शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एपिएफ फुटबल क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

शनिबार, ०८ माघ २०७८, २० : ३७
शनिबार, ०८ माघ २०७८

सशस्त्र प्रहरीको नेपाल एपिएफ फुटबल क्लबले पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ ।

पोखरा रङ्गशालास्थित फुटबल स्टेडियममा आज वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रवि थिङको दुई गोलको मद्दतमा एपिएफले पाहुना टोली भुटानिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) मिनेसोटा अमेरिकालाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनमा प्रवेश गर्न सफल भयो । आहा ! रारामा पहिलोपटक सहभागिता जनाएको मिनेसोटाले खेलमा अग्रता बनाए पनि जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसकेको खेलमा दोस्रो हाफको दोस्रो मिनेटमा मेगल पलफक्सले ‘हेड’मार्फत गोल गरेपछि पाहुना टोली मिनेसोटाले खेलमा अग्रता बनायो । खेलमा एक गोलले पछि परेको अवस्थामा दोस्रो हाफको २५औँ मिनेटमा एपिएफले आवास लामिछानेको गोलमार्फत खेल बराबरीमा ल्यायो ।

एपिएफका नवीन लामालाई विपक्षी टोलीका गोलकिपर दिनेश थापा मगरले ‘फाउल’ गरेपछि रेफ्री नवीन्द्र मर्हजनले एपिएफलाई पेनाल्टीको अवसर दिएकामा लामिछानेले गोल गर्दै एपिएफलाई खेलमा फर्काए ।

खेलको ८४औँ मिनेटमा वैकल्पिक खेलाडी रबि थिङले गोल गर्दै एपिफएलाई अग्रता दिलाए । थप गरिएको समयको चौथो मिनेटमा थिङले पुनः अर्को गोल गर्दै एपिफएको जित सुनिश्चित गरे । खेलमा दुई गोल गरेका  थिङ ‘म्यान अफ दि म्याच’ घोषित हुँदै रु आठ हजार नगद पुरस्कार पाए । प्रतियोगितामा आइतबार छपटकको च्याम्पियन मनाङ मस्र्याङदी क्लब र पाँचपटकको उपाधि विजेता नेपाल पुलिस फुटबल क्लबबीच खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

मनाङले सिधै क्वारटफाइनलमा स्थान बनाएकामा पुलिसले शुक्रबार सडन डेथमा हिमालयन शेर्पा क्लबलाई पराजित गरी क्वाटरफाइनल प्रवेश गरेको हो । आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ‘ए डिभिजन’का आठ क्लबसहित १० टोलीको सहभागिता छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप