शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माघ २३ देखि विद्यालय खोल्न दिन शिक्षा मन्त्रीसँग प्याब्सनको माग

बिहीबार, १३ माघ २०७८, ०९ : ०१
बिहीबार, १३ माघ २०७८

निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले  माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सन केन्द्रीय कार्यसमितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको हो ।

खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न  शिक्षामन्त्री पौडेललाई  माग गरेको अध्यक्ष टीकाराम पुरीले रातोपाटीलाई बताए ।

उनले भने, 'सबै कुरा भइरहेको छ । अहिले शिक्षा क्षेत्रमा डेडलक छ । अब हामीले के गर्ने त ? १५ गतेसम्म बन्द भनेको छ । केही दिनअघि शिक्षा मन्त्रालयले २० गतेसम्म खोप अभियान चलाउने भनेको छ । ठीक छ । २० गतेपछि हामीले के गर्ने ? शिक्षा मन्त्रालयको सोच के छ भनेर सोध्यौं ।'

खोप लगाइसकेको विद्यार्थीलाई आलो पालो प्रणालीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्नको माग गरिएको उनको भनाइ छ । आउने सप्‍ताह १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप दिनुपर्ने र पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न माग गरेको पुरीले बताए । यस्तै शिक्षक तथा कर्मचारीको लागि बुस्टर डोजको व्यवस्था गर्न मन्त्रीलाई अनुरोध गरेको पुरीले जनाकारी दिए ।  

शिक्षामन्त्री पौडेलले प्याब्सनसँगको सल्लाहमा खोप लगाइसकेपछि निर्णयमा पुग्ने बताएका थिए । 'शिक्षामन्त्रीले कोरोनाको परिस्थिति हेरेर निर्णयमा पुगौँला । पहिला खोप लगाउ । खोप लगाइसकेपछि कोरोनाको अवस्था हेरेर तपाईंहरुसँगको सल्लाहपछि निर्णय गरौंला भन्नुभयो, ' पुरीले भने ।

उनका अनुसार प्याब्सनको काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला समिति तथा नगरसमितिहरु गरी १८ वटा कार्यसमितिले तीन वटै जिल्ला प्रशासन कार्यलयमा १० बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
पालिकाहरुमा भने भोलि ज्ञापनपत्र बुझाउने तयारी गरेको उनको भनाइ छ । 

यस्तै उनले शिक्षामन्त्रीसँग नेपाल शिक्षालाई कसरी सुधार गर्ने भन्नेबारेमा पनि छलफल भएको बताए । 'नेपाल शिक्षालाई कसरी सुधार गर्ने भन्नेबारेमा करिब २ घण्टा छलफल भयो । सामुदायिक र निजी विद्यालयको गुणस्तर सुधार गर्न र समय सुहाउँदो बनाउन के गर्नुपर्छ  भनेर सुझाव माग्नु भएको थियो । हामीले सुझाव दियौँ,' उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप