शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पत्रकारीतासँगै पेन्टिङमा रमाउँदै प्रकाश केसी

बिहीबार, १३ माघ २०७८, ०७ : ०७
बिहीबार, १३ माघ २०७८

दशक बढी समयदेखि बेलायत कर्मभूमि बनाएका प्रकाश केसीलाई धेरैले एउटा सशक्त पत्रकारका रुपमा चिन्छन् । उनी विषयगत दक्षता अनुसार कलम चलाउँछन् र उनको चोटिलो प्रहारले कयौं मानिस चिढिएका पनि छन् । एक अर्थमा भन्दा मित्रकारिताबाट टाढै रहे उनी ।

यिनै छुच्चो पत्रकार अहिले चित्र कोर्न बढी व्यस्त छन् । कोभिड महामारीमा जारी लकडाउनले रंगिन दुनियाँतिर डोर्यायो उनलाई । पछिल्लो दुई वर्षयता केसीले दर्जनौं पेन्टिङहरूको सृजना गरेका छन् ।

प्राय उनको सृजनामा ल्याण्डस्क्याप र त्यसमा पनि नेपाली पृष्ठभूमि झल्किएको हुन्छ । प्रायजसो एक्रेलिक कलर क्यानभासमा र केही वाटर कलरका साथै आयल कलरमा उनका पेन्टिङ देख्न सकिन्छ । पछिल्लो समय उनको रुची पोर्टतर्फ बढेको छ ।

अमरसिंह माध्यमिक विद्यालय पोखरामा अध्ययन गर्दै गर्दा पोखरास्थित नागढुंगामा रहेको भुड्तेल सरकोट आर्ट ग्यालरीमा आर्ट सफा गरिदिए वापत सिक्ने अवसर पाएकाले चित्रकलामा रुची बढेको केसी बताउँछन् ।

सन् १९९८ मा हङकङ गएपछि भने निरन्तरता दिन नपाएर यो सीप उनले पूर्ण रुपले बिर्सिसकेका थिए । ‘लकडाउन सबैका लागि दुर्भाग्य भएपनि मेरो लागि भने पेन्टिङ क्षेत्रलाई अघि बढाउने अवसर बन्यो’ केसीले सुनाए ।

आफ्नो नियमित जागिरपछि बचेको फुर्सदिलो समय उनले पत्रकारिता, उपन्यास लेखन र चित्रकलामा समर्पित गर्दै आएका छन् । कुनै बेला सौखका रुपमा थियो चित्रकला । अहिले यो पेशा केसीको आर्थिक स्रोत नै बनेको छ ।

विभिन्न आकारमा थरीथरीका पेन्टिङ अर्डर आउने गरेको उनले सुनाए । केसीले आफ्नो वेबसाइट प्रकाश केसी डटकमबाट पनि चित्रकलाहरु विक्री गर्दै आएका छन् । उनको पेन्टिङको मूल्य ८० देखि पाँच सय पाउण्डसम्म छ ।

उनी चित्रकलामा आफ्नो वाल्यकाल समेट्न निकै हौसिन्छन् । उनले आफू जन्मे हुर्केको रमणीय ठाउँ र पुरख्यौली घरसहितको ठूलो पेन्टिङ घरको भित्तामा झुण्ड्याएर राखेका छन् । त्यो रमणीय ग्रामिण परिदृश्य देखेर केसीकी धर्मपत्नी चेरी गुरुङ केसी भन्छिन्, ‘कहिलेकाहीं एक्लै टोलाएर हेर्दा त साँच्चिकै आफ्नै गाउँमा भए जस्तै अनुभूति हुन्छ ।‘

तस्विरमा गाउँघरका सबै दृश्य समेटिएको छ । आफ्नो घरको कौसी, बार्दली अनि बाल्यकालमा आफू बस्ने गरेको कोठासमेत स्पष्ट अंकित गरेर ग्रामिण परिवेश झल्किने उनले ती सिर्जनामा निकै मिहिनेत गरेका छन् । आफ्ना सिर्जनामा उनले नेपालको प्राकृतिक सौन्दर्य मात्र होइन्, नेपाली भेषभूषालाई पनि उत्तिकै न्याय गरेका छन् । विभिन्न जातजातिका पहिरनसहितका उनका सृजना निकै लोभ लाग्दा देखिन्छन् ।

आफूमा इच्छा शक्ति र मिहिनेत, लगनशीलता एवं निरन्तरता दिन सक्यो भने जुनसुकै काममा पनि सफलता पाउन सकिने केसी बताउँछन् ।उनको जीवन भोगाइका पाना पल्टाउने हो भने एउटा रमाइलो अनि प्रेरणादायी कथा बन्न सक्छ । सरकारी कार्यालयका हाकिम थिए उनका पिता । पितासँग जागिर सुरुवाका क्रममा स्कुलिङ गर्दा नेपालका विभिन्न स्थानको राम्रो अनुभव बटुल्ने मौका पाए उनले ।

पछि उनले बजाजको नेपाली डिलरको एसिस्टेन्ट म्यानेजरको रुपमा जागिर पाए । त्यतिबेला नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ठाउँमा घुम्दाको अनुभवले उनमा थप उर्जा थपियो । हरेक क्षेत्रमा रुची राख्ने मात्र होइन्, अगाडि सरिहाल्ने केसीले तेक्वान्दोमा फस्ट डान ब्ल्याकबेल्ट समेत गरेका छन् ।

आरआर क्याम्पस काठमाडौंबाट बीएसम्मको अध्ययन गरेपछि उनी सन् १९९८ अप्रिलतिर हङकङतर्फ लागे । करिब १२ वर्षको हङकङ बसाइमा पनि उनले थुप्रै अनुभव बटुलेका छन् । त्याहाँ रहँदा उनले कन्स्ट्रक्सन कम्पनी, सेक्युरिटी तथा बडीगार्ड लगायतका क्षेत्रमा काम गरे । उनले आफूलाई यतिमा मात्र सिमित राखेनन् । सन् २००३ बाट पत्रकारिता क्षेत्रमा लागेका केसी निकै खरो रुपमा स्थापित भए । उनी अहिले घट्ना र विचार साप्ताहिकमा आवद्ध छन् ।

हङकङ बसाइका क्रममा उनले ‘शब्दघोष जीजिविषाको’ कथा संग्रह, ‘हङकङ डायरी’, र ‘हङकङमा कविता’ जस्ता तीनवटा पुस्तक पनि प्रकाशित गरे । अहिले उनको एउटा उपन्यास लेखनका क्रममा छ । नेपाल, हङकङ र बेलायतको समसामयिक परिवेशमा आधारित उनको उपन्यास निकट भविष्यमा आउने तयारीमा छ ।

बेलायतमा पनि उनका केही सिर्जनाहरू प्रकाशित भएका छन् । बेलायतका लागि पूर्व नेपाली राजदूत दुर्गाबहादुर सुवेदीद्वारा प्रकाशित कथा संग्रह र कविता संग्रहमा उनका सामाग्री प्रकाशित छन् ।

पछिल्लो समय उनी चर्चित हलिउड फिल्म स्टुडियो पाइनवुड स्टुडियोमा सेक्युरिटी म्यानेजमेन्टमा कार्यरत छन् । उनी श्रीमती चेरी गुरुङ केसीका साथ लन्डन हिथ्रो एअरपोर्ट  नजिक बस्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप