शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय सभा सदस्यको बायोडाटा

बुधबार, १२ माघ २०७८, २० : ३५
बुधबार, १२ माघ २०७८

 

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी भएका हुन् । एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई पराजित भएका छन् । बुधबार बिहान भएको मतदानमा सुदूरपश्चिम प्रदेशमा ५२ प्रदेश सांसद र १७६ जना स्थानीयका प्रमुख उपप्रमुख गरी २२८ मत खसेको थियो ।

१. नारायण दत्त मिश्र

नेपाली काँग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनेका नारायण दत्त मिश्रले २०२८ सालमा नेविसंघबाट राजनीतिक जीवन सुरु गरेका थिए । उनी करिब पाँच दर्जन पटक जेल परेका छन् । २०३२ सालमा ग्य्राजुएसन गरेका उनी कैलालीको जोशीपुर गाउँपालिका–६ को लोखरीमा बसोबास गर्दै आएका छन् । उनी सबै लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा बसेर काम गरे । २०३३ सालमा बीपी नेपाल फर्कदा थुप्रै कार्यक्रममा सरिक भए । २०५४ सालमा पार्टीको तर्फबाट जिल्ला विकास समिति कैलालीको सभापतिमा विजयी भएका उनी २०७० सालको संविधानसभाको चुनावमा ११ सय मतान्तरले पराजित भए । उनले २०४८ सालदेखि हालसम्म नेपाली काँग्रेसको महासमिति सदस्य रही काम गरेका छन् ।

२. जगत पार्की

नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार बनेका जगत पार्कीको घर डडेल्धुरा, आलीताल गाउँपालिका–७, मेलगाजा हो । उनी हाल डडेल्धुरामै बसोबास गर्दै आएका छन् । २०४६ सालमा अनेरास्ववियुबाट राजनीतिमा लागेका पार्की २०५३/५४ सालमा नेपाल उत्पीडन दलित जातीय मुक्ति समाजको जिल्ला सचिव भएर काम गरेका उनले २०५४ मै संयुक्त जनमोर्चा नेपालको जिल्ला सचिव र ०५७ सालमा जिल्ला अध्यक्ष भएर काम गरे ।

२०५७ मा अखिल नेपाल जनवादी युवा लिगको केन्द्रीय सदस्य, २०५८ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भएका उनी २०६४ मा नेकपा एकता केन्द्रको केन्द्रीय सदस्य भएर काम गरे । २०६५ मा नेकपा माओवादी र नेकपा एकता केन्द्रबीच पार्टी एकीकरण भई नेकपा माओवादी केन्द्र हुँदा पार्की केन्द्रीय सदस्य नै भए । २०७० सालमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हुँदै हाल उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

३. गरिमा शाह

नेकपा एकीकृत समाजवादीका तर्फबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनेकी गरिमा शाहको पुर्ख्यौली घर बाजुरा हो भने उनको जन्म अछामको कालीमाटीस्थित मावली घरमा भएको हो । हाल कैलालीको टीकापुर नगरपालिका–२ मा बसोबास गर्दै आएकी उनी २०४६ सालमा नेकपा एमालेको संगठित सदस्य हुँदै अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको २ कार्यकाल महासचिव बनिन् ।

प्रवासी आन्दोलनमा जोडिएकी शाह २०५४ सालमा पार्टी विभाजन हुँदा पार्टीको राष्ट्रिय परिषद्मा रही काम गरिन् । २०५७ सालमा नेपाल फर्के लगत्तै पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको केन्द्रीय सदस्य भएकी उनी सोही संगठनको केन्द्रीय उपाध्यक्ष हुँदै पार्टीको आठौं र नवौं महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य बनिन् ।

२०६४ सालमा कैलाली क्षेत्र नं १ बाट संविधानसभाको चुनावमा पराजित भएकी उनी २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य बनिन् । संविधान मस्यौदा समितिको सदस्य हुँदै अर्थ समितिको सदस्य भएकी उनी २०७४ सालमा पुनः कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भए पनि पराजित भइन् । पार्टीमा अन्तरसङ्घर्ष हुँदै पार्टी नै विभाजन हुँदा उनी नेकपा एकीकृत समाजवादीमा लागिन् र केन्द्रीय सचिव तथा सुदूरपश्चिम ईन्चार्ज भएकी छन् । अखिल नेपाल महिला समाजवादीको केन्द्रीय सचिव र प्रशिक्षण विभाग प्रमुख भएर उनले काम गरिरहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप