शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अछाममा स्थानीय तहको स्वःमूल्यांकन:  मंगलसेन नगरपालिका प्रथम

सोमबार, १० माघ २०७८, १४ : १४
सोमबार, १० माघ २०७८

अछामका स्थानीय तह संस्थागत क्षमता स्वःमूल्यांकनसम्बन्धी नतिजा सार्वजनिक भएको छ । गत आर्थिक वर्ष २०७७–०७८ को स्वःमूल्यांकन नजिता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हो ।

आर्थिक बर्ष ०७७–०७८ मा सम्पादन क्रियाकलापहरुको कार्यप्रक्रिया र उपलब्धिहरूको लेखाजोखा गरी स्वःमूल्यांकन नतिजा सार्वजनिक गरिएको हो । स्थानीय तह संस्थागत क्षमता स्वःमूल्यांकनमा मंगलसेन नगरपालिका पहिलो भएको छ । मंगलसेन नगरपालिका ६७ दशमलव ७५ प्रतिशत अंक ल्याएर जिल्लामा पहिलो बनेको छ ।

वान्नीगढी जयगढ गाउँपालिकाले जिल्लाका दशवटा स्थानीय तहमा सबैभन्दा कम अंक प्राप्त गरेको छ । वान्नीगढी जयगढको कार्यसम्पादनमा ३६ दशमलव २५ प्रतिशत रहेको छ । तुर्माखाँद गाउँपालिका ६६ दशमलव ५ प्रतिशत ल्याएर दोस्रो बनेको छ । मेल्लेख गाउँपालिका ६३ दशमलव ६५ प्रतिशत ल्याएर कार्य सम्पादनमा तेस्रो बनेको छ । यस्तै, चौरपाटी गाउँपालिका ६५ प्रतिशत ल्याएको छ । साँफेबगर नगरपालिकाले ५६ दशमलव ५ प्रतिशत, ढकारी गाउँपालिकाले ५६ प्रतिशत, कमलबजार नगरपालिकाले ५२ दशमलव २५ प्रतिशत, पन्चदेवल विनायक नगरपालिकाले ५२ प्रतिशत र रामारोशन गाउँपालिकाले ४० प्रतिशत अंक प्राप्त गरेको छ । यद्यपि, रामारोशन गाउँपालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा अपडेट भएको छैन ।

कार्यपालिकाको बैठक बसेर एक वा दुई दिनमा अपडेट गर्ने रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० वटा विषय क्षेत्र र सूचकहरू निर्धारण गरेको छ । स्थानीय तहको संस्थागत क्षमता स्वःमूल्यांकनको लागि शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं वार्षिक व्यवस्थापन विषय क्षेत्र र सूचक निर्धारण गरेको छ ।

यस्तै, सार्वजनिक सेवा प्रवाह, न्यायीक कार्य सम्पदान, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गर्नुपर्ने स्थानीय सरकार संचालन ऐनमा उल्लेख गरिएको छ । गाउँपालिका र नगरपालिकाको बिचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वःमूल्यांकन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप