बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङ प्रवेशका लागि कोभिड विरुद्धको खोप कार्ड अनिवार्य

सोमबार, १० माघ २०७८, १९ : ५०
सोमबार, १० माघ २०७८

कोभिड–१९ को तेस्रो भेरियन्ट (ओमिक्रोन) भाइरस फैलिरहेको अवस्था छ । कोभिडको संक्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिड विरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । पर्यटक तथा सर्वसाधारणलाई मनाङ प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार विना खोप कार्ड चालकलाई पनि सवारी सञ्चालनमा रोक लगाइएको छ ।

कोरोनाका सक्रिय संक्रमित शून्य रहेको मनाङमा संक्रमणबाट बच्न जिल्ला बाहिरबाट आउने व्यक्तिलाई मास्क र खोप कार्ड अनिवार्य गरिएको उनले बताए ।

शून्य कोरोना संक्रमित रहेको जिल्लामा बाह्य जिल्लाबाट प्रवेश गर्ने व्यक्तिमार्फत संक्रमण सर्न सक्ने भनेर उच्च सतर्कता अपनाइएको सीडीओ आचार्यले बताए । ‘अन्नपूर्ण पदमार्गमा पर्यटक भित्रिन्छन् । उनीहरूलाई खोप कार्ड र मास्क अनिवार्य गरेका छौं । शून्य कोभिड जिल्ला भएकाले सोहीअनुरूपको राख्ने प्रयासमा छौं,’ उनले भने । 

सीडीओ आचार्यका अनुसार मनाङ प्रवेश नाका तालडाँडामा प्रहरी र स्वास्थ्यकर्मीले दैनिक निगरानी गरिरहेका छन् । उनका अनुसार जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, सर्वदलीयका साथै कार्यालय प्रमुखको बैठक बोलाएर मनाङमा कोरोना संक्रमण रोक्न सम्पूर्णका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

‘अब कोरोनाको संक्रमण उच्च विन्दुमा पुग्न सकिने देखिएको छ । यो अवस्थालाई पार गर्न सकिएमा मनाङमा कोरोना संक्रमणलाई रोक्न सक्ने अपेक्षा छ । यसमा सबैको साथ आवश्यक छ,’ प्रजिअ आचार्यले भने ।

कोरोना संक्रमण बढ्दै गएकाले मनाङ ङिस्याङ गाउँपालिकाले काठमाडौं, पोखरा, बेंसीशहर लगायत बाह्य जिल्लाबाट प्रवेश गर्ने नागरिकका साथै पर्यटकले पनि पिसाङ स्वास्थ्य चौकी तथा हुम्डे स्वास्थ्य चौकीमा अनिवार्य एन्टिजेन परीक्षण आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप