भेट्न पुगेका थिए । उनीहरु दुबैले महासचिवको दाबीका विषयमा समेत कुराकानी गरेको स्रोतले बतायो । केहीबेरको कुराकानीपछि शर्मा पुनको स्वास्थ्यलाभको कामना गरेर बाहिरिएका थिए ।
त्यसैगरी अर्का नेता हितमान शाक्यले पनि पुनसँग भेटवार्ता गरेका छन् । जण्डिसको उपचारपछि आराम गरिरहेका पुनलाई माओवादीका नेताहरुले निवासमा गएर भेट्ने, स्वास्थ्यलाभको कामना गर्ने र महासचिवको दाबीका विषयमा समेत कुराकानी गर्ने क्रम बढेको छ ।
पुन चीनबाट फर्कंदा पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने उनलाई त्रिभुवन विमानस्थलमै गएर भेट गरेका थिए ।
माओवादीको महाधिवेशनले केन्द्रीय कमिटी र अध्यक्ष चयन गरे पनि महासचिव लगायतका पदाधिकारी चयन गर्न सकेको छैन । वर्षमान पुन र जनार्दन शर्माले आफूलाई सहमतिमै महासचिव बनाउनेपर्ने, नभए प्रतिस्पर्धामै उत्रने बताउँदै आएका छन् । उता गुरुङले चाहिँ आफूलाई सहमतिको महासचिव बन्न अध्यक्षले प्रस्ताव गरेको दाबी गर्दै आएका छन् ।
माओवादी केन्द्रले महासचिव छान्नका लागि माघ २७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ