मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना बढेसँगै जडिबुटीको धुलोको माग बढ्दो

मङ्गलबार, ११ माघ २०७८, १५ : २०
मङ्गलबार, ११ माघ २०७८

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गुर्जोलगायत जडिबुटीबाट बनेको रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने धुलोको माग बढ्न थालेको छ ।कोरोनामा गुर्जोलगायत जडिबुटीले राम्रो गरेको अनुभव भएपछि धेरैको आकर्षण यसतर्फ बढेको हो ।

 विसं २०७६ चैतमा नेपालमा कोरोना भाइरस भेटिएपछिदेखि नै मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोलगायत जडिबुटी मिसिएको पोका निःशुल्क वितरण गर्दै आएका आन्तरिक राजश्व कार्यालयमा कार्यरत कमलबहादुर राजलवटले यसपटक पनि अभियानलाई तीव्रता दिएका छन् । हाल ४० जिल्लाका १२० स्थानबाट निःशुल्क गुर्जोलगायत करिब ६०  जडिबुटी मिसिएको धुलो वितरण भइरहेको उनले जानकारी दिए । 

 नेपालमा पहिलोपटक कोरोना देखिँदा आन्तरिक राजश्व कार्यालय लहानमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत उनले त्यसबेलादेखि नै देशभर निःशुल्क जडिबुटीको धुलो वितरण शुरु गरेका हुन् । कार्यालय सरुवा भएर काभ्रपलाञ्चोकको धुलिखेलमा आएपछि पनि उनले जडिबुटीको धुलो वितरणलाई निरन्तरता दिएका छन् । गुर्जोकोमात्र धुलो वितरण गरेर अभियान शुरु गरेका राजलवटले कोरोनाको दोस्रो लहरका बेला ४८ जडिबुटीको धुलो बनाएर वितरण गरेका थिए । 

 कोरोनाको तेस्रो लहर शुरु भएपछि भने उनले ५६ प्रकारका जडिबुटीको धुलो बनाएर निःशुल्क वितरण गर्न थालेका छन् । तेस्रो लहरको कोरोना छिटो फैलने र यसले परिवारका सबैजसो सदस्यलाई ग्रस्त बनाउन थालेपछि यसको माग बढेको हो । कार्यालय समय बाहेक बिहान र बेलुका जडिबुटीको धुलो बाँडेर नै बिताउने गरेका राजलवट कोरोनालगायत फ्लुजन्य रोगबाट बच्न जडिबुटीको धुलो प्रभावकारी भएको अनुभव सुनाउँछन् । एकपटक जडिबुटीको धुलो प्रयोग गरेकाले पटकपटक फोन गरेर थप धुलो मगाउने गरेका छन् ।

  हाल गुर्जो, तुलसी, असुरो, लेमनग्रास, कटीपत्ता, ज्वानो, मेथी, दालचिनी, तेजपात, हर्रो, बर्रो, अमला, ल्वाङ, अलैँची, टिम्बुर, मरिच, सुठो, बेसार, पिपला, अपमार्ग, सनईपत्ता, निपोध, निम, चिराइतो, बकाइनो, ज्येष्ठमधु, वायुविरिङ, चुत्रो, नागरमोथी, सुन्तलाबोक्रा, अनारबोक्रा, लज्जावती, पुनःनभा, अम्बापात, पारिजात पात, आँप पात, वर पात, पिपल, मेवा पात, बोझो, तितेपाती, रुदिलो, कालोजिरा, बेलपात, माझिम फल, जङ्गे हर्रो, सिमल फुल, पुदिना, ठूलो ओखती, अर्जुन छाल, धनियाँ, ब्राह्मी, कोइरालो, खयर, सयपत्री, गोदावरी गरी ५६ वटा जडिबुटीबाट बनेको धुलो बनाएर वितरण गरिएको छ । 

 कोरोना सङ्क्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्विका लागि गुर्जोसहितको धुलो उपयोगी मानिने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेलले बताए । आयुर्वेद चिकित्सक तथा विज्ञको परामर्शमा तयार गरी यो धुलो वितरण शुरु गरिएको हो । 

आयुर्वेद चिकित्सक स्व डा ऋषिराम कोइराला, राष्ट्रिय आयुर्वेद  अनुसन्धान  तथा तालिम केन्द्र, कीर्तिपुरका कार्यकारी निर्देशक डा रामआधार यादवलगायत चिकित्सकको सल्लाहमा यो धुलो तयार पारिएको अभियानकर्मी राजलवटले बताए ।

 सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । कोरोना पोजेटिभ भएका मानिसले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन् । 

 कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आइसोलेसनमा राखिएका कोरोना पोजेटिभलगायतलाई गुर्जोलगायत जडिबुटीकै सेवन गराउने गरिएको कार्यकारी निर्देशक यादवले सुनाए । यी केन्द्रमा बिहान बेलुका प्राणायाम, योग र ध्यानसमेत गराइन्छ । यो विधिबाट उपचार गर्दा बिरामी ठीक भएर फर्कने गरेको उनको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप