पोलिसी सेटिङ : एमालेमाथि एमालेकै आरोप
पोलिसी सेटिङका बारेमा कसैले प्रशिक्षण लिनु छ भने त्यो एमालेसँग लिनुपर्छ । एमाले पार्टी र त्यसका अध्यक्ष सेटिङको मामिलामा कति निपुण छन् भन्ने कुरा योगेश भट्टराई र घनश्याम भुसाललाई सोधे हुन्छ । विगत कालमा ‘एमालेका ५१ बुँदे अपराध’ शीर्षकको एउटा पुस्तकमा एमालेले गरेका ‘सेटिङ स्क्याण्डल’को लामो फेहरिस्त छ ।
सेटिङसँगको एमाले कनेक्सन दुनियाँका सामु छर्लङ्ग छ । ७० करोड बार्गेनिङका अडियो टेपहरू अख्तियारमा छन् । बालुवाटार जस्ता स्क्याण्डलहरु अदालतमा छन् । सयौं रोपनी जग्गाका फाइलहरू मालपोतमा काँपेर बसिरहेका छन् । चिया बगान, उद्योग,डाँडापाखा, नारायणहिटी,पशुपति,लुम्बिनी,जनकपुर जस्ता स्क्याण्डलहरुले अखबारका हेडलाइनमा प्रमुख स्थान पाएकै छन् । यी सबै कुराको निर्क्यौल गर्ने राज्य मेसिनरी छ । सबै आरोपहरुको छिनोफानो गर्ने राज्यसंयन्त्र छ ।
यति भनिसकेपछि सेटिङका सन्दर्भमा तपाइँहरुकै विगत र तपाइहरुकै सहयोद्धाका लिखतलाई तपाइँहरुकै सामु पस्किनु वाञ्छनीय देखिन्छ । एमालेको आवेश, उत्तेजना, आक्रोश र निराशाबाट सृजित पोलिसी सेटिङको आरोप आफ्नै लागि प्रत्युत्पादक बन्ने खतरा प्रवल छ । हो प्रतिपक्षले मुद्दाहरु उठाउनुपर्छ , सडक तताउनुपर्छ, सरकारलाई खबरदारी गर्नुपर्छ, सत्तासिनलाई बेलगाम बन्न दिनु हुँदैन त्यो लोकतन्त्रको धर्म हो ।
तर त्यसका लागि सत्तापक्षले कम्तिमा विगतका आफ्ना हर्कत र कर्तुतलाई माथ गरेको अनुभुति आम जनतालाई समेत भएको मुल्यांकन गर्न जरुरी हुन्छ । के एमाले विगतमा सत्तामा रहँदाको निर्मम आत्मसमीक्षा सहित यस्तो गम्भीर र संगीन आरोपमा उत्रेको हो त ?
निर्वाचनको समय नजिकिँदो छ । एकपछि अर्को गरी प्याजका पत्रझैँ सत्तामा रहँदाका स्क्याण्डलहरु निस्कँदैछन् ।
आरोप–प्रत्यारोपको फेहरिस्थ
‘राष्ट्रघाती, बिसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध’ भन्ने पुस्तिका को ९ नं बुँदामा मदन र आश्रितको भिसेरा परिक्षण रिपोर्टमा अत्याधुनिक विष प्रयोग भएको कुरालाई लुकाइयो । राणा आयोगमा गएका एमालेका प्रतिनीधि हर्ष नारायण धौभडेलले केपी ओलीको निर्देशनमा दासढुंगा हत्याकाण्डलाई हत्या भएको होइन दुर्घटना मात्र हो भनी सही गरे भन्ने उल्लेख छ । यदि त्यसो हो भने त्यो पोलिसि सेटिङ मात्रै होइन सेटिङ अपराध हो । बास्तविकताबारे जाँच गर्नुपर्ने ठहरे अध्यक्ष ओलीले अहिले पनि एमालेकै केन्द्रीय कमिटीमा रहेका घनश्याम र योगेशहरुसंग बुझे हुन्छ ।
सोही पुस्तकको २४ नं. बुँदामा मदन आश्रितको हत्याकाण्डमा संलग्न भएका भनी आशंका गरिएका राजेन्द्र खेतानसंग (राष्ट्रको मर्यादा कायम राख्न नाम उल्लेख गर्न असमर्थ भएकाले) .... को सु मधुर सम्बन्ध कायम भयो । खेतानकी माता बनेकी ....को औकातमा एक्कासी वृद्धि भयो र ....ले माताजी का नामबाट राजेन्द्र खेतानसंग प्राडो गाडी र करोडौं रुपैयाँ लिइन । यदि त्यो सहि हो भने सबैभन्दा खुंखार डरलाग्दो सेटिङ त्यही हो ।
पुस्तकमा लेखिएको छ ः नौ महिने कालका प्रधानमन्त्री मनमोहन समक्ष तत्कालीन कानुनमन्त्री सुवास नेम्वाङ र अर्थमन्त्री भरतमोहन अधिकारीले मोहन गोपाल खेतानले विदेशी मुद्रा विनिमय नियम विपरित काम गरि हङकङ को इन्डोस्वेज बैंकमा जम्मा गरेको अमेरिकी डलरबाट नेरु १९ करोड ३९ लाख ७ हजार रकम अपचलन गरेकोमा कानुनतः ३ बर्ष कैद र सम्पूर्ण रकम राष्ट्रियकरण हुनेमा अर्थमन्त्री भरतमोहन अधिकारी र कानुनमन्त्री सुवास नेम्वाङको सिफारिसमा प्रधानमन्त्री मनमोहन अधिकारीको क्याविनेट बैठकद्धारा अदालतको मर्यादा र कानुन विपरित मुद्दा फिर्ता गराउने काम गरी दुई करोड रुपैयाँ नजराना लिई जनता र राष्ट्रमारा काम गरे । यदि यो आरोप सत्य हो भने सायद त्यतिबेलाको समय र रकमको स्केल हेर्दा यो भयानाक सेटिङ हो ।
सोही पुस्तकको २३ नं. बुँदामा टनकपुरको राष्ट्रघातलाई बैधानिक मान्यता दिने महाकाली प्याकेजको अवधारणा ल्याई राष्ट्रियताजस्तो संवेदनशिल विषयसंग भारतीयहरुको बचनको पक्का देखिन १ खर्ब २० अर्ब आम्दानी हुने स्याटेलाइटबाट विदेशीलाई विजुली बेच्ने जस्ता हावादारी कुराबाट जनता र कार्यकर्तालाई झुक्याउन खोज्दै नेपाललाई अहित हुने राष्ट्रघाती महाकाली सन्धि अनुमोदन गरियो भन्ने उल्लेख छ ।
सबैका सामु जगजाहेर छ, महाकाली अलपत्र छ । न नेपालले कहिल्यै १ खर्ब, २० करोड रकम प्राप्त गर्यो न स्याटेलाइटबाट बिजुली बेच्ने हावादारी गफलाई जनताले पत्याउने समय आयो । बरु त्यसको २० बर्षपछि माओवादी पार्टी र त्यसकै मन्त्रीको पालामा नेपालका प्रमुख शहरहरुले लोडसेडिङबाट मुक्ति पाए । दुर दराजका कतिपए ठाउँ आज पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिन सकेका छैनन् र प्रविधिमा फाइभजी मुखर भएर आइरहँदा पनि स्याटेलाइटबाट बिजुली बेच्ने कल्पना नीति निर्माताहरुले गरेका छैनन् । बरु निर्माणाधीन हाइड्रो प्रोजेक्टहरु राष्ट्रिय प्रसारण लाइनमा जोडिदा विजुली कहाँ बेच्ने एक प्रकारको वेचैन र तनाब अहिले नै सुरु भैसकेको छ ।
सोही पुस्तकको बुँदा नं. ४ मा तत्कालीन गृहमन्त्री केपी शर्मा ओलीले नियम विपरित गृहमन्त्रालयका लागि गाडी खरिद गरी करोडौं खाएको कुरा लेखा समितिको रिपोर्टमा उल्लेख छ । यसरी ओलीले नौ महिना गृहमन्त्री हुँदा प्रहरी प्रशासन र तस्करहरूको नेटवर्क भित्र पार्टीलाई प्रवेश गराई सुनदेखि चरेशसम्मको तस्करी गर्ने गराउने काम गरेको उल्लेख छ ।
यी आरोपहरु कुनै वर्तमानका विपक्षीहरुको होइन, अहिले एमालेकै केन्द्रीय भूमिकामा रहेका घनश्याम र योगेशहरुको हो । राज्यको अनुसन्धानको दायरामा आइनसकेका यी घटनाक्रमहरु यदि सही हुन् भने सायद सेटिङका लागि यही अनुभव राजनीतिक जीवनभरका लागि पर्याप्त बन्यो होला भन्ने अनुमान आम नागरिकले लगाउन सक्छन् ।
दुईसय किलो चरेशसहित अमेरिकामा गिरफ्तार भएका ससुराको कारोबारमा एमाले स्थायी समितिका सदस्य ईश्वर पोख्रेल संलग्न रहेको सो पुस्तिकामा उल्लेख छ । इन्टरपोलले ईश्वरलाई गिरफ्तार गर्न आदेश दिएपछि ओली र नेपालले प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलमार्फत ईश्वरलाई कार्यवाही हुनबाट बचाई अवैध लागु औषध कारोबारलाई प्रश्रय दिएको पुस्तकमा उल्लेख छ ।
माथि उल्लेखित बुँदाहरु योगेश भट्राई, घनश्याम भुसाल र नारायण ढकाल लगायतका युवाहरु सम्मिलित क्रान्तिकारी युवा समुह काठमाडौंका नाममा ‘राष्ट्रघाती, बिसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध’ शीर्षकको पुस्तिकाबाट लिइएका हुन् ।
घनश्याम भुसालले ९ माघ २०७७ मा काठमाडौंको विशाल जनसभालाई सम्वोधन गर्दै भनेका थिए केपीसँग अब दुईवटा शक्ति मात्र बाँकी छन्, एउटा साइबर स्याल र अर्को सेटिङ ।
पछिल्लो कालखण्डका सेटिङहरु अखबारमा बग्रेल्ती छन् । समयले एमालेसँग जवाफ माग्ला नै । आफ्ना हर्कत र कर्तुतहरूको ढाकछोपका लागि अरुमाथि आक्रमण गर्ने शैलीले एमालेलाई बचाउन सक्ने छैन । आफ्ना अनगिन्ती दोषहरूमाथि पर्दा हाल्न अरुमाथि राजनीतिक स्टन्टबाजी गर्ने प्रवृत्तिले पानीमाथिको ओभानो बन्न सकिएला र ?
(लेखक माओवादी केन्द्रका अन्तरराष्ट्रिय विभागका सदस्य हुन्)