बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ऋचा शर्माको 'आमा' अनुभव : ‘बच्चा देखेपछि संसारै अर्को भएको फिल हुँदो रहेछ’

शनिबार, ०८ माघ २०७८, ०७ : ३७
शनिबार, ०८ माघ २०७८

गत २३ भदौ गते थापाथलीस्थित नर्भिक अस्पतालमा मैले पहिलो सन्तानको रूपमा छोरा जन्माएँ । अभिनेत्री भएर होला, म आमा भएको समाचार मिडियामा पनि छायो । आमा बनेपछिको ‘फिलिङ’ शब्दमा वर्णन गर्न नसकिँदो रहेछ । महिलाको जीवनको यो एउटा महत्त्वपूर्ण पाटो मैले मानेकी छु । आमा भएपछि धेरै जिम्मेवार हुनुपर्ने महसुस मैले गरेकी छु ।

चुनौती धेरै
आमा भएपछि जीवनमा धेरै ‘च्यालेन्ज’ थपिदो रहेछ । हामी आमा भएपछि दूध राम्रोसँग आउँछ र बच्चाले खान्छ भन्ने सोच्छौ । तर, वास्तविकता भने फरक रहेछ । प्रेग्नेन्सी भन्दा पनि गाह्रो अवस्था ब्रेष्टफिडङ रहेछ । सुरक्षित रूपमा प्रसूति हुन नसकेपछि हतोत्साहित भइँदो रहेछ । सुरक्षित सन्तान जन्माउनु आमाको लागि ठूलै चुनौती रहेछ । 

इमोनशल र मेन्टल अवस्थाको त कुरा नगरौँ । एउटा प्वाइन्ट आएर म आनन्दले बसिरहेको थिए, आफ्नो रूचिअनुसार काम गर्थे । किन बच्चा जन्माउनु परेको होला भन्ने पनि आभास हुन्छ । कतिपय समयमा राम्रोसँग सुत्न नपाउने अवस्थाको सामना गर्नुपर्ने भएकोले दिमागमा के के भएजस्तो हुन्छ ।

म कस्तो चक्करमा फसेँ, मेरो जीवन कहाँ अल्झियो भन्ने जस्तो लाग्छ । मेरो नर्मल डेलिभरी भएन, अप्रेशन गर्नुपर्‍यो । अप्रेशनलगत्तै दिमाग कुइरोले भरिएको जस्तो हुने रहेछ । त्यसलाई मेन्टल ब्लुज (पोष्टपार्टम ब्लुज) भनिन्छ । त्यो समय हाम्रो बडी, हर्मोनलगायत विभिन्न कुरोमा एक प्रकारले परिवर्तन देखिन्छ । त्यसले एक किसिमको बच्चा  र आफ्नो विषयमा डर पैदा गर्दो रहेछ । घाउ सन्चो नभएसम्म ममा पनि मेन्टल ब्लुज भयो । अव जीवन यति नै हो जस्तो अनुभूति भएको थियो ।

दिन बित्दै गए, बच्चा हुर्किँदै गयो, ऊसँग रमाउने बानी पर्‍यो । अहिले समय रमाइलोसँग बितिरहेको छ । जति नै टेन्सन र अन्य तनाव भएपनि बच्चा देखेपछि संसारै अर्को भएको फिल हुँदो रहेछ । यो निकै रमाइलो पक्ष हो ।

रातभर बच्चा सुतेन भने किन सुतेन, दूध कम खायो भने किन त्यसो गर्‍यो, अन्य दिन जस्तो एक्टिभ भएन भने के भयो ? हरेक पल चिन्ताले सताउँदो रहेछ । बच्चा हुर्काउन पनि हरेक दिन च्यालेन्जिङ छ । एक किसिमले हेर्ने हो भने अव सधैँका लागि टेन्सन थपियो ।

परिवारको सहयोगले सहज 

मेरो परिवार एकदमै सहयोगी छ । बच्चा पनि ज्ञानी छ । त्यसैले हुर्काउन सहज भएको छ । आमा बनेको समय धेरैले धेरै थरिका कुरा सुनाउँथे । म सबैको कुरा सुन्ने तर निर्णय आफ्नो मनले जे भन्छ, त्यो गर्ने मानिस हुँ । त्यसैले जसले जे सुनाए पनि आफ्नो मनले भनेको गर्थे ।

भन्न त मानिसहरू गर्भवती अवस्थामा अनि बच्चा जन्मेपछि पनि बच्चालाई यस्तो हुन्छ, यस्तो गर्नु हुँदैन, भनेर नानाथरिको भन्थे । म आफूले भने केही समस्या भोग्नु परेन । मेरो सासुससुरा पनि हुनुहुन्छ । त्यसैले पनि धेरै सजिलो भयो । उहाँहरुको सल्लाह लिन्छु । 

हामी अहिले एकदमै कम्फर्टेबल जमानामा छौं । मेरो सासुससुराको जमानामा धेरै गाह्रो थियो । उहाँहरुको भोगाई बच्चा खुवाउने, तेल लगाउनेदेखि हरेक कुरो मेरो लागि काम लागेको छ । उहाँले सुझाएको कतिपय कुरो मान्छु । म त त्यो कल्पना पनि गर्न सक्दिन कि श्रीमान्–श्रीमतीले मात्र बच्चा कसरी हुर्काउन सक्छन् होला ? श्रीमान्बाट इमोसनल, मेन्टल हरेक किसिमको सपोर्ट मिल्ने गरेको छ । राती म सुतेको छैन भने बिहान उहाँ बच्चासँग बसेर तिमी सुत भन्नुहुन्छ । 

बच्चासँग ‘अट्याच’ भएन

मेरो फुच्चे एकदमै क्यूट छ । एउटी आमाको सबैभन्दा ठूलो कुरो उसको बच्चाको स्वास्थ्य हो । उ सधैं आफ्नो बच्चा स्वस्थ र निरोगी होस् भन्ने कामना गर्छे । पहिलो पटक बच्चा काखमा पाउँदा म ऊसँग अट्याच हुन भने सकिनँ । बेबी त भयो, अब के गर्ने भनेर अक्क न बक्क भएको थिएँ । त्यो मलाई मात्र होइन, सबैलाई हुने रहेछ । पछि डाक्टरले भनेपछि थाहा भयो । जब बच्चाले मेरो ब्रेस्टफिड गर्न थाल्यो । त्यसपछिको फिलिङ अहिले भन्न सक्दिन । एक किसिमको खुसी, डर लगायतका धेरै खालका अनुभूति एकसाथ भएको थियो ।

केही समययता बच्चा घरमै छोडेर म हल्काफुल्का बाहिर निस्कन थालेकी छु । तर घर छाडेर बाहिर निस्किँदा एकदमै डर लाग्छ । सासुआमा घरमा भएको समय त्यस्तो केही फिल हुँदैन, उहाँ स्कुल पढाउन जाँदा चिन्ता लाग्छ । बच्चाको हेरचाह गर्ने एउटा दिदी त हुनुहुन्छ । ऊसँग पनि ढुक्क छु । तर किन किन चिन्ता भने लाग्दो रहेछ । त्यसैले उहाँलाई फोन गरिरहन्छु । धेरै समय बाहिर रहनुपर्ने भयो भने भिडियो कल गर्छु । घरबाट बाहिर हुँदा ध्यान भने बच्चामै हुन्छ ।

अरूलाई जे काममा गएको हो, त्यसमा ध्यान दिनु, घरको चिन्ता नलिनु भनेर भन्ने मानिस म । तर अहिले फेरिएकी छु । अरूलाई पनि ट्रस्ट गर्छु । धेरै फोन गर्दा हेर्ने मानिसलाई दिक्क लाग्छ होला भनेर दुई तीन घण्टामा एक पटक फोन गरेर बच्चाको विषयमा बुझ्छु ।

पाहुनालाई रोक

कोरोनाको समय छ । घरमा आउने पाहुनाले बच्चा लिन खोज्छन् । उनीहरूलाई नलिनु भन्न भएन । त्यसैले घरमा बाहिरका मानिसको आवत जावत हाललाई निषेध गरिएको छ ।

अर्को महिनामा छोराको पास्नी पर्थ्यो । हामीले धेरैलाई बोलाएर राम्रोसँग भोज गर्ने सोचेका पनि थियौ । तर बेबीलाई केही भयो भने के गर्ने भन्ने चिन्ताले पास्नी पनि क्यान्सिल गर्दियौँ । 

बेबीका लागि त आफ्नो खानेकुरामा पनि सचेत हुनुपर्दो रहेछ । उसका स्वास्थ्यका लागि खान नहुने कुरो मैले बार्ने गरेकी छु । बच्चालाई हानी हुन्छ भनेपछि त्यो लिनु पनि भएन । त्यसो त पिरो, अमिलो म पहिले पनि खान्नथे । सधैँ नर्मल खानेकुरा खान्छु ।

काममा फर्किन तयार 

म छिट्टै अभिनयमा फर्किन्छु । त्यो हिसाबले मैले शरीर मेन्टन गरिसकेँ । म अहिले बेबी भएको समय भन्दा १६ किलो घटिसकेँ । पहिले त सुत्केरी हुँदा म एकदमै मोटाउनु पर्छ जस्तो लागेको थियो । प्रेग्नेन्सीको समय १४, १५ किलो मात्र बढेकी थिए । सुत्केरी अवस्थामा खाना पनि राम्रै खान्थे । तर मेरो वजन बढेन । अहिले म पहिलेको अवस्था अर्थात् ६५ केजीमा फर्किसके ।

‘हिजो आजको कुरा’ र ‘कौसिक’ गरी मेरा दुई फिल्म रिलिज हुन बाँकी छ । कौसिक आफ्नो प्रोडक्सनमा बनेको हो । यी दुई फिल्मको रिलिज अहिले टाउको दुखाइको विषय भएको छ । त्यो बाहेक अन्य दुई प्रोजेक्टको काम गर्ने कुरो भइरहेको छ । कमेडी च्याम्पियन सिजन थ्री पनि आउँदैछ । कुन प्रोजेक्टबाट काममा फर्किन्छु भन्न सक्दिन । तर काममा फर्किन तयार छु ।

अभिनेत्री शर्मासँग रातोपाटीकर्मी कुबेर गिरीको कुराकानीमा आधारित ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप