मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बङ्गलादेशको संस्थापक शेयर जबर्जस्ती खरिद गर्न दुगडको दौडधुप

बुधबार, १२ माघ २०७८, १३ : १७
बुधबार, १२ माघ २०७८

नेपाल बङ्गलादेश बैंक लिमिटेडको बङ्गलादेशस्थित विदेशी संस्थापक साझेदार संस्था आईएफआईसी बैंक लिमिटेडले बिक्री गर्न खोजेको संस्थापक शेयर खरिद गर्नका लागि सनराइज बैंकको अध्यक्षसमेत रहेका मोतीलाल दुगडले हरसम्भव प्रयास गर्न थालेका छन् । एउटै विषयमा एकै पटक दुई न्यायिक निकायमा समानान्तर रूपमा मुद्दा चलाउन नमिल्ने भएता पनि दुगडले यस विषयमा काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा एकै पटक मुद्दा दायर गरेर न्यायिक मान्यताको पनि खिल्ली उडाएका छन् ।

आफूले दायर गरेको मुद्दामा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नगरिदिएपछि उनले आईएफआईसी बैंक लिमिटेडसँग आफूले शेयर खरिद गर्ने सम्झौता गरिसकेको दाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा समेत मुद्दा दायर गरेका थिए । तर दुवै पक्षका बीचमा भएको भनिएको कुनै पनि लिखित सम्झौतापत्र पेस गर्न नसके पनि अदालतले नेपाल बङ्गलादेश बैंक तथा आईएफआआईसी बैंकलाई मोतीलाल दुगडको दाबी गलत भएमा ७ दिनभित्र जवाफ पेस गर्नु भनी आदेश दिएको थियो ।

उक्त ७ दिने आदेशमा दुवै बैंकले आफ्नो तर्फबाट दुगडको दाबीमा कुनै सत्यता नभएको भन्ने लिखित जवाफ पेस गरी उक्त झूटा र निराधार दाबी खारेज गर्न निवेदन समेत दिइसकेका छन् । विदेशी लगानीकर्ता आईएफआईसी बैंक लिमिटेडको सम्पत्तिका रूपमा रहेको नेपाल बङ्गलादेश बैंकको संस्थापक शेयर जबर्जस्ती खरीद गरी सनराइज बैंकमा हाल खस्किँदै गएको आफ्नो दबदबालाई कायम राख्न दुगडले प्रचलित कानुनविपरीत निरर्थक प्रयास गर्दै आएको जानकारहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त कुनै पनि बैंक वित्तीय संस्थाको संस्थापक शेयर खरिद बिक्री गर्दा नेपाल राष्ट्र बैंकबाट जारी ‘एकीकृत निर्देशन २०७८’ को इ.प्रा निर्देशन नं. १०/०७८ अनुसार संस्थापक शेयरधनीलाई नै पहिले अवसर दिनुपर्ने व्यवस्था छ । तर सो प्रकृया सुरु नहुँदै दुगडले नेपालको नियम र कानूनको ज्ञान नभएका विदेशी संस्था आईएफआईसी बैंक लिमिटेडका अध्यक्षलाई गुमराहमा पारी एकलौटी रूपमा सेयर खरीद गर्न खोजेको स्रोतको भनाइ छ ।

नेपाल बङ्गलादेश बैंकले गत असार २९ मा संस्थापक शेयरधनीको जानकारीका लागि पहिलो पटक ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको थियो । तर बैंकले संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना प्रकाशित गर्नुभन्दा तीन महिना अघि नै अर्थात् २०७७ चैत १८ मा आईएफआईसीका अध्यक्षलाई नेपाल बङ्गलादेश बैंकको शेयर खरिद गर्न आफूले अफर लेटर पठाएको दुगढको दाबी छ । तर उनले एमओयु ड्राफ्ट समेत बनाई प्रमाणका रूपमा पेस गरेको सम्झौतापत्र (एमओयु) मा आईएफआईसी लगायत कुनै पनि पक्षको तर्फबाट हस्ताक्षर समेत छैन । 

बैंकले आधिकारीक सार्वजनिक सूचना नै प्रकाशन नगरेको अवस्थामा दुगड वा अन्य जो कसैले शेयर किनबेच सम्बन्धी कुनै सम्झौता गरेको भए पनि स्वतः निश्कृय र गैरकानुनी हुने विज्ञहरुको भनाइ छ । नेपालको कुनै पनि बैंक वित्तीय संस्थाको संस्थापक शेयर खरीद बिक्री गर्न नेपालको ऐन कानुन र नेपाल राष्ट्र बैंकको निर्देशन पूरा गर्नुपर्नेमा उक्त कानुनी प्रकृया भन्दा बाहिर गएर हुँदै नभएको सम्झौता भइसक्यो भन्दै दुगडले नेपाल बङ्गलादेश बैंकको शेयर आफूले नै पाउनु पर्ने भन्दै एकै पटक जिल्ला अदालत र उच्च अदालत, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायत सम्भव भएका जुनसुकै निकायमा उजुर गर्दै हिँडेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार नेपाल बङ्गलादेश बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि सेयर खरिद गर्न ३५ दिने सूचना प्रकाशित गरिसकेपछि नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७८ को इ.प्रा निर्देशन नं. १०/०७८ अन्तर्गत निर्देशन नं. २ (च) बमोजिम राष्ट्र बैंकबाट आवश्यक स्वीकृति समेत नलिई र बैंकलाई अग्रिम जानकारी समेत नगराई बैंकका दुई संस्थापक शेयरधनी कम्पनीहरू दिवेश्वरी ईन्भेष्टमेन्ट प्रालि र हिमसागर ट्रेडिङ्ग कम्पनी प्रालिमा नियम विपरीत प्रस्तावित शेयरधनीका रूपमा प्रवेश गरी आफूले एकलौटी रूपमा शेयर खरीद गर्न घुमाउरो बाटो अपनाउन खोजेका थिए । उक्त सूचना बमोजिम आवेदन दिने संस्थापक शेयरधनीमध्ये कुनै पनि शेयरधनीले संस्थापक शेयर खरिद गर्न आवश्यक पर्ने न्यूनतम ‘फिट एन्ड प्रपर टेस्ट’ पूरा गर्न नसकेपछि दुगडले पुनः आफूले आइएफआइसी बैंकका अध्यक्षलाई लेखेको पुरानो इमेललाई देखाउँदै आईएफआईसी बैंकसँग पहिल्यै करार भइसकेको भन्दै अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायतका निकायमा उजुर गर्ने बाटो अपनाएका थिए । जबकि, उनले पहिला नै सम्झौता भइसकेको दाबीका साथ पेस गरेको आईएफआईसीका अध्यक्षको इमेलमा ‘तपाईंको शेयर खरीद गर्ने प्रस्तावलाई आईएफआईसी बैंकको बोर्ड मिटिङमा राखिनेछ र बोर्डले स्वीकृति दिएको खण्डमा मात्र खरीद बिक्री प्रकृया अगाडि बढाउन सकिनेछ’ भनेर प्रस्ट लेखिएको छ ।

हाल शेयर खरीद गर्ने दुगडको प्रस्तावलाई आईएफआईसीको बोर्डले खारेज गरी सोको जानकारी समेत उनलाई दिइसकेको छ । तर पनि उनी ‘करार भइसकेको’ भन्दै अदालतमा मुद्दा दायर गर्दै हिँड्ने र सम्बन्धित बैंकलाई एकपटक छलफलका लागि समेत नबोलाई एकपक्षीय रूपमा अदालतले ७ दिने आदेश जारी गरेको विषयलाई पनि बैंकिङ क्षेत्रमा आश्चर्यका दृष्टिले हेरिएको छ ।

सनराईज बैंकको बार्षिक प्रतिवेदन २०७७/७८ अनुसार दुगडको (परिवारका अन्य सदस्य बाहेक) सो बैंकमा ५.९४ प्रतिशत सेयर छ । उनले संस्थापक शेयर खरीद गर्न चाहेको आईएफआईसीको शेयर नेपाल बङ्गलादेश बैंकको चुक्ता पुँजीको ४०.९० प्रतिशत छ । नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको इ.प्रा. निर्देशन नं. १०/०७८ अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्तापुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने प्रावधान छ । त्यसैले हालको प्रावधान अनुसार नेपाल बङ्गलादेश बैंकको उक्त शेयर मोतीलाल दुगडले आईएफआईसी बैंकसँग सम्झौता गरेको भए पनि खरीद गर्न नपाउने जानकारहरुको भनाइ छ ।

मोतीलाल दुगडले अदालतमा दिएको निवेदनमा आईएफआईसीको शेयर खरीद गर्न आफूले पाँच अरब अठहत्तर करोड उन्नाईस लाख पाँच हजार आठ सय बयासी रुपैयाँ नगद छुट्टयाएर राखेको र उक्त मौद्रिक पुँजीबाट कुनै उपादेयता लिन नसकी लामो समयसम्म फ्रिज भएकोले आफूलाई आर्थिक नोक्सानी भएको दाबी गरेका छन् । तर यति ठूलो रकम नगदै जुटाउने र यतिका समयसम्म उक्त रकम राखिरहन सक्ने उनको वैधानिक स्रोत के हो र उक्त रकम कहाँ कसरी जम्मा रहेर फ्रिज भएको हो भन्ने उनले खुलाउन सकेका छैनन् । यसबारे छुट्टै अनुसन्धान हुन सक्ने स्रोतको भनाइ छ ।

यसअघि गलत तस्बिर पर्न गएकोमा क्षमयाचनासहित सच्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप