
आहा रारा गोल्डकप : पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश

वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका गोलरक्षक रोशन खड्काले सडनडेथमा नायकत्व भूमिका खेलेपछि विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार पोखरा रंगशालामा भएको खेलमा निर्धारित समय १–१ र अतिरिक्त ३० मिनेटमा समेत कुनै गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टी सुट आउट समेत ४–४ भएपछि खेलको छिनोफानो सडनडेथमा भएको थियो ।
जहाँ ११९ औं मिनेटमा मैदान छिरेका रोशन हिरो साबित भए । प्रशिक्षक अनन्त राज थापाले गोलकिपर सञ्जीव श्रेष्ठको ठाउँमा रोशनलाई मैदान छिराएका थिए ।
रोशनले विपक्षी हिमालयन शेर्पा क्लबका पूर्णबहादुर गुरुङको प्रहार जोगाए । सडनडेथमा पुलिसका बुद्ध तामाङ र राम वाजीले सहज गोल गरे भने हिमालयन शेर्पाका जीवन गुरुङले गोल गरे ।
यसअघि पुलिसका लागि तीर्थ रानामगर र निरकुमार राईसँगै भेट्रान स्टारहरू सुमन सुवेदी र भोलानाथ सिलवालका प्रहार गोलमा परिणत भएका थिए । कपिल ढकालले प्रहार गरेको चौथो पेनाल्टी पोस्टभन्दा धेरै माथिबाट बाहिरिँदा पुलिस पहिलो पाँच पेनाल्टीमै जित हासिल गर्नबाट चुकेको थियो ।
हिमालयन शेर्पाका लागि उर्लिच सिबेले गरेको पहिलो प्रहार नै पोस्टमा लागेर फर्किँदा पुलिसको सम्भावना बलियो बनेको थियो । तर त्यसपछि त्रिदेव गुरुङ, आशिष गुरूङ, मुतम्बा पिस्टोन र कप्तान विश्वास श्रेष्ठले लगातार गोल गर्दै खेल सडनडेथसम्म पुर्याएका थिए ।
यसअघि निर्धारित समयमा निरकुमार राईको गोलमा पुलिसले अग्रता लिए पनि हिमालयन शेर्पाका कप्तान विश्वासले खेल बराबरीमा ल्याएका थिए । निरकुमारले ५३ औं मिनेटमा गोल गरे पनि पुलिसले त्यो अग्रता लामो समयसम्म जोगाउन सकेन । त्यसको ६ मिनेट नबित्दै हिमालयन शेर्पाका लागि विश्वासले बराबरी गोल गरे ।
अब, पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत शनिबार एक खेल हुनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ