शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा कोरोना : महामारीमा मन्त्रालय नै मन्त्रीविहीन

तीन दिनमा ६२१ जनामा कोरोना सङ्क्रमण, सीमानाकामा छैन चेकजाँच
शनिबार, ०८ माघ २०७८, ०८ : १३
शनिबार, ०८ माघ २०७८

सुर्खेत। कर्णाली प्रदेशले पहिलो र दोस्रो चरणको कोरोना महामारीमा नराम्रो क्षति बेहोर्नुपर्‍यो । कोरोना सङ्क्रमणका कारण ३८८ जनाले ज्यान गुमाइसकेका छन् भने ३५ हजार ४४ जना नागरिक कोरोना महामारीको चपेटामा परिसकेका छन् ।

गत वैशाख, जेठ र असार महिनामा कर्णालीमा कोरोनाले गर्दा अस्पतालहरू भरिभराउ भएपछि अस्पतालले बिरामी भर्ना लिन सक्ने स्थिति थिएन । सोही स्थिति पुनः दोहोरिन सक्ने जनस्वास्थ्यविदहरुले चेतावनी दिइरहेका छन् । शुक्रबारमात्र कर्णालीमा ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जुन तेस्रो लहर अन्तर्गतको सबैभन्दा उच्च हो । यसअघि बिहीबार १२५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । मंगलबार कुल परीक्षण गरिएका मध्ये ५७ प्रतिशत अर्थात १८९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो।

शुक्रबार १७८ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणका क्रममा १४५ जनामा कोरोना सङ्क्रमण देखिएको र २९६ जनामा गरिएको एन्टिजेन विधिबाटको कोरोना परीक्षणका क्रममा १६८ जनामा कोरोना सङ्क्रमण  पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । विशेष गरी सुर्खेत जिल्लामा शुक्रबार मात्रै २१५ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने सल्यानमा २८, कालिकोटमा १९, जुम्लामा २५, जाजरकोटमा ३, दैलेखमा ५, रुकुम पश्चिममा ३ र अन्य ७ जना सङ्क्रमित थपिएका छन् ।  

महामारीमा मन्त्रीविहीन मन्त्रालय 

पछिल्ला तीन दिनको कोरोनाको अवस्थालाई अध्ययन गर्ने हो भने पनि डिस्चार्ज हुनेभन्दा सङ्क्रमणको दर उकालो लाग्दो छ। यता स्वास्थ्य क्षेत्र हेर्ने कर्णालीको सामाजिक विकास मन्त्रालय भने मन्त्रीविहीन अवस्थामा छ । जनस्वास्थ्यविदहरुले महामारी फैलिन सक्ने भन्दै नियन्त्रण र रोकथाममा लाग्न अनुरोध गरिरहँदा मन्त्रालय नै मन्त्रीविहीन हुँदा दुखद भएको सरोकारवालाहरूले बताउने गरेका छन् । कोरोना महामारीमै मन्त्रालयलाई नेतृत्व गर्ने, अभिभावकत्व प्रदान गर्न, निर्णय, निर्देशन दिने मन्त्री नहुँदा नीतिगत र दैनिक प्रशासनिक कुराहरूमा समस्या हुने गरेको मन्त्रालयका कर्मचारीहरूले बताउने गरेका छन् । 

काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले गत कार्तिक १६ मा मुख्यमन्त्रीको शपथ खाएका थिए । मुख्यमन्त्री बनेको लामो समय भइसक्दा पनि उनले मन्त्रिमण्डललाई पूर्णता दिन सकिरहेका छैनन् । उनले भूमि, व्यवस्था, कृषि तथा सहकारी र आर्थिक मामिला तथा योजना मन्त्रालय बाहेकका पाँच वटा मन्त्रालय आफैले सम्हालिरहेका छन् । तर उनलाई अहिलेसम्म मन्त्रालयतिर आउ–जाउ गर्ने खासै फुर्सद छैन।

प्रमुख प्रतिपक्षको भूमिका हुँदा शाहीले कोरोना महामारीको विषयलाई लिएर चर्को आलोचना गर्दथे । तर अहिले आफै मुख्यमन्त्री हुँदा भने उनले सरकारलाई नै पूर्णता दिन सकिरहेका छैनन्।

महामारीमा नै मन्त्रीविहीन मन्त्रालय भए पछि अहिले उनको सर्वत्र आलोचना भइरहेको छ। तर मुख्यमन्त्री शाही भने मन्त्री नहुँदैमा कुनै काम नरोकिएको बताउँदै आइरहेका छन् । 

न त उनी आफैले मन्त्रालय विस्तारमा ‘एक्सन’ लिन सकिरहेका छन् न गठबन्धनमा रहेका दलहरूले उनलाई सहयोग नै गरिरहेका छन् । अहिले कर्णालीमा बनेको गठबन्धनलाई असक्षम गठबन्धन भन्दै आलोचना भइरहेको मात्र छैन नैतिक प्रश्न समेत उठेको छ। 

के भन्छन् पूर्व सामाजिक विकास मन्त्रीहरू ?

कोरोना महामारीको दोस्रो चरणको क्रममा सामाजिक विकास मन्त्रालयको नेतृत्व सम्हालेका पूर्व मन्त्री एवं सांसद यज्ञबहादुर बिसी महामारीको समयमा मन्त्रालयको नेतृत्व गर्ने मन्त्री आवश्यक पर्ने बताउँछन् । उनी भन्छन्, ‘तीन दलको गठबन्धनको सरकार भएकाले माओवादी केन्द्रले मन्त्रीको नाम नदिँदा ढिलाइ भएको कुरा मुख्यमन्त्रीज्यूबाट बाहिर आएको छ। खास महामारीको यो अवस्थामा मन्त्रालय खाली राख्नुहुन्थेन।’

यस्तै पूर्व सामाजिक विकास मन्त्री दल रावल भन्छन्–‘कोरोनाको पहिलो लहर चल्दा हामीले निकै तयारी गर्यौँ। स्वयम् म आफै पनि राती १२ बजेसम्म खटिँदा त भयावह स्थिति भयो । अहिले त मन्त्री नै नभएपछि अवस्था कस्तो होला ?’

उनले भने,‘यसअघिकै हेल्थ डेस्कहरूलाई सञ्चालनमा ल्याउनुपर्ने हो। तर कर्णालीको प्रमुख प्रवेशद्वार मानिएको बबईमा सीमा नाका अहिले खुल्ला छ । यो अवस्था हेर्दा मन्त्री त छैनन् अब सरकार नै छ की छैन ? भन्ने भयो।’ साथै रावलले कोरोना रोकथाम र नियन्त्रणमा जबाफदेही तरिकाले सक्रिय हुनुपर्ने बताए। ‘त्यतिबेला (पहिलो चरण) म मन्त्री थिए, उहाँ प्रतिपक्षको भूमिकामा हुँदा निकै आलोचना गर्नुहुन्थ्यो। तर अहिले सुर्खेतमै कोरोनाको अवस्था के छ ? भन्ने जानकारी प्रदेश सरकारले राखिरहेको देखिँदैन,’ उनले भने । 

सीमा नाकाका हेल्थ डेस्क सञ्चालनमा आएनन्

पहिलो र दोस्रो चरणको कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि बनाइएका स्वास्थ्य संरचना (हेल्थ डेस्क) हरू सुचारु हुन सकिरहेका छैनन्। जसका कारण भारत लगायत अन्य ठाउँदेखि प्रदेश भित्रिनेहरू चेकजाँचबिनै सिधै गाउँ जान थालेका छन् । कर्णाली प्रदेशका अधिकांश मान्छेहरू रोजगारीको सिलसिलामा भारत जाने गर्दछन्। भारतमा पनि कोरोना सङ्क्रमण बढिरहेको भन्दै उनीहरू गाउँ फर्किन थालेका छन् । तर सीमा नाकामा चेकजाँच नै हुँदैन । जसले गर्दा गाउँ–गाउँमा पुनः कोरोना महामारी फैलिने सरोकारवालाहरूले बताउने गरेका छन् ।

 स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार दोस्रो चरणको कोरोना महामारी कम भएपछि बन्द गरिएका स्वास्थ्यका संरचनाहरू पुनः सुचारु गर्ने तयारी भइरहेको जनाएको छ। 

अब केही दिनमै नाकाहरूमा हेल्थ डेस्कसहित स्वास्थ्यकर्मीको टिम पठाउने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. रविन खड्का बताउँछन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप