शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

को हुन् मधेस प्रदेशबाट निर्वाचित उम्मेदवार ?

बुधबार, १२ माघ २०७८, २२ : ३७
बुधबार, १२ माघ २०७८

मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिलातर्फ उर्मिला अर्याल र अन्यतर्फ मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन् । अर्याल नेकपा (माओवादी केन्द्र)का र सिद्धिकी जसपाका उम्मेदवार हुन् । 

सिद्धिकी छ हजार ६७८ मतभारसहित विजयी भएका छन् भने अर्यालले छ हजार १५६ मतभार ल्याएर विजयी भएको सहायक निर्वाचन अधिकृत विकास बस्नेतले जानकारी दिए । अर्यालका निकटतम प्रतिद्वन्द्वी लोसपाकी उम्मेदवार रुपाकुमारी यादवले तीन हजार २२८ मतभार ल्याइन् भने सिद्धिकीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उसमान अन्सारीले दुई हजार ७६६ मतभार प्राप्त गरे । मधेस प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका चार हजार ८२४ र प्रदेशसभाका चार हजार ९९२ गरी कूल नौ हजार ८१६ मतभार रहेको छ । मधेस प्रदेशमा ३७२ मतदाता रहेकामा ३६६ मत खसेको थियो । 

उर्मिला अर्याल

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी उर्मिला अर्याल २०७० सालमा नेकपा एमाले परित्याग गर्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् । नेतृ अर्यालको राजनीतिको आरम्भ भने नेकपा मसालबाट भएको थियो । पर्सा जिल्लाको साविक मसियानी गाउँ विकास समितिमा जन्मिएकी अर्याल २०३६ सालमा ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

पर्साको जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट ०५६ सालको संसदीय निर्वाचनमा निर्वाचित भएकी थिइन् । २०७४ को प्रतिनिधिसभामा माओवादी केन्द्रको तर्फबाट चुनाव लडेकी उनी तत्कालीन राजपा नेपालका नेता लक्ष्मणलाल कर्णसँग पराजित भएकी थिइन् । २०६८ सालमा स्थानीय विकास मन्त्री भएकी उनी अन्तरिम सरकारको बेला २०६३ सालमा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री भएकी थिइन् ।

मोहम्मद खालिद सिद्धिकी

मोहम्मद खालिद सिद्धिकी जनता समाजवादी पार्टी नेपालको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । सिद्धिकी सिरहा नगरपालिका वडा नम्बर ५ स्थित रमौलका बासिन्दा हुन् । जसपाका केन्द्रीय सदस्य रहेका सिद्धिकी मुस्लिम समुदायको हकहितका लागि काम गर्ने संस्था जमियत उलमाय नेपालका अध्यक्ष पनि हुन् । २०५९ देखि तत्कालीन मधेसी जनअधिकार फोरममा लागेका सिद्धिकीले जसपाका अध्यक्ष उपेन्द्र यादवसंँग अहिलेसम्म छन् ।

उनी २०६४ मा भएको तत्कालीन फोरमको पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । भने अहिले पनि उनी जसपा नेपालको केन्द्रीय सदस्य छन् । जसपाको समानुपातिक सूचीमा नाम रहेपनि यसपालि उनलाई मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवार बनाइयो । मधेस प्रदेशमा जसपाको पकड बलियो पनि छ । उनको राजनीतिक यात्रा भने नेपाली काँग्रेसबाट सुरु भएको हो । उनी काँग्रेसको केन्द्रीय अर्थ समिति सदस्यसमेत रहिसकेका छन् । उनी २०५९ मा मधेस केन्द्रित राजनीतिमा प्रवेश गरेका थिए । ५२ वर्षीय सिद्धिकी मधेस प्रदेशमा भएको हरेक आन्दोलनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्दै आएका छन् । उनले ‘इस्लामिक ल’ मा मास्टर्स पनि गरेका छन् । उनी अधिवक्ता समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप