सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

हिमपात र चिसोले सिमकोट विमानस्थल कालोपत्रे रोकियो

आइतबार, ०९ माघ २०७८, १४ : ३४
आइतबार, ०९ माघ २०७८

हिमपातपछि बढेको अत्याधिक चिसोले हुम्ला सिमकोटस्थित  विमानस्थल निर्माण प्रभावित भएको छ । चिसोले विमानस्थल कालोपत्रे र नयाँ एप्रोन निर्माण रोकिएको निर्माण कार्यमा संलग्न तेण्डी शेर्पाले बताए ।

विमानस्थलभित्रको एप्रोन निर्माण कार्य सकिएर कालोपत्र गर्ने काम भइरहेको बेला हिमपात र चिसो बढेपछि रोक्नु परेको शेर्पाले बताए । जिल्लामा तापक्रम माइनस ११ डिग्री भन्दामाथि बढ्दै जान थालेपछि काम नहुने भएकाले बन्द गरेको नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थल निर्माण आयोजनाका साइट इन्चार्ज अजयकुमार गुप्ताले बताए ।

सिमकोट विमानस्थल निर्माण योजनाको ६० प्रतिशत कार्य सम्पन्न भए पनि मुख्य काम कालोपत्रे भएका कारण चिसोले गर्दा बन्द गरेको प्राधिकरणका गुप्ताले बताए । एप्रोन निर्माणका लागि निर्माण कम्पनी एपेक्स द ग्याल्भा क्याराभ्यान जेभिसँग आर्थिक वर्ष ०७५–०७६ मा निर्माणका लागि सम्झौता भएको थियो ।

यस्तै, एप्रोनमा कालोपत्र गर्ने ३५ प्रतिशतका काम सम्पन्न भएको छ भने ६५ प्रतिशत काम रोकिएको उनले बताए । चिसोमा कालोपत्रे सेट नहुने भएका कारण अन्य काम सम्पन्न भए पनि कालोपत्र रोकेको उनले बताए । झण्डै एक महिनादेखि कालोपत्र रोकिएका छ भने बर्खा लागेपछि मात्रै सुरू हुने भएको गुप्ताले जानकारी दिए ।

सिमकोट विमानस्थलमा हालको एप्रोनले जहाजलाई पार्किङमा समस्या देखिएपछि नयाँ एप्रोनको निर्माण थालिएको हो । विगतमा कोरोनाको समस्याले काम रोकिएको र गत असोजबाट सुरू भएको काम अहिले चिसोले काम अगाडि बढ्न नसकेको हो ।

सिमकोट विमानस्थल निर्माण आयोजनाका लागि १९ करोड लागतमा निर्माण कम्पनीसँग आयोजनाले सम्झौता गरेको छ । नयाँ एप्रोनको कार्य सम्पन्न भएपछि चार वटा साना जहाजलाई पार्किङ गर्न सहज हुने भएको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप