बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुस–युक्रेन : युद्धको मैदानमा को कति शक्तिशाली ?

शनिबार, ०८ माघ २०७८, १२ : ०७
शनिबार, ०८ माघ २०७८

हमलाको आशंका र अनिश्चितताका बीच युक्रेन आफ्नो पूर्वी छिमेकी देश रुसको अर्को कदमको प्रतीक्षा गरिरहेको छ । 

पश्चिमका थुप्रै देशका गुप्तचर एजेन्सीले रुसले आफ्नो छिमेकी देश युक्रेनमाथि हमला गर्नसक्ने लगातार चेतावनी दिएको छ । 

अमेरिकाका राष्ट्रपति जो बाइडेनले बुधबार यसबारे आफ्नो धारणा व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मलाई लाग्छ कि मेरा रुसी समकक्षी भ्लादिमिर पुटिन युक्रेनमा दखल दिनेछन् तर युद्धबाट भने बच्न चाहनेछन् ।’
राष्ट्रपति बाइडेनले वास्तवमा रुसी सेनाको सानो दखलको आशंका जताएका छन् । उनको यो बयानपछि युक्रेनमा तनाव र जो बाइडेनको आलोचना दुबै बढेको छ । 

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले बिहिबार अमेरिकाको राष्ट्रपतिको बयानको जवाफ दिएका छन् । उनले भने, ‘कुनै सानो दखल होइन । कोही हताहत भएका छैनन् वा प्रियजन गुमाएको खबर मात्रै पाइएको छैन ।’

उता युक्रेनसँग जोडिएको सीमामा रुसका एक लाखभन्दा बढी सैनिक थुप्रै हप्तादेखि थुप्रिएर बसेका छन् । यद्यपि, रुस युक्रेनमाथि आक्रमण गर्ने कुनै योजनासँग लगातार अस्वीकार गरिरहेको छ । 

पश्चिमी देशसँग रुसको मागः

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिम देश सामू थुप्रै माग राखेका छन् । उनले ती देशसामू युक्रेनलाई कहिले पनि नेटोको सदस्य बन्न दिन नहुने र नेटो गठबन्धनलाई पूर्वी युरोपमा आफ्ना सबै सैन्य गतिविधि छोड्नुपर्ने मागलाई जोडदारका साथ प्रस्तुत गरेका छन् । 

तनावका बीच अमेरिकाले बिहिबार थुप्रै पूर्वी देशलाई आफ्ना हतियार युक्रेनको मद्दतका लागि त्यहाँ पुर्याउने मञ्जुरी दिएको छ । 

अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनले बिहिबार भने, ‘हामी सधैँ स्पष्ट भएका छौँ कि यक्रेनमा रुसको कुनै पनि घुसपैठलाई अमेरिका र उसका सहयोगीको तर्फबाट तेज, कडा र एकजुट जवाफ पाउनेछ ।’

यसैबीच बिहिबार दिएको एक भाषणमा राष्ट्रपति जो बाइडेन आफ्नो पहिलो बयानबाट पछि हटे । उनले युक्रेनमा रुसी सेनाको कुनै पनि घुसपैठलाई हमला मानिने बताएका छन् । 

एन्टनी ब्लिङ्कनले बिहिबार जर्मनीको राजधानी बर्लिनमा यो मुद्दामाथि युरोपका प्रमुख देशका विदेशमन्त्रीसँग एउटा बैठकको आयोजना गरे । उक्त बैठकमा युक्रेनमाथि रुसको कुनै पनि सम्भावित हमलासँग जुध्नका लागि युरोपेली देशबीच तालमेल मिलाउने विषयमाथि कुराकानी गरियो । 

ब्लिङ्कन शुक्रबार जिनेवामा रुसी विदेशी मन्त्री सर्गेई लावरोवसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसको दखल, चाहे त्यसको स्तर जस्तोसुकै किन नहोस्, त्यो संसारका लागि खतरनाक हुने बताएका छन् । 

रुसी सैनिकको तैनाथीः

अगस्ट २०२१ मा रुसले क्रिमियामा ठूलो स्तरमा सैन्य अभ्यास गर्यो । 

उक्त अभ्यासको केही समयपछि रुसले पूर्वी युक्रेनकमो डोनबास इलाका नजिकै ठूलो परिमाणमा हतियार तैनाथ गरेको थियो । 

यद्यपि, केही हप्तापछि उसले आफ्नो सैनिक त्यहाँबाट हटाएको थियो । अब उनीहरु पुनः फिर्ता भएका छन् । 

रुसले आफ्नो सेना नोभेम्बरदेखि तैनाथ गर्न सुरु गर्यो र बेलारुससम्म यसको लगातार बिस्तार भइरहेको छ । 

बेलारुसमा दुबै देशका सैनिकले अभ्यास गर्ने योजना बनाएको छ । 

रुस आखिर के चाहन्छ ?

रुसका राष्ट्रपति पुतिनले लामो समयदेखि यो दाबी गर्दै आएका छन् कि अमेरिकाले नब्बेको दशकमा सुदुर पूर्वमा नेटोको बिस्तार नहुने बचन दिएको थियो तर अमेरिकाले आफ्नो यो बचन तोडेका छन् । 

अघिल्लो महिना पुटिनले एक पत्रकार सम्मेलनमा भने, ‘उनले हामीलाई निराश बनाए !’

यद्यपि, तत्कालीन सोभियत संघका नेता मिखाइल गोर्बाचेवले यसबारे के बचन दिइएको थियो, यो विषयमा दुबै पक्षबीच मतभेद भएको बताए । 

आजको समयमा पूर्व सोभियत संघका कुनै सदस्य वा उसको प्रभावमा रहेका थुप्रै पूर्वी र मध्य युरोपेली देश नेटोको हिस्सा बनेका छन् । तीमध्ये चार देश पोल्याण्ड, लिथुआनिया, लातविया र एस्टोनियाको सीमा रुससँग जोडिन्छ । 

रुसले  नेटोको बिस्तार र उसको सीमा नजिकै नेटोका सेना र सैन्य उपकरण हुँदा रुसको सुरक्षामा सीधा खतरा हुने तर्क प्रस्तुत गर्ने गर्छ । 

पछिल्ला केही हप्तामा रुस र नेटाको सम्बन्धमा तित्तता आइसकेको छ । अघिल्लो वर्ष १८ अक्टोबरमा रुसले ब्रसेल्सस्थित नेटोको मुख्यालयमा आफ्नो मिसन समाप्त गर्ने घोषणा गरेको थियो । यो त्यतिबेला भयो जब नेटोले रुसमाथि जासुसीको आरोप लगाउँदै उसका आठ प्रतिनिधिलाई निलम्बित गरिदियो । 

रुसले सन् २०१४ मा क्रिमियाको एक प्रायद्वीपमा आफ्नो ऐतिहासिक दाबी भएको भन्दै कब्जा गर्यो । 

युक्रेन सोभियत संघको हिस्सा रहिसकेको छ । यस्तै सन् १९९१ मा सोभियत संघको पतनलाई भ्लादिमिर पुटिनले रुसको ऐतिहासिक विघटन भनेर स्मरण गर्छन् । 

अघिल्लो वर्ष एक लामो आलेखमा उनले रुसी र युक्रेनी दुबैलाई ‘समान राष्ट्रियता’ बताएका थिए । जानकारका अनुसार यो कुराले पुटिनको सोचबारे थाहा हुन्छ । उक्त आलेखमा पुटिनले युक्रेनका तत्कालीन नेताले रुस विरोधी अभियान चलाइरहेको आरोप लगाएका थिए । 

यस्तै, युक्रेनको सीमा पूर्वमा रुस र पश्चिममा युरोपेली संघका देशसँग जोडिन्छन् । यद्यपि, पूर्व सोभियत संघका सदस्य भएका कारण उसको रुससँग गहिरो सामाजिक र संस्कृतिक सम्बन्ध छ । युक्रेनमा रुसी भाषा बोल्नेको संख्या करिब १७ प्रतिशत छ । 

युक्रेनले सन् २०१४ मा आफ्नो रुस समर्थक राष्ट्रपतिलाई उनको पदबाट हटाइदिएका थिए । यसकारण रिसाएपछि रुसले दक्षिणी युक्रेनको क्रिमिया प्रायद्वीपलाई आफ्नो कब्जामा लियो । 

रुसले त्यहाँ अलगाववादीहरुलाई आफ्नो समर्थन दियो जसले पूर्वी युक्रेनको ठूलो हिस्सामा कब्जा गर्यो । र त्यतिबेलादेखि रुस समर्थक विद्रोही र युक्रेनको सेनाबीच चलिरहेको लडाईंमा १४ हजारभन्दा बढी मारिइसकेका छन् । 

विद्रोही र युक्रेनी सेनाबीच यो संघर्ष आज पनि जारी छ । हाल दुई देशबीच युद्धविराम चलिरहेको  छ । 

बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप