बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एकैपटक तीन तहको निर्वाचन गराउन सके खर्च कम लाग्छ : नेपाल

बुधबार, १२ माघ २०७८, १३ : ३०
बुधबार, १२ माघ २०७८

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकैपटक तीन वटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरूसँग विस्तृत छलफल गरिरहेको बताएका छन् । बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताए । नेपालले राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तारुढ गठबन्धनहरूले जित्ने दाबीसमेत गरे ।

अध्यक्ष नेपालले भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो दलको राजनीतिले तरङ्ग पैदा गरिरहेको छ । अहिले हामी ५ दलीय गठबन्धनमा छौँ । ५ दलीय गठबन्धनका सबै दलहरू मिलेर राष्ट्रियसभाको चुनावमा हामीले १९ जना उम्मेदवार खडा गरेका छौँ । आजबाट खालि रहेका राष्ट्रियसभा सदस्यहरूको १९ सिटका लागि ९ बजेबाट मतदान सुरु भइसकेको छ । ३ बजेसम्म मतदान हुनेछ । र सातै वटा प्रदेशमा हुने चुनावमा हाम्रो पार्टीबाट ५ जनालाई उम्मेदवारी दिएका छौँ । माोवादी ५ जना, काँग्रेस ६ जना, राष्ट्रिय जनमोर्चा १ र जनता समाजवादीको २ जना गरी यसरी हामीले उम्मेदवार तयार गरेका छौँ । ती उम्मेदवारहरूको आज फैसला पनि हुनेछ । हामीलाई आशा छ । १८ वटा स्थानमा हामी नै हामी विजयी हुनेछौँ । त्यो परिणामले पनि तरङ्ग पैदा गर्नेछ ।’

उनले थपे, ‘तपाईँहरू सुनिरहनु भएको छ कि स्थानीय तहको चुनाव कहिले गर्ने, संघीय चुनाव कहिले गर्ने ? प्रदेशसभाको चुनाव कहिले गर्ने ? यस बारेमा व्यापक बहस भइरहेको छ । यो बहसको सन्दर्भमा हाम्रो धारणा संविधानलाई सर्वोपरि राखेर, कानुन अनुरूप नै चुनाव सम्पन्न हुनुपर्छ । यसो गर्दा एकै पटकमा तीन वटा नै तहको निर्वाचन गर्न सकियो भने राम्रो हुन्छ । किनभने एउटा चुनाव गराउँदा झन्डै ५ अर्ब रुपैयाँ खर्च हुन्छ । यो भन्दा पहिला ५ चरणमा चुनाव भएको थियो । त्यसमा झन्डै २५ अर्ब रुपैयाँ खर्च भएको थियो । यदि एकै चरणमा गर्ने हो भने ५ देखि १० अर्बमा चुनाव सकिन्छ । उम्मेदवारको पनि खर्च कम हुन्छ । त्यसका निम्ति हामी छलफल चलाइरहेका छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप