मङ्गलबार, ०४ मङ्सिर २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र र अन्य दलका महाधिवेशनबीचको भिन्नता

आइतबार, ०९ माघ २०७८, १२ : ०८
आइतबार, ०९ माघ २०७८

मंसिर र पुसको महिनामा एमाले, काँग्रेस, राप्रपा र माओवादी केन्द्र गरी मुलुकका चार ठूला राजनीतिक दलका महाधिवेशन भए । नेपाली जनताले ती सबै दलका महाधिवेशनलाई नजिकबाट नियाल्ने अवसर पाए । प्रस्तुत लेखमा अन्य दलहरूले आयोजना गरेका महाधिवेशन र  माओवादी केन्द्रको महाधिवेशन कुन अर्थमा फरक थियो भन्नेबारे प्रकाश पारिएको छ ।  

कम्युनिष्ट पार्टीमा महाधिवेशन पार्टीको सर्वोच्च अंग हुन्छ । दुई महाधिवेशनका बीचमा पार्टीको केन्द्रीय कमिटिले महाधिवेशनको म्यान्डेटअनुसार काम गर्छ । महाधिवेशनको उद्देश्य वैचारिक मन्थनद्वारा पार्टीको आगामी कार्यदिशा तय गर्नु र नेतृत्वको छनोट गर्नु हो । सोही उद्देश्यअनुरुप पुस ११ देखि १८ सम्म  नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको थियो ।

महाधिवेशनको उदघाटन समारोहमा सबै राजनीतिक दलका  नेताहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथिका रुपमा उपस्थित काँग्रेसका सभापति र प्रधानमन्त्री शेरबहादुर देउवाले निरंकुश राजतन्त्रको अन्त र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना माओवादी पार्टीको देन रहेको कुरा बडो स्पष्टता साथ राखे । प्रधानमन्त्रीको यो वक्तव्य गठबन्धनको ठूलो साझेदारलाई खुशी पार्नका लागि आएको थिएन । उनले मनको कुरा बोलेका थिए ।  त्यसो त  माओवादी वृत्तमा मुलुक माओवादी पार्टीकै एजेन्डामा अगाडि बढिरहेको कहीं कतै सन्देह थिएन । तर, मुलुककै कार्यकारी प्रमुखबाट औपचारिक रुपमै यति महत्वपूर्ण स्टेटमेन्ट आउनु ठूलो कुरा थियो ।

उद्घाटनको पहिलो दिनलाई छाड्ने हो भने बाँकी सात दिनसम्म महाधिवेशन प्रतिनिधिहरूका बीच देश जनता र पार्टीका एजेन्डाहरूमा केन्द्रीत रहेर अध्यक्ष प्रचण्डको दस्तावेजमा  गहन बहस छलफल भएको थियो । महाधिवेशनमा अध्यक्ष प्रचण्डबाट प्रस्तुत राजनैतिक दस्तावेज उपर उपस्थित झन्डै २ हजार प्रतिनिधिहरूले गहन छलफल गरे ।  दस्तावेजमा महत्वका साथ विश्व परिस्थितिको विश्लेषण गरिएको छ ।  समकालीन विश्व परिस्थितिको लेखाजोखा गर्दै भूमण्डलीकृत एकाधिकार पूँजीवादबाट मानव जातिको मात्र होइन, पर्यावरण र प्रकृतिको पनि रक्षा हुन सक्तैन, त्यसैले समाजवादको विकल्प छैन भन्ने महत्वपूर्ण निष्कर्ष प्रतिवेदनको रहेको छ ।  

८ दिनसम्म महाधिवेशन चल्नुबाट नै स्पष्ट हुन्छ कि माओवादी केन्द्रको महाधिवेशन कर्मकाण्ड पूरा गर्न गरिएको जमघट थिएन, प्रत्येक प्रतिनिधिको मनको आवाजलाई समेटेर नीति र नेतृत्वबारे निष्कर्ष निकालिने चिन्तन शिविर थियो ।

पूँजीवादले कसरी समाजमा गरीब धनीबीचको खाडल गहिरो बनाइरहेको छ, कसरी मुट्ठीभर व्यक्तिहरूमा धनसम्पति केन्द्रीत गराएर बहुसंख्यक जनतालाई शोषण गरेको छ भन्ने तथ्यहरूलाई उजागर गरेको छ । मुनाफाकेन्द्रीत पूँजीवादी उत्पादन प्रणालीले कसरी प्राकृतिक संसाधनहरूको बेलगाम दोहन गर्दै पर्यावरणीय सन्तुलनलाई समेत खतरामा पारेर सिंगो मानव जातिलाई नै विनाशतर्फ धकेलिरहेको छ  भन्ने तथ्यहरूलाई विस्तारमा औंल्याइएको छ । पूँजीवाद जति नै शक्तिशाली देखिए पनि समाजवाद र समाजवादी क्रान्तिबाट नै शोषणरहित र समानतामूलक विश्वको निर्माण हुन सक्छ भन्ने ठहर प्रतिवेदनको रहेको छ  ।

विश्व कम्युनिष्ट आन्दोलनको चर्चा गदै दस्तावेजले इतिहासमा भएका क्रान्तिहरूको सफलता र असफलताबाट पाठ सिक्दै नयाँ चरणको समाजवादी क्रान्तिका लागि विचारको विकास र परिमार्जन गर्नु पर्ने कुरामा जोड दिएको छ ।

मानव जातिको विकास र सुन्दर भविष्य निर्माणका लागि समाजवादको विकल्प छैन भन्ने मान्यतामा उभिएर तयार पारिएको राजनैतिक प्रतिवेदनले मुुलुकको युगान्तकारी राजनीतिक परिवर्तनको वाहक माओवादी पार्टी रहेको कुरामा जोड दिएको छ । त्यसैगरी प्राप्त उपलब्धिहरूको रक्षा गर्दै नयाँ विचार र कार्यदिशाका आधारमा समाजवादी क्रान्ति सम्पन्न गर्नुपर्ने कुरामा प्रतिवेदनको जोड छ ।  सामन्तवादको बाँकी अवशेषहरूको अन्त र राष्ट्रिय स्वाधीनताको कार्यभारलाई पुरा गरेर मात्र समाजवादी क्रान्तिले सार्थकता पाउने कुरा प्रतिवेदनले औंल्याएको छ । पार्टीमा देखा परेका व्यक्तिवाद, अवसरवाद, अर्थवाद लगायतका तमाम क्रान्ति विरोधी प्रवृत्ति र समस्याहरूका बारेमा प्रतिवेदनमा विस्तारमा उल्लेख गरिएको छ । नयाँ ढंगको पार्टी संगठन निर्माण गरेर मात्र क्रान्तिको आगामी कार्यभार पूरा हुन सक्ने प्रतिवेदनको निष्कर्ष छ ।

 उपरोक्तअनुसार विश्वको परिस्थिति, घरेलु परिस्थिति, विश्व कम्युनिष्ट आन्दोलनको विगत र वर्तमानको मूल्याङ्कनका अतिरिक्त प्रतिवेदनमा पार्टीको तात्कालीन नीति योजना र कार्यक्रमका बारेमा पनि विस्तारमा चर्चा गरिएको छ । जनवादी केन्द्रीयतामा आधारित पार्टीका हरेक तहका कमिटीहरूको सञ्चालन, जनसम्बन्ध सुदृढीकरण तथा उत्पादनसंग जोडिने कुरामा दस्तावेजको जोड रहेको छ । दुई दिनसम्म २५ समूहमा चलेको गहन छलफल र समूह नेताले दस्तावेजउपर आफ्नो समूहमा उठेका विषयहरू प्रस्तुत गरेपछि अन्ततः संशोधनसहित दस्तावेज एक मतले पारित भएको थियो ।

    महाधिवेशनको अन्तिम चरणमा केन्द्रीय समितिको निर्वाचनको प्रक्रिया अगाडि बढाइएको थियो । मुलुकको संविधानले व्यवस्था गरेबमोजिम र पार्टी समेतको विधानको प्रावधानअनुरुप केन्द्रीय समितिलाई महिला, दलित, जनजाति, मुस्लिम, अपाङ्ग आदिका आधारमा समावेशी बनाउँदै २९९ सदस्यीय केन्द्रिय समितिको निर्वाचन गरी आठौं महाधिवेशनको सफलतापूर्वक समापन भएको थियो ।

माओवादी केन्द्रको महाधिवेशन भन्दा पहिले एमाले, काँग्रेस र राप्रपाले पनि आआफ्ना पार्टीका  केन्द्रीय अधिवेशन गरेका थिए । तर, जति पार्टीका नीति योजना कार्यक्रमहरूका बारेमा र नेतृत्व चयनका बारेमा जति विस्तारमा माओवादी केन्द्रको महाधिवेशनमा जनवादको उच्च अभ्यास भयो, त्यो कुनै अन्य दलमा त्यो स्तरको अभ्यास देखिएन भन्नु अन्यथा हुने छैन । महाधिवेशनमा प्रतिनिधिहरूले निर्धक्क साथ पार्टीको लाइन, पार्टी भित्रका समस्या, मुख्य नेतृत्वका समस्या आदि सबै विषयमा खुल्ला रुपमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।

यसबाट के प्रष्ट हुन्छ भने माओवादी पार्टीका प्रतिनिधि वा कार्यकर्ताहरू प्रचण्डका ‘एसम्यान’ हुन्, त्यस पार्टीमा प्रचण्डविरुद्ध बोल्न पाइन्न भन्ने कुराको स्वतः खण्डन हुन जान्छ । जुन विधिबाट दस्तावेजमा छलफल भयो, पार्टी र नेतृत्व बारेमा महाधिवेशनमा प्रतिनिधिहरूबीच खुल्ला छलफल भयो, त्यसबाट दावीका साथ के भन्न सकिन्छ भने मुलुकमा नेकपा माओवादी केन्द्र मात्र यस्तो दल हो, जहाँ जनवादको उच्चतम अभ्यासबाट सबै मुद्दा टुंग्याइन्छन् ।

८ दिनसम्म महाधिवेशन चल्नुबाट नै स्पष्ट हुन्छ कि माओवादी केन्द्रको महाधिवेशन कर्मकाण्ड पूरा गर्न गरिएको जमघट थिएन, प्रत्येक प्रतिनिधिको मनको आवाजलाई समेटेर नीति र नेतृत्वबारे निष्कर्ष निकालिने चिन्तन शिविर थियो । के आफूलाई लोकतन्त्रका च्याम्पियन बताउने दलहरूले यस्ता चिन्तन शिविर सञ्चालन गर्न सक्छन् ?

अध्यक्ष प्रचण्डको दस्तावेजका अतिरिक्त राम कार्कीको पूरक मत र लेखनाथ न्यौपानेले प्रस्तुत गरेको फरक मत पनि प्रतिनिधिहरूबीच महाधिवेशन आयोजक समितिका तर्फबाट छलफलका लागि वितरण गरिएको थियो । यी दुवै दस्तावेजमाथि पनि सहभागीहरूले खुल्ला र उत्साहजनक वातावरणमा छलफललाई अगाडि बढाएका थिए । यो जनवादको उच्चतम अभ्यास थियो ।

सबैले देखे बुझेकै कुरा थियो कि एमाले र कांग्रेसको मेला र जात्राको शैलीमा आयोजना गरिएको महाधिवेशनमा कतै विचारको बहस थिएन, मुलुकलाई कसरी अगाडि बढाउने भन्ने बहस थिएन । त्यहाँ उपस्थित नेताहरूको नजर पार्टीको पदमा केन्द्रीत थियो ।  जालझेल र तिक्डम गरेर कसरी नेतृत्व र पद हत्याउने, आफ्नो गुटलाई मजबुत बनाउने भन्ने एक बुँदे एजेन्डाबाट सुरु भएका ती दलका महाधिवेशनको अन्त पनि भागबण्डामा गएर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मण पन्त
लक्ष्मण पन्त
लेखकबाट थप