शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, खोप केन्द्र पनि सञ्चालन हुने

मङ्गलबार, ११ माघ २०७८, २१ : ४५
मङ्गलबार, ११ माघ २०७८

बागमती प्रदेशका तर्फबाट प्रतिनिधित्व हुने दुईजना राष्ट्रियसभा सदस्यको रिक्त हुन लागेको पदपूर्तिका लागि माघ १२ गते हुने निर्वाचनको सबै तयारी पूरा भएको छ । भोलि बुधबार हेटौँडाको औद्योगिक  क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयमा हुने मतदानका लागि तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाका प्रमुख लुमनाथ पोखरेलले जानकारी दिए ।

राष्ट्रियसभा सदस्यका लागि नेकपा (एमाले) ले ललितपुरका गोपाल शाक्य र सिन्धुलीकी निरु दर्लामीलाई उम्मेदवार बनाएको छ भने सत्तारूढ गठबन्धनले नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी) की गोमा तिमल्सिनालाई उम्मेदवार बनाएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीले कृष्णबहादुर तामाङ र गीता काफ्लेलाई उम्मेदवार बनाएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यका लागि र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि अलगअलग मतदान केन्द्र कायम गरिएको र मतदान केन्द्रमा अधिकृतसहित १६ जना कर्मचारी खटाइने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्यका लागि र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि अलगअलग रङको मतपत्र उपलब्ध हुनेछ ।

मतदान प्रक्रियामा बागमती प्रदेशका १०९ जना प्रदेशसभा सदस्यसहित प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख एवं उपप्रमुख २३७ जना गरी कूल ३४८ जनाले मतदाताका रूपमा सहभागी हुन पाउनेछन् । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र भोलि नै नतिजा आउन सक्ने जनाइएको छ ।

मतदानस्थलमा चिकित्सकसहितको स्वास्थ्य परीक्षण स्थल सञ्चालन हुनेछ भने कोरोना परीक्षणको पनि व्यवस्था गरिएको छ । साथै खोप नलगाएका मतदाताका लागि खोप लगाउन खोप केन्द्र पनि सञ्चालन हुनेछ । कोरोना महामारीका कारण विशेष सावधानी अपनाइने निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानस्थल प्रवेशका लागि कोरोना खोप कार्ड अनिवार्य गरिएको छ । “मतदातामध्ये कोही कोरोना सङ्क्रमित भए वा कोरोनाको लक्षण देखिए अलग्गै राखेर मतदान गर्ने गरी व्यवस्था गरिएको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप