शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेडिकल कलेज चलाउने तयारीमा गण्डकी सरकार, सकियो अध्ययन

शनिबार, ०८ माघ २०७८, ०९ : ३१
शनिबार, ०८ माघ २०७८

गण्डकी प्रदेश सरकारले मेडिकल कलेज सञ्चालन गर्ने भएको छ ।  २ वर्षअघि आफ्नै विश्वविद्यालय स्थापना गरेको गण्डकीले तीन वटा विषयमा स्नातक पढाई थालिसकेकोमा मेडिकल कलेज सञ्चालनको तयारी गरिरहेको हो ।

रजिष्ट्रार डा. कैलाश तिमिल्सिनाले भने, ‘अहिले आम मानिसहरूको स्वास्थ्यमा खर्च बढेर गएको छ । सरकारले प्रत्यक्ष प्रदान गर्न सक्ने सार्वजनिक सेवाहरू मध्ये स्वास्थ्य प्रमुख हो,’ उनले भने, ‘व्यक्तिगत खर्चमा कटौती गर्न सरकारी स्वास्थ्य प्रणाली मजबुत बनाउँदै लैजानुपर्ने हुन्छ । गण्डकी विश्वविद्यालयले अब तत्कालै शिक्षण अस्पताल सञ्चालन गर्नुपर्छ ।’

यसअघि तनहुँको बेलचौतारामा मेडिकल कलेज चलाउने प्रस्ताव गरिएकोमा ठाउँ फेरेर पोखराकै सरुवा रोग अस्पतालमा खोल्दा सहज हुने अध्ययन समितिले जनाएको छ । प्रस्तावित ठाउँमा ५ सय २९ रोपनी जमिन छ । सबै जग्गा अस्पतालको नाममा ल्याउन जग्गा प्राप्ति प्रक्रिया अघि बढिसकेको सरकारले जनाएको छ । कम्तीमा १ सय रोपनी जग्गा अस्पतालको नाममा आए समस्या नहुने तिमिल्सिनाले बताए ।

तर, प्रदेशको आम्दानी कम भएकोले आर्थिक व्यवस्थापनका लागि संघ सरकारसँग समन्वय गर्नुपर्ने सुझाव दिइएको छ । यसबाहेक विदेशी अनुदान ल्याउने वातावरण बनाउन नीतिगत पहल आवश्यक हुने प्रस्ताव । हाल प्रदेश सरकार मातहत ११ वटा जिल्लामा १२ वटा अस्पताल छन् । ती अस्पताललाई चाहिने जनशक्ति आफ्नै शिक्षण अस्पतालबाट पूर्ति गर्न सकिने उनले सुनाए ।

समितिले सरुवा रोग अस्पताललाई ५ सय शय्याको अस्पताल बनाएर मेडिकल कलेजको रूपमा सञ्चालनको सुझाव दिएको छ । प्रारम्भिक अध्ययनका क्रममा तत्काल ३ सय ५० बेड क्षमताको जनरल अस्पताल बनाउने र भविष्यमा ५० बेडको मुटु, ५० बेडको मिर्गौला, ५० बेडको क्यान्सर रोग र ५० बेडको सङ्क्रामक तथा सरुवा रोग उपचार केन्द्र बनाउन सकिने प्रस्ताव गरिएको छ । बाँकी ३ सय बेडमा बिरामी उपचार गरेर आधुनिक प्रादेशिक अस्पताल बनाउन जरुरी रहेको अध्ययन समितिले जनाएको छ । यो अस्पताल निर्माण गर्न ६ अर्ब २ करोड खर्च लाग्ने अनुमान गरिएको छ । अस्पताल सञ्चालनपछि वर्षेनि ५० करोडभन्दा बढी आम्दानी गर्न सकिने प्रक्षेपण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप