बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीले बरामद गरेको महमा भेटियो क्यान्सर गराउने तत्त्व

पुरानो र गुणस्तरहीन महले निम्त्याउन सक्छ स्वास्थ्य समस्या
शनिबार, ०८ माघ २०७८, ११ : ३२
शनिबार, ०८ माघ २०७८

महानगरीय अपराध महाशाखाको टोली माघ ६ गते बिहीबार ज्याठामा रहेको एक घरमा पुग्यो । अखाद्य पदार्थ मिसाएर नक्कली मह बनाएर बजारमा विक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मह उद्योगका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई पक्राउ गरी ७ हजार ६०० केजी तयारी मह र मह बनाउन प्रयोग हुने कच्चापदार्थ बरामद ग¥यो । 

जतिबेला प्रहरी टोली मह उद्योग रहेको ज्याठास्थित घरमा पुग्यो, मह उत्पादनस्थलको अवस्था र भण्डारण देखेर आफैँ दङ्ग पर्‍यो । मह उत्पादनस्थल यति फोहोर थियो कि त्यो खाद्यवस्तु उत्पादन गर्ने स्थान नभएर फोहोर सङ्कलन गरेर राखिएको स्थान जस्तो थियो । अनि मह बनाउने स्थानमा माहुरीको महभन्दा बढी चिनी र ग्लुकोज पाइएको थियो । 

यसरी पुग्यो प्रहरी नरेशको उद्योगसम्म

बजारमा गुणस्तरहीन र नक्कली महको बिगबिगी भएको भन्ने सूचना प्रहरीकोमा बेलाबेलामा आउने गर्थ्यो । तर पनि कुन मह सक्कली हो र कुन मह नक्कली हो भन्ने स्पष्ट आधारसहितको उजुरी वा गुनासो प्रहरीकोमा थिएन । तर केही समयअगाडि मात्रै प्रहरीले स्पर्श हनी नाम गरेको मह गुणस्तरहीन रहेको र उक्त महमा महमा हुनुपर्ने गुण नभएको सूचना पायो । त्यसलगत्तै प्रहरीले बजारबाट स्पर्श हनि किनेर ल्यायो । अनि महमा रहेको लेबल निकाल्यो र सङ्केत नम्बर राखेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठायो । 

प्रहरीले पठाएको नमुनाको परीक्षण गर्दा स्पर्श हन खानका लागि योग्य नै नरहेको रिपोर्ट प्रयोगशालाले दियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार स्पर्श हनीमा चिनी र ग्लुकोजको मात्रा मापदण्ड अनुसारको नभएको र उक्त मह खानका लागि योग्य नरहेको भन्दै प्रयोगशालाले रिपोर्ट दिएपछि जफत गरिएको हो । कुँवरका अनुसार महमा हाइड्रोअक्सिमिथाइल (एचएमएफ)को मात्रा मापदण्डभन्दा झण्डै दुई गुणा बढी रहेको र फ्रुक्टोज तथा ग्लुकोजको अनुपात नमिलेको भन्दै उक्त मह खानका लागि योग्य नरहेको रिपोर्ट दिएको थियो । प्रयोगशालाको रिपोर्टमा एचएमएफको मात्रा ७८ मिलिग्राम प्रतिकेजी पाइएको थियो । जबकि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार महमा अधिकतम ४० मिलिग्राम प्रतिकेजी मात्रै हाइड्रोअक्सिमिथाइल प्रयोग गर्न पाइन्छ । ४० मिलिग्रामभन्दा कम एचएमएफ भएको मह मात्रै राम्रो र खानका लागि योग्य भएको विभागको मापदण्डमा उल्लेख छ । 

त्यसैगरी फ्रुक्टोज र ग्लुकोजको अनुपात शून्य दशमलव ९५ भन्दा कम नभएको हुनुपर्नेमा उक्त हनीमा जम्मा शून्य दशमलव ८८ मात्रै पाइएको थियो । महमा हुनुपर्ने गुण र मात्रा नमिलेको पाइएपछि उक्त स्पर्श मह खानका लागि योग्य नभएको र विभिन्न नक्कली खाद्यपदार्थहरू मिसाएर नक्कली मह बनाएको पाइएपछि प्रहरीले सञ्चालकलाई पक्राउ गर्दै ७ हजार ६०० किलोग्राम मह र मह बनाउन प्रयोग हुने कच्चापदार्थ तथा मेसिनसमेत जफत गरी ल्याएको थियो । 

स्पर्श हनीमा क्यान्सर गराउने तत्त्व

महानगरीय अपराध महाशाखाले परीक्षण गरी बरामद गरेको स्पर्श हनीमा मानव शरीरलाई क्यान्सर गराउन सक्ने तत्त्वको मात्रा बढी पाइएको छ । स्पर्श हनीमा पाइएको अत्यधिक एचएमएफको मात्राले मानव शरीरलाई गम्भीर असर पुराउन सक्ने र क्यान्सरसम्म गराउन सक्ने विभिन्न अध्ययनले देखाएको छ । 

जब ग्लुकोज र चिनी पकाइन्छ, त्यहाँ तापको कारण केही मात्रामा हाइड्रोअक्सिमिथाइलको मात्रा बढ्न जान्छ । हाइड्रोअक्सिमिथाइलको मात्रा नबढोस् र मापदण्ड अनुसारकै होस् भन्नका लागि त्यहाँ अधिकमात्रामा माहुरीले तयार पारेको महकै प्रयोग गरिन्छ । केही मात्रामा ग्लुकोजको प्रयोग गर्न सकिने भएपनि त्यहाँ सस्तो पर्ने चिनी बढी मिसाउने र तताउने गर्दा त्यहाँ एचएमएफको मात्रा बढ्न जान्छ, जुन टक्सिन अर्थात् विष समान बन्न सक्छ ।

विभिन्न अध्ययनहरूले देखाए अनुसार पुरानो मह र नक्कली महहरूमा एचएमएफको मात्रा बढी पाइने गरिएको छ । नेपाल सरकारले तोकेको ४० मिलिग्राम प्रतिकिलो भन्दा बढी भएको एचएमएफको मात्राले मानव शरीरलाई क्यान्सर गराउन पनि सक्छ । यसले पेट तथा आन्द्रामा असर गर्ने र क्यान्सर समेत गराउन सक्ने देखिएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक खाद्य विशेषज्ञका अनुसार जुन मह केही समयपछि रङमा परिवर्तन आउँछ र अत्यधिक जम्न थाल्छ, उक्त मह खानका लागि योग्य छैन भनेर बुझ्दा हुन्छ । आफ्नो नाम नछाप्ने सर्तमा एक विशेषज्ञले भने, ‘सक्कली मह प्रतिकिलो ५/६ सयमा आउँदैन । अहिले बजारमा पाइने अधिकांश महमा चिनी र ग्लुकोजको मात्रा बढी रहेको पाइएको छ । त्यो भनेको चिनी पानी घोलेर खाए पनि हुन्छ । महमा पाइने तत्त्वको मात्रा एकदमै कम हुने गरेको छ, जुन वस्तुलाई हामीले मह भनेर खाइरहेका छौँ, अधिकांश त्यस्ता वस्तुहरू चिनी पानी र केही अन्य तत्त्वहरूको मिश्रण मात्रै छ ।’

होटल र रेस्टुरेन्टमा पुग्थ्यो नक्कली मह

नरेश श्रेष्ठले ज्याठामा उत्पादन गर्ने गरेको मह काठमाडौँ, भक्तपुर र पोखराका ठूला होटल तथा रेष्टुरेष्टहरुमा पुराउने गरिएको पाइएको छ । महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार नरेशले उत्पादन गर्ने गरेको स्पर्श हनी पसलहरूमा भन्दा पनि होटल तथा रेष्टुरेण्टहरुमा विक्री वितरण गर्ने गरेको पाइएको छ । यद्यपि केही मात्रामा स्पर्श हनी बजारमा पनि पाइएको प्रहरीले जनाएको छ । 

उत्पादकको मूल्य २५०, उपभोक्ता मूल्य ६०० !

नरेशले आफ्नो उद्योगबाट उक्त मह उत्पादन गरी तयारी अवस्थामा प्याकेजिङ गरी लेबल लगाइएको मह प्रतिकिलो २५० रुपैयाँमा विक्री वितरण गर्ने गरेको बयान दिएका छन् । नरेशले डिलरलाई उक्त मह विक्री गर्दा प्रतिकिलो २५० रुपैयाँमा विक्री गर्ने गरेको र डिलरले सब डिलर तथा पसलहरूमा विक्री गर्दा प्रतिकिलो ४५० रुपैयाँसम्म विक्री गर्ने गरेको पाइएको थियो । 

तर उक्त मह उपभोक्ताको घरमा पुग्दा भने प्रतिकिलो ६०० रुपैयाँ तिर्नुपरेको पाइएको छ । नतिजा प्याकेजिङका नामबाट प्याकेजिङ गरिएको महको अधिकतम विक्री मूल्य ६०० रुपैयाँ राखिएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ६ स्थायी ठेगाना भएका नरेशले विगत ७ वर्षदेखि यसैगरी नक्कली र कम गुणस्तरको मह उत्पादन गर्दै विक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले बताएको छ । नरेशले श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ नाममा कम्पनी दर्ता गरी सञ्चालन गरेको प्रहरीले जनाएको छ । नतिजा प्याकेजिङ नामक कम्पनी दर्ता गरे पनि स्पर्श हन दर्ता नगराएको पाइएको प्रहरीले जनाएको छ । नरेशले मह बनाउनका लागि आवश्यक कच्चापदार्थहरु दाङ, नवलपरासी तथा चितवनबाट खरिद गर्ने गरेको दाबी गरेको तर त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

पक्राउ परेका श्रेष्ठलाई कालोबजारी ऐन अन्तर्गतको मुद्दा चलाउन अहिले अनुसन्धान भइरहेको र अनुसन्धान पूरा भएपछि अन्य मुद्दा पनि आकर्षित हुने भएमा अन्य मुद्दामा पनि मुद्दा चलाउने र नभए कालोबजारीमा मुद्दा चलाउने एसएसपी कुँवरले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप