शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मधेश प्रदेशको राष्ट्रिय सभा चुनाव : सत्ता र विपक्षी गठबन्धनको यस्तो छ हिसाबकिताब

सत्ता गठबन्धनको मतभार ७,३०२, प्रतिपक्षीको मतभार २,४८४
शुक्रबार, ०७ माघ २०७८, १८ : ५४
शुक्रबार, ०७ माघ २०७८

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा एमालेले लोसपासँग गठबन्धन गरेको छ । तर, काँग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको सत्ता गठबन्धन अधिक मतले अगाडि रहेको देखिएको छ । मधेश प्रदेशमा जम्मा मतभार ९ हजार ८२२ रहेको छ । १०४ जना प्रदेशसभा सदस्य र २७१ जना पालिकाका प्रमुख र उपप्रमुखमध्ये सत्ता गठबन्धनको मतभार ७ हजार ३०२ छ भने प्रतिपक्षी गठबन्धनको मतभार केवल २ हजार ४८४ मात्र छ ।

दुई गठबन्धनबीच ४ हजार ८१८ मतभारले फरक छ । १९ जना प्रदेश सांसद, स्थानीय तहमा ८१ जना प्रमुख र उपप्रमुख गरी काँग्रेसको मतभार २ हजार ३७० रहेको छ । यसरी काँग्रेसको एक्लो मतभार प्रतिपक्षभन्दा बढी छ । त्यस्तै, प्रदेशसभा सदस्य ८ जना र स्थानीय तहमा ४५ जना प्रमुख र उपप्रमुख गरी माओवादी केन्द्रको मतभार १ हजार १९४ रहेको छ । प्रदेशसभा सदस्य १३ र स्थानीय तहमा सात जना प्रमुख र उपप्रमुख गरी नेकपा एसको मतभार ७ सय ५० छ । त्यस्तै, प्रदेशसभा सदस्य ३९ र स्थानीय तहमा ६२ जना प्रमुख र उपप्रमुख गरी जसपाको मतभार २ हजार ९८८ छ । 

उता प्रदेशसभा सदस्य आठ र स्थानीय तहमा ३० जना प्रमुख तथा उपप्रमुख गरी एमालेको जम्मा मतभार ९ सय २४ रहेको छ । त्यस्तै, प्रदेशसभामा १६ जना प्रदेशसभा सदस्य तथा स्थानीय तहमा ४४ जना प्रमुख तथा उपप्रमुख गरी लोसपाको मतभार १ हजार ५६० रहेको छ । 

चुनावमा प्रदेश सांसदको मतभार ४८ तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ तोकिएको छ । त्यसो त गठबन्धनमा नरहेका दलहरु पनि छन् मधेश प्रदेशमा । नेपाली जनता दलको स्थानीय तहमा दुई भोट अर्थात् मतभार ३६ रहेको छ । नेपाल संघीय समाजवादी पार्टीको एकजना प्रदेशसभा सदस्य रहेकोमा मतभार ४८ रहेको छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन यही १२ माघमा निर्वाचन हुँदैछ । एमाले र लोसपा गठबन्धनमा एमालेका उम्मेदवार उसमान अन्सारी (सूर्य छाप) र महिलातर्फ लोसपाका उम्मेदवार रुपाकुमारी यादव (साईकल छाप) लाई मतदान गर्ने सहमति भएको छ । त्यस्तै सत्ता गठबन्धनमा माओवादी केन्द्रका उर्मिला अर्याल, जसपाका खालिद सिद्धिकीलाई मतदान गर्ने सहमति भएको छ । मधेश प्रदेशमा काँग्रेस र नेकपा एस पार्टीको उम्मेदवार छैनन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप