शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ : कानूनविद

शनिबार, ०८ माघ २०७८, १७ : ४७
शनिबार, ०८ माघ २०७८

कानूनविद्हरुले स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनविद्हरुले सरकारले स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले स्थानीय स्थानीय तह निर्वाचन ऐन प्रदेशसभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताए ।

उनले स्थानीय तहमा चरणको कुनै कुरा नै नभएकोले यो स्थानीय तहमा ल्याउनु भनेको प्रदेशसभा निर्वाचन ऐन कपी पेस्ट गर्नुको परिणाम भएको बताए । वरिष्ठ अधिवक्ता महतोले एकै पटक निर्वाचन गर्ने नाउँमा सातवटा प्रदेश सभालाई विघटन गर्ने अधिकार संघ सरकारसँग नरहेको पनि प्रष्ट पारे ।

वरिष्ठ अधिवक्ता महतोले भने, ‘यो भन्दा अघि जुन–जुन मितिमा चुनाव भएको थियो, त्यही मितिमा स्थानीय तहको चुनाव गरिनुपर्छ । ता कि संविधान र कानूनको मर्म, जुन ५ सालको जीवन छ स्थानीय तहको । हरेक सथानीय तहलाई ५ वर्षको ग्यारेन्टी छ । असारमा चुनाव भएको छ भने असारमा ५ वर्ष पुग्छ, वैशाखमा भए वैशाखमा, आश्विनमा भएको छ भने आश्विनमा त्यसलाई घटिबढी गर्न मिल्दैन ।’

कार्यक्रममा कानूनविद् डा. सुरेन्द्र भण्डारीले अहिलेको निर्वाचन प्रणाली पैसा, गुण्डा र छलकपटमा नै आधारित भएको भन्दै नेपालमा संसदीय निर्वाचन प्रणाली असफल भएको दाबी गरे । उनले संकटको समयमा मात्रै संसद र प्रदेशसभाको निर्वाचन वर्ष दिनसम्म लम्ब्याउन पाइने उल्लेख गर्दै अहिले संकट नभएकोले समयमै निर्वाचन गराउनुपर्नेमा जोड दिए । उनले निर्वाचन लम्ब्याउने कुरा नगरी यथास्थितिमा नै निर्वाचन गराउनुपर्ने बताए ।

कानूनविद् भण्डारीले भने, ‘संघीय संसद र प्रदेशसभाको निर्वाचन संकटकालीन अवस्था आएमा एक वर्षसम्म लम्ब्याउन पाइन्छ । अहिले मुलुकमा संकट छैन, त्यसैले यसलाई लम्ब्याउने कुनै पनि किसिमको षड्यन्त्र वा त्यस किसिमको सोचहरु प्रत्युत्पादक हुन्छन् ।’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले तीन तहको निर्वाचन एउटै चरणमा गर्न व्यवस्थापकीय दृष्टिकोणबाट पनि सम्भव नभएको भन्दै एउटै मितिमा निर्वाचन गर्न नमिल्ने बताए । उनले एकै चरणमा तीन तहकै निर्वाचन गरिनुपर्छ भन्ने कुरा कपटपूर्ण र लोकतन्त्रविरुद्धको षड्यन्त्र भएको आरोप लगाए ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले भने– ‘यो तीन तहकै निर्वाचन कुरा आएको छ । यी तीन तहको निर्वाचन एउटै मितिमा किन सम्भव छैन भने पहिला एउटै मितिमा निर्वाचन भएको थिएन । यसको कार्यकाल फरक मितिमा शुरु भएकोले अहिले एउटै मितिमा निर्वाचनको कुरा हामी नगरौँ । यसै पनि तीन तहको निर्वाचन एउटै चरणमा व्यवस्थापकीय दृष्टिकोणले पनि सजिलो छैन । हामीले एकै तहको निर्वाचन त एउटै मितिमा गर्न नसकेर स्थानीय निर्वाचन नै कति पटक तीन पटकमा गरेका छौँ । संसदको चुनाव पनि विभिन्न चरणमा गर्नुपरेको छ । त्यसैले एउटै मितिमा गर्नुपर्छ भन्ने कुरा संवैधानिक रुपमा पनि सम्भव छैन र व्यवहारिक रुपमा पनि । एकै चरणमा तीन तहकै निर्वाचन गरिनुपर्छ भन्ने कुरा अघि सारिएको छ यो कपटपूर्ण छ ।’

त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता डा.खिमलाल देवकोटाले स्थानीय तहको चुनाव समयमै गर्ने बताए । उनले अहिले सबै दल र आम नागरिकहरु स्थानीय तहको चुनाव गर्नुपर्ने भनेर लागिरहेकोले त्यसमा कुनै संशय नगर्न पनि आग्रह गरे ।

नेता देवकोटाले भने– ‘स्थानीय तहको चुनाव समयमै नगर्ने भन्ने कुनै सवाल नै छैन । मलाई लाग्छ सबैले स्थानीय तहको चुनाव समयमै गर्नुपर्छ भनेका छौँ । अर्को कुरा अर्ली इलेक्सनको कुरा आएको छ, स्थानीय तहको चुनावसँगै प्रतिनिधिसभाको चुनाव गर्न सकिन्छ कि सकिँदैन भनेर प्रतिनिधिसभा र प्रदेशसभा एकैपटक भएको थियो, अब अहिले किन छुटाउने भन्ने कुरा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप