मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विकास निर्माणका कामहरु स्थगित गरेर भए पनि नागरिकको जीवन रक्षा गरौँ : शेरचन

आइतबार, ०९ माघ २०७८, २० : ४६
आइतबार, ०९ माघ २०७८

लुम्बिनी प्रदेशमा कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा प्रदेश प्रमुख अमिक शेरचनले यसको रोकथाम तथा नियन्त्रणमा भइरहेको प्रयासप्रति चासो देखाएका छन् ।

प्रदेश प्रमुख शेरचनले आइतबार मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख, प्रदेशका मन्त्रीहरु, स्वास्थ्य मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आफ्नै कार्यालयमा बोलाएर कोरोना संक्रमण नियन्त्रण, खोप अभियान र उपचारका व्यवस्थामा भइरहेका प्रयासबारे चासो देखाएका हुन् ।

प्रदेश प्रमुख शेरचनले पर्याप्त मात्रामा पीसीआर परीक्षण नभएको, सिरिञ्ज अभाव र आर्थिक अभावले क्वारेन्टिन सञ्चालन हुन नसकेको जानकारी आफूले मिडियाबाट पाएको बताउँदै तत्काल तीनै तहका सरकार मिलेर कोरोना नियन्त्रण तथा बिरामीको उपचारमा लाग्न सुझाब दिएका छन् ।

सबै तहका सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा नै भएको बताउँदै प्रदेश प्रमुख शेरचनले विकास निर्माणका कामहरु स्थगित गरेर भए पनि नागरिकको जीवन रक्षा गर्न ध्यान दिन आग्रह गरेका थिए ।

सो अवसरमा मुख्यमन्त्री कूलप्रसाद केसीले कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि प्रदेशका मन्त्रीहरुको अनुगमन समिति बनाएर अनुगमनमा जोड दिइएको बताएका थिए ।

केन्द्र सरकार र नेपाली सेनाको प्रयासमा प्रदेशमा रुपन्देही, कपिलबस्तु र बाँकेमा गरी प्रदेशमा ३ वटा होल्डिङ्ग सेन्टर निर्माणको काम भइरहेको र बनिसकेका सेन्टर सञ्चालन गरिने जानकारीसमेत उनले दिएका थिए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव विकास देवकोटाले अहिले प्रदेशमा कोरोना परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको जानकारी दिँदै नयाँ भेरियन्टसँगै कोरोना संक्रमण फैलिएपछि प्रदेशमा ११ जनाको मृत्यु भएको जनाए ।

उनले अहिलेसम्म प्रदेशमा लक्षित जनसंख्यामध्ये ८३ प्रतिशतलाई कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र ६५ प्रतिशतलाई दोश्रो मात्राको खोप लगाइएको बताए । उनले प्रदेशमा अझै १८ लाख ६२ हजारभन्दा बढी डोज खोप आवश्यक रहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप