सबै भन्सार कार्यालयबाट आयात, ५० प्रतिशतबाट हुँदैन निर्यात
चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा विदेशबाट ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको आयात भएको छ । यस अवधिमा नेपालबाट जम्मा १ खर्ब १८ अर्ब रुपैयाँको मात्रै निर्यात भएको छ । यस अवधिमा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ८० अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको भन्सार विभागले जनाएको छ ।
देशमा बनेका सम्पूर्ण भन्सार कार्यालय वर्षैपिच्छे अनियन्त्रित रूपबाट आयात बढिरहेको छ । नेपाल सरकारले वैदेशिक व्यापार सहजीकरण गर्न भनेर देशभर कुल २४ वटा भन्सार कार्यालय बनाएको छ । जसमध्ये २४ वटै कार्यालयबाट वस्तु तथा सामान आयात हुन्छ ।
तर, यताबाट हुने निर्यातको तथ्याङ्क हेर्दा कुल भन्सार कार्यालयको ५० प्रतिशत नाका आयातका लागि मात्रै बनेको जस्तो देखिन्छ । किनकि, कुल २४ वटा भन्सार कार्यालयमध्ये १२ वटा कार्यालयबाट वस्तु तथा सामान निर्यात शून्य छ । निर्यात शून्य भएकामध्ये दुई वटा नाका उत्तरी छिमेकी मुलुक चीन र बाँकी १० वटा भारततर्फ छन् ।
भन्सार विभागले दिएको जानकारीअनुसार भद्रपुर, गौर, जनकपुर, महेशपुर, राजविराज, रसुवा, सर्लाही, साटी, सिरहा, सुनसरी, तातोपानी र टाँडी भन्सार कार्यालयबाट निर्यात नै हुँदैन । चालू आर्थिक वर्षको ६ महिने अवधिमा विभागले सार्वजनिक गरेको तथ्याङ्कले यी नाकाबाट एक रुपैयाँको पनि निर्यात भएको छैन ।
यद्यपि, यही अवधिमा ती भन्सार कार्यालयबाट यस अवधिमा अर्बौँ रुपैयाँको सामान भित्रिएको छ । भद्रपुर भन्सार कार्यालयबाट ६९ करोड रुपैयाँको सामान आयात भएको तथ्याङ्कले देखाएको छ । यस्तै, गौर भन्सार कार्यालयबाट ८२ करोड, जनकपुर भन्सारबाट ६६ करोड र महेशपुर भन्सारबाट ७५ करोड रुपैयाँको आयात भएको छ ।
यसैगरी, राजविराज भन्सारबाट ८ करोडको, रसुवा भन्सारबाट १५ अर्ब ११ करोड र सर्लाही भन्सारबाट २ अर्ब २७ करोड रुपैयाँको वस्तु आयात भएको छ । साटी भन्सारबाट २५ करोडको, सिराहा भन्सार कार्यालयबाट ३६ करोड, सुनसरी भन्सारबाट २ अर्ब ८८ करोड, तातोपानी भन्सारबाट ६ अर्ब ५२ करोडको र टाडी भन्सारबाट ९ करोड रुपैयाँको वस्तु भित्रिएको छ ।
यी भन्सारबाट शून्य निर्यात
स्रोत भन्सार विभाग
यसैगरी, नेपालबाट निर्यात हुने भन्सार कार्यालयबाट समेत उल्लेख्यरूपमा निर्यात हुने गरेको छैन । भन्सार विभागको तथ्यांकअनुसार नेपालका बाँकी १२ वटा भन्सारबाट भने निर्यात हुने गरेको छ । तर, यो आयातको तुलनामा पर्याप्त छैन ।
चालू आर्थिक वर्षको ६ महिनाको आयात/निर्यात तथ्याङ्कले पनि नेपालका भन्सार कार्यालयहरूबाट पर्याप्त निर्यात नहुने गरेको पुष्टि गर्छ । यस अवधिमा विदेशबाट ९ रुपैयाँको आयात गर्दा जम्मा एक रुपैयाँको मात्रै निर्यात हुने गरेको देखिएको छ । यदि नेपालका भन्सार कार्यालयहरूबाट पर्याप्त निर्यात हुने भएमा यो अनुपात स्वतः सुध्रिन्थ्यो ।
व्यापार विद् पुरुषोत्तम ओझा नेपालमा अन्तर्राष्ट्रिय बजारमा बेच्न योग्य वस्तु उत्पादन नहुँदा निर्यातमा समस्या देखिएको बताउँछन् । ‘नेपालमा वस्तु उत्पादन नै हुँदैन । उत्पादित वस्तुमा गुणस्तर समस्या छ,’ उनले भने, ‘यस्तै, उत्पादित वस्तु गुणस्तरीय भए पनि ढुवानी लागत लगायत समस्या हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिस्पर्धा गर्न सक्दैन ।’ सोही कारण नेपालका नाकाहरूबाट निर्यात शून्य भएको उनको भनाई छ ।
यस्तै, नेपाल भारत पारवहन सन्धिले नेपालका १५ वटा नाकाबाट निर्यात अनुमति दिएको छ । तीमध्ये, वीरगन्ज र विराटनगर नाकाबाट निर्यातको पायक पर्छ । नेपालबाट निर्यात हुने वस्तु भारतको कलकत्ता, हल्दिया र विशाखपटन बन्दरगाहबाट निर्यात हुन्छ । यी बन्दरगाहमा सामान पठाउन नेपालका दुई नाकाबाट मात्रै सहज र छिटो हुन्छ । यसबाहेक अन्य नाकाबाट समेत छिटपुट निर्यात भए पनि मुख्य निर्यात नाका ७ वटा मात्रै रहेको र बाँकी नाकाबाट निर्यातको परिणाम उल्लेख्य नरहेको ओझाले रातोपाटीलाई बताए ।
यसैगरी, निर्यातको तुलनामा आयात बढ्नुमा स्वदेशी बजारको मागअनुसार नेपालका उद्योगीले उत्पादन गर्न नसक्नु नै हो । स्वदेशका उत्पादकले राष्ट्रिय अवश्यक्ताअनुसार उत्पादन गर्न सकेमा आयात विस्थापन गर्न सक्ने भए पनि सो अनुसार हुन नसक्दा विदेशी उत्पादक हाबी भएको ओझाले बताए । जसको परिणाम यतिबेला मुलुकको आयात अनियन्त्रित ढङ्गले उकालो लागिरहेको छ ।
कुन नाकाबाट कति आयात/निर्यात ?
स्रोतः भन्सार विभाग
चीन सामान बेच्छ, तर किन्दैन
नेपालको भन्सार नाकाको आयात/निर्यात तथ्याङ्क हेर्दा उत्तरी छिमेकी मुलुक चीनले नेपालसँगको व्यापारमा विगत दुई/तीन वर्षदेखि मनपरी गरिरहेका देखिन्छ । चीनसँगको वैदेशिक व्यापारमा यतिबेला देशका प्रमुख दुई नाका सञ्चालनमा छन् । रसुवा भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालयमार्फत चीनसँगको वैदेशिक व्यापार हुने गर्छ । यी दुई नाकाबाट मात्रै चालू आर्थिक वर्षको ६ महिनामा २१ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ ।
तर, चीनले यी दुई नाकाबाट नेपालको सामान किन्न छाडेको छ । वि.स. २०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका २०७६ सालतर्फ सञ्चालनमा आएको थियो । त्यसपछि कोभिड–१९ महामारी रोकथाम गर्न भन्दै बन्द नाका अहिलेसम्म पनि राम्रोसँग चल्न सकेको छैन । फाट्टफुट्टरुपमा चल्ने नाकाबाट सामान आयात मात्रै हुन्छ, निर्यात हुँदैन । यस्तै, रसुवा भन्सार नाका पनि चीनले नेपाललाई सामान बेच्न मात्र प्रयोग गरिरहेको छ ।
त्यसमा पनि दैनिक कोटा प्रणालीबाट ८/१० कन्टेनर मात्रै नेपाल पठाउँछ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ यसलाई चीनको मनपरीका रूपमा लिन्छन् । ‘चीनले हाम्रो सामान किन्दैन । आफ्नो बेच्छ मात्र । त्यही पनि कोटा प्रणाली लगाएर सजिलै सामान भित्र्याउन दिँदैन,’ उनले भने । यो आफैँमा मनोमानी प्रवृत्ति भएको उनको भनाई छ ।
यस्तै, अर्थसचिव मधुकुमार मरासिनी चिनियाँले कोभिडको बहाना बनाएर उत्तरी नाकाबाट सामान किन्न नचाहिरहेको स्विकार्छन् । उत्तरी नाकामा चीनको नियति नेपाल सरकारले नजिकबाट नियालिरहेको उनको भनाई छ । ‘तातोपानी र रसुवा भन्सार प्रमुखले मिटिङको प्रस्ताव गर्दा वीच्याटबाट कोभिडका कारण भेट्न नमिल्ने सन्देश पठाउँछन्,’ उनले भने, ‘सन् २०१९ देखि यस्तै गर्दै आइरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीको एक मोबाइल पसलमा आगलागी
-
सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था कमजोर, कालोसूचीमा पर्ने सम्भावना
-
अनमोल र आँचल उत्कृष्ट अभिनेता अभिनेत्री, फिल्ममा ‘पुजार सार्की’
-
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण
-
उपकुलपतिको ढोका अगाडि ३५ बुँदे मागसहित १२ दिनदेखि धर्ना
-
अघि बढ्यो विद्युत् विधेयक, संसदीय समितिमा आइतबारदेखि छलफल