ब्यङ्ग्य : राम्रो म
भकारी भ को छोरो र बूढो य को बाबू ‘राम्रो म’ हेर्दा त्यति खाइलाग्दो छैन । तर आफूमा यति रवाफ र घमण्ड भरेको छ अनि सोच्दछ कि सिसाले ढुङ्गा फोर्न सक्छु ।
आजको समाजमा ‘राम्रो म’ लाई म धृष्टता, कटुभाषी, निष्प्रभावी, कसुर र कान्तिहीनको संज्ञा दिन्छु । छोरो र बाबुलाई फूर्ति देखाएर शासन जमाएको ‘राम्रो म’ को मैले छातीमा प्रहार गरेको देख्छु । ‘राम्रो म’ अक्षर आज हाँडीघोप्टे प्रवृत्तिको भएको छ ।
त्यसैले, धेरै अक्षरहरुको बरियात बर्कत लगाएर असरल्ल र जर्जर बनाई म अक्षर अगाडिको राम्रो शब्द हटाउन चाहन्छु । जनार्दन भन्दा राम्रो बन्नै सकिन्न भने ‘म’ कसरी राम्रो भयो ?
अधिनस्थ नभई स्वजन भएको भएता पनि उसलाई अहिले स्वजनबाट नै दुर्दशा बनाई लाञ्छना लगाउन खोजेका छन् । ‘राम्रो म’ यति अनिष्ट लाग्छ कि जसलाई श्रीहीन बनाएर सबै अक्षरमा ‘म’ प्रति बीभत्स गराऊँ ।
म खान्छु, म लाउँछु, म कमाउँछु भनेर आफू धेरै राम्रो भन्ने म, त कतै मेरा चक्षुबाट उद्दण्डको ज्वालाले खाक बन्ने पो हो कि ।
म लाई म यस्तो बदख्वाइँ गर्छु कि बरु म मको घनिष्ठ दौंतरीलाई पनि अनिष्ट पार्ने शत्रु बनाईदिन्छु । किनकि म अक्षर आफैंमा नराम्रो त छैन तर आचरण र मति भ्रष्ट छ ।
बोक्रे भलादमी आडम्बर, तागत, अहम्, तुजुग, देखावटीबाट लोकप्रियता र प्रभुत्व र शासन जमाई बसेको म लाई म उपहास गर्छु । मान्छेको अतित न संविधानको धारा हो, न अप्रकाशित पुस्तकको पाण्डुलिपि, जसलाई संशोधन गर्न सकिन्छ ।
जिब्रो एउटा यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ । सर्वव्यापी र सर्वशक्तिमान बन्न चाहन्छौं भने अरुको आलोचना हैन सम्मान गर्ने गर । बगैंचाका फुलबाट मुस्काउन सिक । नभमा भएको बादलबाट गम्भीरता सिक । नगल्ने र नथाक्ने पहाड अनि समुन्द्रबाट प्रतिक्षा भित्रको धैर्यको भाव सिक ।
अनि, चराचुरुङ्गीका चिरिबिरिबाट उनीहरुको जीवनको कथा सिक । समुन्द्रतर्फ बहेका नदीबाट मिहिनेत र आत्मविश्वास सिक । शुष्क प्रकृतिबाट निरसता सिक । माहुरीबाट एकता सिक । म बाट नै बनेको शब्द आमाबाट धेरै कुरा सिक ।
सरलता, अनुशासन र स्वाभिमानका साथ बाँच्न चाहन्छौ भने तिमी आफूमात्रै राम्रो हैन, सबै आ–आफ्नै ठाउँमा राम्रो र महत्वपूर्ण छन् भन्न सिक, हे म ।