शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

दुई सदस्य पदका लागि सत्तारुढ र विपक्षी गठबन्धन मैदानमा
आइतबार, ०९ माघ २०७८, ११ : २५
आइतबार, ०९ माघ २०७८

यही माघ १२ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा प्रदेशभरका मतदाताले जनकपुरधाममै मतदान गर्ने व्यवस्था मिलाइएको छ । राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशका ८ वटै जिल्लाका ३७२ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनाए । निर्वाचनमा प्रयोग हुने मतपत्र समेत आइसकेको उनले रातोपाटीलाई जानकारी दिए ।

निर्वाचनमा हरियो र रातो रङको मतपत्र प्रयोग हुने उनको भनाइ छ । उनले भने, ‘सेतो पानामा हरियो रङ र विवरण भएको एक खालको मतपत्रमा प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् भने अर्को रातो रङको विवरण र चिन्ह भएको मतपत्र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षका लागि निर्धारण गरिएको छ ।’

उनका अनुसार निर्वाचनका लागि चार किसिमका क्लस्टर (समूह) बनाएर मतपत्र पठाइएको छ । उनले भने, ‘महिला, दलित, अपाङ्ग, अल्पसंख्यक र अन्य गरेर चार किसिमको क्लस्टर छ । उनले माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै केन्द्रीय निर्वाचन आयोगले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी १९ बुँदे मापदण्ड अनुसार निर्वाचनको कार्यतालिका निर्धारण गरिएको बताए ।

संक्रमित मतदाताका लागि छुट्टै मतदानको व्यवस्था गरिने उनले जानकारी दिए ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधि प्रतिष्ठानमा मतदान केन्द्र रहने छ । मतदान सम्पन्न भएपछि मतगणना सुरु गरेर मतपरिणाम चाँडै आउने गरी सहज ढंगको व्यवस्था भएको उनले बताए ।

दुई सिटमा चार उम्मेदवार

राष्ट्रियसभा सदस्यका लागि मधेस प्रदेशमा दुई सिटका लागि निर्वाचन हुन लागेको हो । दुई सिटका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।

सत्तारुढ गठबन्धनले दुवै सिटमा साझा उम्मेदवार खडा गरेको छ भने नेकपा एमाले र प्रदेशको प्रमुख प्रतिपक्ष लोसपा नेपाल गठबन्धन बनाएर एक–एक सिटमा उम्मेदवारी दिएका छन् ।

सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रबाट उर्मिला अर्यालले महिला कोटामा उम्मेदवारी दिएकी छन् । भने जसपाबाट अन्य समूहमा सिरहाका मोहम्मद खालिद सिद्दिकीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै एमाले–लोसपा गठबन्धनबाट लोसपाबाट महोत्तरीकी रूपा यादवे महिला कोटामा उम्मेदवारी दिएकी छन् भने एमालेले अन्य समूहबाट पर्साका उस्मान अन्सारीलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको हो ।

यस प्रदेशमा १०४ जना प्रदेशसभा सदस्य तथा २६८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छन् । यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा काँग्रेसको २ हजार २६२, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मतभार छ । फोरम लोकतान्त्रिक काँग्रेसमा समायोजन भएपछि काँग्रेससँग २ हजार ३७० मतभार छ ।

स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहने व्यवस्था छ । सो अनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार हुन्छ ।

यस प्रदेशमा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयावधि समाप्त भएपछि राष्ट्रियसभाको निर्वाचन हुन लागेको हो ।

मधेस प्रदेशमा मतभारको आधारमा काँग्रेस–माओवादी–जसपा–एकीकृत समाजवादी गठबन्धनबाट उम्मेदवारले सहजरुपमा जित हासिल पार्ने आँकलन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप