बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण आउन सक्छ कोरोनाको 'एन्डेमिक स्टेज'

शनिबार, ०८ माघ २०७८, १४ : ०१
शनिबार, ०८ माघ २०७८

भारतमा अत्यधिक मात्रामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । देशभर कोरोना संक्रमितको संख्या उच्च अवस्थामा पुगेको समयमा भारतीय काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिक समीरन पांडाले कोरोना भाइरस छिट्टै हराउन सक्ने बताएका छन् । उनले ओमिक्रोनपछि अर्को भेरियन्ट नदेखिएमा मार्च महिनाको ११ तारिखसम्म कोरोना महामारी एन्डेमिक स्टेजमा पुग्ने दाबी गरेका हुन् । उनले भाइरसको संक्रमणदर निकै कमजोर हुने बताएका हुन् । 

के हो एन्डेमिक स्टेज ? 
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार एन्डेमिक स्टेज भनेको संक्रमण रहिरहने तर संक्रमण भने सामान्य हुने अवस्था हो । यस्तो अवस्थामा महामारीको असर सामान्य हुन्छ । र, कुनै विशेष स्थानमा सीमित हुन्छ । साथै, भाइरस कमजोर हुन जान्छ । यसका साथै बिरामीहरु पनि यो भाइरससँग जिउन सुरु गर्न थाल्छन् । 

यसकारण आउन सक्छ एन्डेमिक स्टेज 
१. ओमिक्रोन गम्भीर हैन, माइल्ड 

मेट्रोपोलिस हेल्थकेयर लिमिटेडका  डा. निरन्जन पाटिलका अनुसार ओमिक्रोन कोरोनाको पछिल्लो भेरियन्ट माइल्ड हो । यसले फोक्सोलाई धेरै नोक्सान गर्दैन । यसबाट निमोनिया हुने, अक्सिजनको कमि हुने, आइसियूको आवश्यता पर्ने जस्ता समस्या हुँदैन । ओमिक्रोन देखिएका ८५ देखि ९० प्रतिशतमा लक्षण नै देखिएको छैन । 

२. खोपको असर 

टोरेन्टो युनिभर्सिटीका इम्युनोलोजिस्ट जेनिफर गोम्मरम्यानले कोरोनाविरुद्धका खोपहरुले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउने भएकाले कोरोनाको असर गम्भीर नभएको बताएका छन् । उनले विश्वभर ओमिक्रोनविरुद्ध पनि खोप बनिरहेको बताए । 

३. ओमिक्रोन संक्रमणले अर्को भेरियन्टको विरुद्ध बढाउँछ रोग प्रतिरोधी क्षमता 

दक्षिण अमेरिकामा भएको एक अनुसन्धानले ओमिक्रोन संक्रमण भएकाहरुले शरीरमा डेल्टा भेरियन्टविरुद्ध एन्टिबडि निर्माण भइरहेको छ । यो अवस्था हुन संक्रमितले पूर्ण मात्रामा खोप लगाएको हुनुपर्छ । 

४. ओमिक्रोन बन्नेछ डोमिनेन्ट कोरोना भेरियन्ट 

अमेरिकाका वैज्ञानिक एन्थनी फौसीका अनुसार कोरोनाको नयाँ भेरियन्टबाट विश्वभर सबै संक्रमित हुनेछन् । र, यसले विश्वभरका मानिसमा प्राकृतिक इम्युनिटी बनाउन सफल हुने उनले बताए । 

५. कोरोनाको घातक स्वरुपको अन्त्य

विशेषज्ञका अनुसार कोरोना भाइरसले मानिसको ज्यान लिएमा सो भाइरस सोही व्यक्तिसँगै सकिन्छ । दुनियाँमा मानिससँग जुन भाइरस जिवित रहन सक्छ सोही भाइरस मात्रै वातावरणमा रहन सक्छ । सन् १९१८ मा आएको फ्लु जसरी रुघाखोकीको रुपमा रह्यो कोरोना पनि त्यसैगरी रहने विशेषज्ञहरुको दाबी छ । 

भारतका वैज्ञानिकहरुले यो तेस्रो लहरको असर मार्चसम्म रहने दाबी गरेका छन् । उनीहरुले ११ डिसेम्बरबाट सुरु भएको यो महामारी मार्च ११ सम्म रहने बताएका छन् । यदि ओमिक्रोनले डेल्टाको स्थान लिन सफल भयो भने यो नै एन्डेमिक स्टेज हुने उनीहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप