शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा घरेलु हिंसाका घटनामा वृद्धि

शनिबार, ०८ माघ २०७८, २१ : २४
शनिबार, ०८ माघ २०७८

महोत्तरीमा घरेलु हिंसाका घटना ह्वात्तै बढेका छन् । कात्तिकदेखि पुस मसान्तसम्म २ सय १ वटा घरेलु हिंसाका घटनाको ठाडो उजुरी परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जसमध्ये १२७ वटा महिला र ७४ वटा पुरुषका ठाडो उजुरी परेका छन् । धेरैजसो महिला हिंसाका घटना नै छन् । दाइजो, गरिबी तथा अन्धविश्वासका कारण नै महिला घरेलु हिंसाको सिकार बनेको प्रहरीको बुझाइ रहेको छ ।

पुरुष हिंसाका घटना पनि हुँदै नभएका होइनन् । प्रहरीका अनुसार कात्तिकदेखि पुस मसान्तसम्म ७४ पुरुष हिंसाका ठाडो उजुरी परेका छन् । यो संख्या महिला हिंसाको तुलनामा कम हो । पुरुषका ठाडो उजुरीमा महिलाहरूले सम्पत्ति लिएर अर्कैसँग पोइल गएको, विदेशबाट पैसाको हिनामिना गरेको जस्ता घटना बढी दर्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घरेलु महिला हिंसाका घटनामा भने अघिल्लो वर्षको तुलनामा अत्यधिक वृद्धि भएको प्रहरीको तथ्यांक छ । महिला हिंसासँग सम्बन्धित १ सय २७ वटा घटना मध्ये कात्तिक महिनामा मात्र ६१ घटना दर्ता भएका छन् । मंसिर महिनामा ती घटना बढेर ६६ पुगेका छन् । यसले हिंसाका घटना बढ्दो क्रममा रहेको देखाएको छ ।

ठाडो उजुरीको आधारमा महिला हिंसासँग सम्बन्धित ४८ वटा घटनाहरू फर्छ्यौट हुन बाँकी छन् । अहिलेसम्म ९ वटा घटना मात्र अदालतमा पुगेको प्रहरीले जनाएको छ । त्यसैगरी पुरुषसँग सम्बन्धित अर्थात् पुरुष पीडित भएका घटना मध्ये फर्छ्यौट भैसकेका २६ वटा छन् भने फर्छ्यौट हुन बाँकी ४६ वटा छन् । अहिलेसम्म अदालतमा दुई वटा घटनामाथि मुद्दा दर्ता भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप