शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाले ०५९ साल दोहोर्‍याउन खोजेको एमाले नेताको आरोप

शनिबार, ०८ माघ २०७८, १७ : ४७
शनिबार, ०८ माघ २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद रामेश्वर फुयाँलले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । उनले आगामी २०७९ जेठ ६ गते बिहान १० बजे नै स्थानीय तहको कुर्सीमा निर्वाचित जनप्रतिनिधिहरूले शासन गर्न पाउने व्यवस्था गर्न सरकारसमक्ष माग गरेका छन् । 

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता फुयाँलले देशमा अनिर्वाचित सत्ताको संविधानले परिकल्पना नगरेको स्पष्ट पारे । उनले भने,‘जनताबाट निर्वाचित प्रतिनिधिले नै देश बनाउने हो । ०५९ सालमा अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुहुन्थ्यो, हामी निर्वाचित प्रतिनिधि थियौँ । उहाँले त्यतिखेर निर्वाचित निकाय खाली गर्नुभयो । आज हामीले बनाएको संविधान छ, यो संविधानले अनिर्वाचित सत्ताको परिकल्पना गरेको छैन । र, अनिर्वाचित सत्ता एक पल पनि चल्दैन । त्यसो भएको हुनाले आगामी २०७९ साल जेठ ६ गते १० बजे स्थानीय तहको कुर्सीमा निर्वाचित प्रतिनिधिहरूको शासन हुनुपर्छ । यो हाम्रो माग हो ।’

उनले स्थानीय तहको निर्वाचन वैशाखमा नै गर्नुपर्नेमा जोड दिए । उनले भने,‘अहिले संघीय संसद्को चुनाव वैशाखमा गर्ने कुरा पनि आएको सुनियो, गहुँ काट्ने चुनाव धान काट्ने बेला, गहुँ र धान त्यही खेतमा काट्न सम्भव छ ? यो गोलमाल गर्ने, अव्यवस्था गर्ने, के यो त्यही ०५९ को अवस्था सिर्जना गर्न खोजेको हो ? बानी लागेपछि त्यस्तै–त्यस्तै तलतल लागेको हो । यो परमादेशको सरकार हो । परमादेशमा पनि यसले कार्यकालभरि त काम गर्नुपर्छ । प्रदेश सभा त्यसै भङ्ग हुन्छ ? कानुनी र संवैधानिक प्रावधान हेर्नुपर्छ ।’

उनले निर्वाचित जनप्रतिनिधिविहीन स्थानीय तह बनाउन नहुने दोहोर्‍याए । उनले स्थानीय जनप्रतिनिधिहरूको कार्यकाल संविधानमा नै ५ वर्षको तोकिएको सुनाए । संविधानको धारा २२५ त्रुटिपूर्ण थियो या थिएन त्यो विषयमा पछि छलफल गर्ने उनको भनाई छ । उनले लोकतन्त्रलाई राम्रो र बलियो बनाउनको लागि संविधानले राम्रो व्यवस्था गरेको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप