शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देशभर ७७ हजार सक्रिय सङ्क्रमित, ६५ प्रतिशत काठमाडौँमै !

अरू कुन जिल्लामा सङ्क्रमित धेरै ?
आइतबार, ०९ माघ २०७८, १७ : ३४
आइतबार, ०९ माघ २०७८

देशभर आइतबार ६ हजार ४६२ जना सङ्क्रमित थपिएका छन् । १७ हजार ४३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५ हजार ५९८ तथा एन्टिजेन विधिबाट ८६४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशमा कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा नै सबैभन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौँ २ हजार ८६८ जना सङ्क्रमित थपिएका छन् भने ललितपुरमा ६०२ तथा भक्तपुरमा ३२१ मा सङ्क्रमण पुष्टि भएको छ । कूल सक्रिय सङ्क्रमितमध्ये करिब ६५ प्रतिशत काठमाडौँ उपत्यकामा नै रहेका छन् । पछिल्लो तथ्यांकअनुसार काठमाडौँमा ३६ हजार २३८, भक्तपुरमा ४ हजार ९११ तथा ललितपुरमा ८ हजार ७ सय जना सक्रिय सङ्क्रमित रहेका छन् ।

काठमाडौँबाहेक २४ घण्टामा मोरङमा २७५, झापामा १४९, काभ्रेपलाञ्चोकमा १३१, कास्कीमा ९४, रुपन्देहीमा १४९ तथा कैलालीमा १७० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हाल ५ सय भन्दा माथि उपचारार्थ सङ्क्रमित भएका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली छन् । 

अघिल्लो दिनको तुलनामा सङ्क्रमण दरमा पनि केही कमी आएको देखिएको छ । शनिबारको तथ्याङ्कमा पीसीआर विधिबाट सङ्क्रमण दर ५६.८ प्रतिशत रहेकोमा आइतबार यो घटेर ४१.८ प्रतिशतमा पुगेको छ । एन्टिजेन विधिबाट पनि सङ्क्रमण दर ३५.७ प्रतिशतबाट २१.३ प्रतिशतमा पुगेको छ । समग्रमा सङ्क्रमण दर २१.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

उमेर समूह अनुसार २१ देखि ३० वर्षका सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । यस उमेर समूहका थप १ हजार ९१० जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि ३१ देखि ४० उमेर समूहका १ हजार ५२५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४१६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । तेस्रो लहर सुरु भएयता निको हुनेको सङ्ख्या सबैभन्दा बढी हो । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख २१ हजार ६९९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९०.३ प्रतिशत रहेको छ । 

यही अवधिमा थप ४ जनाले ज्यान गुमाएका छन् । हालसम्म ११ हजार ६५५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, थप ४९ हजार ४७३ जनाले खोप पनि लगाएका छन् । हालसम्म १ करोड ६२ लाख ५६ हजार २५ जनाले पहिलो मात्र, १ करोड २८ लाख ९८ हजार ९२३ जनाले दोस्रो मात्रा तथा १ लाख ५० हजार ४३७ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप