बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भिजिट भिसाको दुरुपयोग नगर्न गृहमन्त्री खाणको आग्रह

मङ्गलबार, ११ माघ २०७८, १७ : २१
मङ्गलबार, ११ माघ २०७८

गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दुरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका छन् । गृहमन्त्री खाणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँगको छलफलमा भिजिट भिसा दुरुपयोग गरेर पनि नेपाली नागरिकहरुले तेस्रो मुलुकमा पीडा भोग्नु परेको उल्लेख गर्दै त्यसको दुरुपयोग नगर्न आग्रह गरे ।

त्यस अवसरमा उनले भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेहरूमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिए । गृहमन्त्री खाणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराए । उनले बैदेशिक रोजगारीमा गएकाहरु ठगीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै उनीहरुको उद्दारमा पनि सरकारले गम्भिरतापूर्वक लाग्नुपर्ने बताए ।

गृहमन्त्री खाणले कोभिड संकटको चपेटामा परेका आफ्ना नागरिकहरुलाई विदेशी भूमिमा काम गर्ने क्रममा समस्या नआओस् भन्नेमा सरकार गम्भिर रहेको बताए ।

उनले भने , ‘भिजिट भिसामा गएकाहरुले त्यहाँ श्रमिकको रुपमा काम गर्न थाले । त्यो पनि समस्या छ । अर्को कामका लागि गएका तर काम नपाएकाहरुको पनि समस्या छ । यस विषयमा श्रम मन्त्रीले मन्त्रिपरिषदमा कुरा राख्नु भएको छ । त्यता पट्टी यो समस्यालाई सल्टाउन नेपाल सरकार गम्भीर छ ।’

भिजिट भिसालाई अन्य प्रयोजनमा दुरुपयोग नगरुन् भन्नेमा े सजगता आवश्यक रहेको बताए ।  यस्तै एयरपोर्टमा भएको मालसामान ओसारपसारको कामलाई व्यवस्थापन गृह मन्त्रालय लागि परेको उनको भनाइ छ ।

‘पहिलो त हाम्रो अन्तराष्ट्रिय विमानस्थल एउटा मात्रै छ । त्यो हामी सबैका लागि गेटवे पनि हो । प्रतिष्ठाको विषय पनि हो । त्यसकारण यो एयरपोर्टबाट बाहिर जाने र भित्र आउनेहरुलाई सहज होस् भन्ने हामी सबैको प्रयत्न हो,’ उनले भने ।

श्रम स्वीकृति लिएर जानेहरूका लागि पनि सहज वातावरण बनाउने काममा सबै जिम्मेवार बन्नुपर्ने खाणले बताए । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीहरूमाथि विचौलियहरुले ठगी गरेको उल्लेख गर्दै कारबाहीका लागि अनुसन्धान गर्न छुट्टै प्रहरी युनिट परिचालन गर्ने व्यवस्था गर्न गृहमन्त्री खाणसँग आग्रह गरे । उनले यूएईमा घरेलु कामदार महिलाहरुको समस्या ठूलो रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि गृह मन्त्रालयको सहयोग आवश्यक रहेको बताए ।

मन्त्री श्रेष्ठले भने, ‘घरेलु कामदार महिलाहरुको ठूलो समस्या छ । त्यसैगरी व्यक्तिगत श्रम स्वीकृति लिएर गएका नेपालीहरुको पनि ठूलो पीडा छ । ती समस्या समाधानका लागि गृह मन्त्रालयले छुट्टै प्रहरी युनिट परिचालन गर्नुपर्ने अवस्था छ ।’

श्रममन्त्री श्रेष्ठले श्रम मन्त्रालय एक्लैको प्रयासबाट मात्रै विदेशमा पीडा भोगिरहेका नेपाली नागरिकको समस्या समाधान गर्ने अवस्था नरहेको पनि बैठकमा पटकपटक दोहो¥याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप