शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिकेट टोली प्रशिक्षणमा फर्कियो, कप्तान सन्दीप पनि स्वदेश फर्किए

सोमबार, १० माघ २०७८, १६ : ४४
सोमबार, १० माघ २०७८

प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि टोलीले ग्लोबल छनोटलाई लक्ष्य राखेर प्रशिक्षणमा मैदानमा फर्किएको छ । आइसिसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो चरणको बन्द प्रशिक्षण आइतबारबाट सुरु गरेको हो ।

ग्लोबल छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेका १६ खेलाडीसहित अन्य केही खेलाडीलाई प्रशिक्षक पुबुद दसानायकेले बन्द प्रशिक्षणलाई सुचारु गरेका हुन् । तर, ग्लोबल छनोटका लागि घोषणा भएका केही खेलाडीमा कोरोना देखिएकोले प्रशिक्षणमा समावेश छैनन् । छनोट खेलका बिग ब्यास रहेको कप्तान सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन् ।

ग्लोबल छनोट खेल्नु अघि नेपालले ओमानमा चार देशीय ट्वान्टी–२० शृङ्खला खेल्नेछ । शृङ्खलामा नेपालसहित आयोजक ओमान, टेस्ट राष्ट्र आयरल्यान्ड र युएईले प्रतिस्पर्धा गर्नेछन् । शृङ्खला नेपालको ग्लोबल छनोटको अभ्यास खेलको रूपमा हेरिएको छ । शृखंला अन्तर्गत पहिलो खेलमा नेपालले ओमनविरुद्ध फेब्रुअरी ११ मा खेल्दै छ । यस्तै दोस्रो खेल युएईसँग फेब्रुअरी १२ र तेस्रो खेल फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्दै छ  । त्यसपछि फेब्रुअरी १८ मा ओमानसँग खेल्दै ग्लोबल छनोटको सुरुवात गर्नेछ । फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ मा क्यानडासँग खेल्नेछ ।

समूह ‘ए’ अन्तर्गत विभाजन भएको समूह २ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमन रहेका छन् । यस्तै समूह १ मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी  छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । त्यसबाट फाइनल प्रवेश गर्ने दुवै टोली अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म अस्ट्रेलियामा हुने आइसिसी पुरुष ट्वान्टी–२० विश्वकपको लागि छनोट हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप