मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको बैठक: जनपरिचालनका कामहरुको जिम्मा प्रचण्डलाई, यस्ता छन् अन्य निर्णय

शनिबार, ०८ माघ २०७८, १२ : ०८
शनिबार, ०८ माघ २०७८

नेकपा (माओवादी केन्द्र) को पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ । 

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । त्यस्तै बैठकमा बाँकी रहेका संगठनात्मक कामहरु टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय भएको पनि नेकपा (माओवादी केन्द्र) नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले बताए ।

उनले बैठकमा एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको बताए ।

महराले भने, ‘अहिलेको समसामयिक परिस्थितिको विषयमा ब्रिफिङ गर्ने र परामर्श लिने उद्देश्यका साथ बैठक बोलाइएको हो । आजको बैठकमा तीनवटा कुरा बिफ्रिङ गर्नुभएको छ अध्यक्ष कमरेडले । एउटा आज बस्ने भनिएको थियो केन्द्रीय कमिटीको बैठक । हामीले यो तत्काललाई बस्न सम्भव छैन । अहिलेको जुन कोभिडको स्थिति छ, यो अलि चर्को छ । त्यसकारणले कोभिड अलि मत्थर नभएसम्म बैठक स्थगित गर्ने, तर तत्काल कामका निमित्त अध्यक्ष कमरेडले कामहरु अघि बढाउने भन्ने भयो । तलका बाँकी संगठनात्मक कामहरु रहेका छन् भने प्रदेश जिल्लाहरूले टुंग्याउने भन्ने निर्णय भयो । त्यसपछि केही कामहरु खास गरेर जनपरिचालनका कामहरु अध्यक्ष कमरेडले दिने भन्ने निर्णय भयो ।’
 
नेता महराले एमसीसीको सवालमा अध्ययन गर्न पार्टीले कार्यदल बनाएको समेत जानकारी दिए । उनले भने, ‘एमसीसीको कुरा अलि चर्को ढंगले उठेको छ । त्यसमा हाम्रो पार्टीले एउटा कार्यदल बनाएको छ । त्यसको सुझाव लिएर आवश्यक परिमार्जन संशोधन गरेर अगाडि बढ्न सुझाव दिने । त्यो कार्यदलको सुझाव पर्खिने भन्ने निर्णय भयो ।’ 

उनले निर्वाचनका बारेमा पनि छलफल भएको बताए । महराले भने, ‘तेस्रो कुरा चुनावको कुरामा छलफल चल्दैछ, चुनावमा सकेसम्म कम खर्चमा सकेसम्म तीनवटा चुनाव एकैपटक गर्न पाए राम्रो भन्ने ढंगले छलफल चलिरहेको छ कार्यदलभित्र । यो छलफल अझ पनि जारी छ । निर्वाचन आयोग, बुद्धिजीविहरु, पत्रकारहरू, त्यसपछि कानूनविदसँग सल्लाह लिएर यसको निष्कर्षमा पुग्न बाँकी नै छ ।’

यो पनि...

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप