जोरबिजोरको नतिजा : बस स्टपमा यस्तो भिड देखियो, कोच्चिएर यात्रा (फोटोफिचर)
उसैपनि कार्यालय समयमा राजधानीको सार्वजनिक यातायातमा भिडभाड हुन्छ । त्यसमाथि स्थानीय प्रशासनले जोरबिजोरको नियम लागू गरेपछि भिडभाड थप बढेको गुनासो सर्वसाधारणको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर नियम लागू गरेको थियो । माघ ८ देखि लागू भएको यो नियमअनुसार जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटको सवारीसाधन चल्न पाउँछन् ।
तर, यही नियमले सार्वजनिक यातायात प्रयोग गर्ने सर्वसाधारणलाई सास्ती भएको छ । गाडी कम हुँदा भनेको बेला गाडी पाइँदैन पाएपनि भीडभाडले पाइलासमेत हाल्न सक्ने अवस्था नरहेको यात्रुहरु बताउँछन् ।
मंगलबार साँझ रातोपाटीकर्मी राजधानीको सुन्धारा क्षेत्र पुग्दा बसस्टपमा यात्रुहरु बस चढ्न तँछाडमछाड गरिरहेको देखिन्थे । त्यहाँ न भौतिक दूरी कायम भएको थियो न त प्रशासनले तोकेको स्वास्थ्य मापदण्डको नै पालना भएको थियो । यस्तै गाडीभित्र पनि यात्रु कोचाकोट देखिन्थे ।
यातायातमा लगाएको जोर बिजोर प्रणाली र बढ्दो भिडभाडले कतै कोरोना संक्रमण नियन्त्रण भन्दा पनि फैलावट हुने त होइन भन्दै कतिपयले चिन्ता व्यक्त गरेका छन् । कामकाज र गन्तव्यमा पुग्नुपर्ने यात्रुको संख्या नघट्ने, तर सवारीसाधन संख्या घट्ने हुनाले कोचिएर यात्रा गर्दा संक्रमण फैलने चिन्ता सर्वसाधारणमा छ ।
यस्तै यातायात व्यवसायीहरूले समेत जोरबिजोर प्रणाली लागू गर्नु अव्यवहारिक भएको बताएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोरबिजोर प्रणालीले संक्रमण झनै बढाउन सक्ने बताए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने जोरबिजोर प्रणाली अव्यवहारिक नरहेको जिकिर गरे । उनले भिडभाड हुने प्रवृत्ति निरुत्साहन गर्न जोरबिजोर लगाइएको बताउँदै अब नागरिकको प्रतिक्रिया बुझेर थप निर्णय गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
-
रोनाल्डो चम्किँदा अल नासरको जित
-
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने