शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जोरबिजोरको नतिजा : बस स्टपमा यस्तो भिड देखियो, कोच्चिएर यात्रा (फोटोफिचर)

मङ्गलबार, ११ माघ २०७८, १९ : १५
मङ्गलबार, ११ माघ २०७८

उसैपनि कार्यालय समयमा राजधानीको सार्वजनिक यातायातमा भिडभाड हुन्छ । त्यसमाथि स्थानीय प्रशासनले जोरबिजोरको नियम लागू गरेपछि भिडभाड थप बढेको गुनासो सर्वसाधारणको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर नियम लागू गरेको थियो । माघ ८ देखि लागू भएको यो नियमअनुसार जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटको सवारीसाधन चल्न पाउँछन् । 

तर, यही नियमले सार्वजनिक यातायात प्रयोग गर्ने सर्वसाधारणलाई सास्ती भएको छ । गाडी कम हुँदा भनेको बेला गाडी पाइँदैन पाएपनि भीडभाडले पाइलासमेत हाल्न सक्ने अवस्था नरहेको यात्रुहरु बताउँछन् । 
मंगलबार साँझ रातोपाटीकर्मी राजधानीको सुन्धारा क्षेत्र पुग्दा बसस्टपमा यात्रुहरु बस चढ्न तँछाडमछाड गरिरहेको देखिन्थे । त्यहाँ न भौतिक दूरी कायम भएको थियो न त प्रशासनले तोकेको स्वास्थ्य मापदण्डको नै पालना भएको थियो । यस्तै गाडीभित्र पनि यात्रु कोचाकोट देखिन्थे । 

यातायातमा लगाएको जोर बिजोर प्रणाली र बढ्दो भिडभाडले कतै कोरोना संक्रमण नियन्त्रण भन्दा पनि  फैलावट हुने त होइन भन्दै कतिपयले चिन्ता व्यक्त गरेका छन् । कामकाज र गन्तव्यमा पुग्नुपर्ने यात्रुको संख्या नघट्ने, तर सवारीसाधन संख्या घट्ने हुनाले कोचिएर यात्रा गर्दा संक्रमण फैलने चिन्ता सर्वसाधारणमा छ । 

यस्तै यातायात व्यवसायीहरूले समेत जोरबिजोर प्रणाली लागू गर्नु अव्यवहारिक भएको बताएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जोरबिजोर प्रणालीले संक्रमण झनै बढाउन सक्ने बताए । 
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने जोरबिजोर प्रणाली अव्यवहारिक नरहेको जिकिर गरे । उनले भिडभाड हुने प्रवृत्ति निरुत्साहन गर्न जोरबिजोर लगाइएको बताउँदै अब नागरिकको प्रतिक्रिया बुझेर थप निर्णय गर्ने बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप