मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

समवेदनामा दिने ‘भेटी’ व्यवस्थापन गर्न कठिन

बुधबार, १२ माघ २०७८, ०९ : २०
बुधबार, १२ माघ २०७८

आफन्तको मृत्युपश्चात् समवेदना प्रकट गर्न लगिने भेटी व्यवस्थापन गर्न कठिन बन्दै गएको छ । पछिल्लो समय भेटीका रूपमा लगिने समवेदना फ्रेम, फलफूल, चिनी, मिश्रीजस्ता वस्तुको व्यवस्थापन कठिन हुने गरेको हो । खानेकुरा अनाथालय, आश्रममा पठाइने भए पनि समवेदना व्यक्त गरिएका फ्रेम व्यवस्थापन झन्झटिलो बन्ने गरेको हो । तेह्रौँ दिनको कर्मसम्म बाहिर देखाएर राखिए पनि त्यसपछि त्यसको व्यवस्थापन जटिल बन्ने गरेको भुक्तभोगी बताउँछन् । कतिपयले त फ्रेम नल्याउन अनुरोध गर्ने गरेका छन् ।

पण्डित शेखर अर्याल समवेदनाको अर्थ लगाउँदै भन्छन्, “सम भनेको बराबर र वेदना भनेको दुःख हो । यसको अर्थ तपाईँहरु बराबर दुःखी छु भन्ने हो ।” त्यही समवेदना प्रकट गर्न जाँदा किरीयापुत्रीले घरका सामग्री निकाल्न अप्ठ्यारो पर्ला भनेर घ्यू, चामल, चिनीजस्ता खाद्यान्न लगिने गरेको उनी बताउछन् । पछिल्ला दिनमा फ्रेमसहित समवेदनापत्र लग्ने गरिन्छ ।

पण्डित अर्याल गरुडु पुराणमा भेटीका रूपमा के आवश्यक छ, त्यही वस्तु लैजानुपर्ने उल्लेख भएको बताउछन् । लगेका वस्तु उपयोगमा नआएर राम्रो व्यवस्थापन नभएमा लैजाने र लिने दुवै दोषी हुने पुराणलाई इङ्गित गर्दै अर्यालले बताए । उनले भने, “भेटीका रूपमा समर्पण गर्दा आवश्यक नभएको वस्तु लैजानु बेकार हो ।”

सामाजिक अभियानकर्मी मीना खरेलको गत वर्ष आमाको देहावसान हुँदा १७७ फ्रेममा समवेदनापत्र प्राप्त भयो । ती फ्रेम १३ औँ दिनपछि व्यवस्थापन गर्न जटिल बन्यो । घरको मन्दिरमा १०० वटा अटे भने बाँकी फ्रेम निकालेर पत्रमात्रै फाइलमा राख्नुपरेको उनको भनाइ छ । उनले भने, “अपमान गर्न भएन, मेरो त मन्दिर थियो, नहुनेले कहाँ राख्ने ?” फ्रेमको सट्टामा समवेदनापत्र मात्रै लैजाँदा उपयुक्त हुने सुझाव उनले दिए । केही थप दिन मन लागे कोषमा राखिदिँदा सदुपयोग हुने उनको भनाइ छ । पछिल्ला वर्षमा फ्रेम लैजाने प्रचलन बढेको उनी बताउछन् । विसं २०६० मा बुवा बित्दा तीनवटा फ्रेम आएकामा अहिले निकै बढी फ्रेम आएको उहाँले जानकारी दिए ।

डा हरिशचन्द्र न्यौपानेले गत साल आमाको स्वर्गारोहणको बेला समवेदना प्रकट गर्न आउनेलाई फ्रेम नल्याउन अनुरोध गरे । उनले भने, “१३औँ दिनपछि आमाको तस्वीरलाई बोरामा राख्दा आमाप्रतिको सम्मान पनि घट्ने र लैजानेहरूप्रति अपमान हुने भएकाले हामीले फ्रेम नल्याउन आग्रह ग-यौँ ।”  कतिपयले न्यौपानेले जस्तै गरी नल्याउन अनुरोध गर्ने गरेका छन् ।

भेटिका रूपमा सङ्कलन हुने फलफूल कुहिएर खेर जाने गरेको पाइन्छ । न्यौपानेले आफ्नोमा सङ्कलन भएका खाद्यान्न मानव सेवासहितका विभिन्न आश्रममा पठाएर सदुपयोग गरेको जानकारी दिए। उनले भने, “भेटीका रूपमा फ्रेमलगायतका सामग्री लैजाँदा पछि व्यवस्थापन गर्न जटिल हुन्छ ।” समवेदना प्रकट खाली हात गएर मौखिकरूपमा व्यक्त गरे हुने न्यौपानेको बुझाइ छ ।

समवेदना व्यक्त गर्न आउनेहरुले भेटीका रूपमा ल्याउने चिनी, मिश्रीजस्ता वस्तु ठूलो मात्रामा सङ्कलन हुने गर्दछन् । त्यस्ता वस्तु सोही घरमा प्रयोग नभई आश्रममा दिने गरिन्छ । कतिपयले पसलमा बिक्रीसमेत गर्ने गर्दछन् । पण्डित अर्याल उपयोग नहुने वस्तु भेटीका रूपमा लैजानुभन्दा खाली हात गएर मौखिकरूपमा समवेदना व्यक्त गर्नु राम्रो हुने बताउछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप