प्रधानमन्त्रीको सम्बोधनबारे एमालेको यस्तो प्रतिक्रिया
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा गरेको सम्बोधन अप्राकृतिक र सत्ता गठबन्धनको बोझबाट पूर्णतः ग्रस्त रहेको बताएका छन् उनले सम्बोधनले कुनै स्पष्ट सन्देश र दिशा प्रदान गर्न नसकेको आरोप लगाए । मुलुक चरम आर्थिक, सामाजिक संकटमा फस्दै गएको अवस्थालाई देउवाको सम्बोधनले पूर्णतः उपेक्षा गरेको उनको आरोप छ ।
‘गम्भीर आर्थिक संकटबाट मुलुकलाई जोगाउन ठोस कार्ययोजना अघि प्रधानमन्त्री चुक्नुभयो । विगतको सरकारले अघि सारेका कामका परिणामलाई नै आफ्नो सरकारको उपलब्धिका रूपमा चर्चा गरेर भ्रम सिर्जना गर्ने कोसिस गरेको देखियो’ उनले भने । गठबन्धन सरकारले अघि सारेको कार्ययोजनाको कुनै ठोस उपलब्धि देखाउन नसकिने उनले बताएका छन् ।
कोभिडको तेस्रो लहरको नियन्त्रण र रोकथाममा सरकार पुरै असफल भएको महासचिव पोखरेलको आरोप छ । ‘खोपलाई प्राथमिकतामा राखेको सरकार खोप कार्यक्रममा पूर्णतः अकर्मण्य र असफल देखिएको छ । १८ वर्ष मुनिका बालबालिकाको सुरक्षाप्रति सरकार संवेदनशील देखिएन’ उनले भने ।
लाखौं मात्राको भ्याक्सिन हराएको गम्भीर र संवेदनशील सूचनाका बारेमा प्रधानमन्त्रीबाट मौनता साध्ने काम भएको पोखरेलको आरोप छ । अर्थ मन्त्रालयबाट भएको भनिएको नीतिगत भ्रष्टाचारका बारेमा कुनै चर्चा नगरी त्यसलाई स्वीकार्नु देउवाको कमजोरी भएको पोखरेलले बताए ।
‘कूटनीतिक मामिलामा सरकार पुरै असम्वेदनशील र गैरजिम्मेवार देखिएको । कालापानी क्षेत्रमा भएका पछिल्ला अतिक्रमणकारी घटनाका बारेमा सरकार पुरै लाचार देखियो’ उनी भन्छन् ।
आर्थिक, कूटनीतिलाई जोड दिनुपर्ने समयमा राजनीतिक पूर्वाग्रहका आधारमा राजदूत फिर्ता गरी प्रमुख विकास साझेदार चीनलगायतका मुलुकमा राजदूत नियुक्त गर्न उदासीन हुनु पनि आपत्तिको विषय भएको उनले बताएका छन् ।
स्थानीय तहको निर्वाचनको मितिका बारेमा निर्वाचन आयोगको सुझावलाई सम्बोधन गर्नबाटसमेत सरकार पन्छिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)