ad
x

बालकुमारीको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली

person explore access_timeमाघ १०, २०७८ chat_bubble_outline0

ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिरबाट आइतबारदेखि हराइरहेको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय ललितपुर कार्यालयमा आज भएको छलफलमा प्रहरी नायब निरीक्षक दीपक भारतीको संयोजकत्वमा सो अनुसन्धान टोली गठन गरिएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धविक्रम शाहले जानकारी गराए । उनले भने, “हामीले प्राविधिकसहित अनुसन्धानका लागि टोली गठन गरेर खोजी सुरु गरिसकेको छौँ ।” 


ललितपुर क्षेत्र नं १ प्रदेशसभाका सदस्य राजकाजी महर्जनले कल ट्रेसिङलगायत सम्पूर्ण अत्याधुनिक प्रविधि प्रयोग गरेर अनुसन्धानलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बताए । उनले भने, “हामीले राज्यको सम्पूर्ण संयन्त्र प्रयोग गरेर जसरी भए पनि मूर्ति खोज्नुनैपर्छ ।” वडाध्यक्ष बाबुराजा महर्जनले सो मूर्ति हराउँदा सुनाकोठीवासीको मुटु छियाछिया भइरहेको गुनासो गर्दै खोजीका लागि सहयोग गर्न आफू तत्पर रहेको सुनाए । 



ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनुसन्धानलाई चुस्त बनाउन केन्द्रीय सुरक्षा संयन्त्र समेत परिचालन भएको बताए । उनले भने, “सुरक्षा संयन्त्र यसमा संवेदनशील भएर लागेको हुँदा यहाँका स्थानीयवासीका साथै प्रदेश सरकारले पनि धार्मिक तथा ऐतिहासिक अनि सांस्कृतिक धरोहर आसपास क्षेत्रमा सिसिटिभी आदि जडान गरेर थप सुरक्षा बढाउनुपर्ने देखिएको छ ।” 



महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो तर्फबाट मूर्ति खोजीका लागि सबै सहयोग गर्न तयार भएको सुनाउँदै बालकुमारी माईलाई छिटो भन्दा छिटो उहाँको निवासमा फर्काउन अनुसन्धानलाई हरेक तवरबाट द्रुतगतिमा अघि बढाउन आग्रह गरे । प्रशासन कार्यालयमा भएको उक्त छलफलमा मन्दिरका गुठियारका साथै सुनाकोठीवासीको समेत उपस्थिति थियो । 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।