राष्ट्रियसभा निर्वाचन : गण्डकीमा पनि सकियो मतदान
राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टी ह्वीप विपरीत म्याग्दी बेनीकी उपमेयर सन्जु बरुवालले मतदान गरिन् । राप्रपाले चुनावको अघिल्लो दिन सूचना जारी गरेरै मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो ।
सन्जु मंगलबार नै मतदानका लागि पोखरा आएकी हुन् । ‘मलाई सूचना आएको थिएन । मतदान नगर्ने कुरा थाहा पनि छैन,’ उनले भनिन्, ‘मैले मतदान गरेँ । पार्टीले कारबाही गरे पनि भोग्ने होला अब ।’ राप्रपाबाटै निर्वाचित भएका बागलुङका उपमेयर सुरेन्द्र खड्का भने मतदानमा सहभागी भएनन् । २२९ मतदातामध्ये दुई जनाले मतदान नगरेका हुन् ।
अर्का एक जना मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट हुन् । उनी हाल अमेरिकामा रहेको परिवार स्रोतले जनाएको छ । विष्ट यसअघिको राष्ट्रियसभा निर्वाचनमा पनि सहभागी थिएनन् ।
स्वतन्त्र सांसद राजीव गुरुङउर्फ दीपक मनाङेले सबैभन्दा अन्तिममा आएर मतदान गरेका हुन् । गण्डकीमा सत्ता गठबन्धन निकै बलियो छ । गठबन्धनको तीन हजार ३०० मतभार छ भने एक्लै लडेको एमालेको दुई हजार ५५६ मतभार छ । विष्ट स्वतन्त्र चुनाव जितेर एमाले छिरेका थिए । उनी नआएपनि उनको सट्टा राप्रपाकी उपमेयरले एमालेलाई मतदान गरेको बुझिएको छ ।
राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा तीन पदका लागि ६ जना उम्मेद्वार छन् । कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनबाट महिला कोटामा कांग्रेस नेतृ कमला पन्त, खुलामा माओवादीका सुरेश आले मगर र दलितमा माओवादीकै भुवन सुनार उम्मेद्वार छन् । एमालेबाट भने महिलामा लिला थनेत, खुलामा पुण्य पौडेल र दलितमा अर्जुनकुमार सुनामले उम्मेद्वारी दिएका थिए ।
गत २० फागुनबाट गण्डकीमा दिनानाथ शर्मा, खिमबहादुर विक र शान्तिकुमारी अधिकारीको पद रिक्त हुन लागेको हो । मतदान सकिएकाले बुधबारै मतगणना हुने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक