बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक यातायातमा जोरबिजोर : कोरोना नियन्त्रणमा सहयोग पुग्ला ?

शुक्रबार, ०७ माघ २०७८, १५ : १५
शुक्रबार, ०७ माघ २०७८

सरकारले सार्वजनिक यातायातमा लगाएको जोर बिजोर प्रणालीका कारण कोरोना संक्रमण फैलावट झनै तीव्र हुने जोखिम बढेको कतिपयले चिन्ता व्यक्त गरेका छन् । कामकाज र गन्तव्यमा पुग्नुपर्ने यात्रुको संख्या नघट्ने, तर सवारीसाधन संख्या घट्ने हुनाले कोचिएर यात्रा गर्दा संक्रमण फैलने चिन्ता सर्वसाधारणमा छ । 

सन् २०१९ देखि महामारी नित्याउँदै फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न भन्दै सरकारले सार्वजनिक यातायातमा पटकपटक जोर बिजोर प्रणाली लागू गर्ने गरेको छ । अहिले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ह्वात्तै बढेपछि प्रशासन कार्यालयहरूले फेरि यातायातमा जोरबिजोर प्रणाली लागू गरेका छन् । 

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले आज (शुक्रबार) राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने घोषणा गरिसकेका छन् । मन्त्रिपरिषद्को निर्णय, स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि र संक्रामक रोग ऐन, २०२० ले दिएको अधिकार प्रयोग गरी सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लगाएका हुन् ।

तर, जोरबिजोर प्रणाली लागू गर्ने प्रशासनको अव्यवहारिक र संक्रमण झनै फैलाउन सहयोग पुग्ने खालको रहेको भन्दै टिकाटिप्पणी बढेको छ । सामाजिक सञ्जालहरूमा नागरिकले सरकारी कदमको आलोचना गरिरहेका छन् भने सरोकारवालाहरूले पनि आपत्ति जनाएका छन् । 

आजै जिल्ला प्रशाासन कार्यालय काठमाडौंमा बसेको विपद् व्यवस्थापन समिति बैठकमा यातायात व्यवसायीहरूले जोरबिजोर प्रणाली लागू गर्नु झनै अव्यवहारिक भएको बताएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बैठकबाट बाहिरिएपछि रातोपाटीसँग भने, ‘जोरबिजोर प्रणालीले संक्रमण झनै बढाउनेवाला छ । किनकी, कुनै गन्तव्यमा पुग्नुपर्ने २० जना यात्रु अब एउटै गाडीमा कोचिएर जानुपर्ने भयो । यात्रुहरू फरक सवारीसाधनमा बाँडिन पाउँदैनन् ।’ चालक, सहचालक र यात्रुले अनिवार्य मास्क लगाउने र प्रशासनले सबै सवारीसाधन चल्न दिनु नै वुद्धिमतापूर्ण हुने सिटौलाको भनाइ छ । 

‘जोरबिजोर प्रणाली समस्या समाधानको उपाय हुँदै होइन, अब त ३० सिटे गाडीमा ६० जना यात्रु कोचिनुपर्ने भयो । तर, प्रशासनले निर्णय गरेपछि यातायात व्यवसायीले मान्नैपर्छ,’ सिटौलाले थपे, ‘संक्रमण रोक्ने नै हो भने बरू केही समय सार्वजनिक र निजी सवारीसाधन सञ्चालन गर्न नदिनु नै उपयुक्त हुन्छ, तर यसो गर्दा पनि संक्रमण फैलावटमा खासै चेन ब्रेक नदेखिएको तथा जनजीविका र अर्थतन्त्रमै समस्या परेकाले ठप्प पार्नु पनि समाधान होइन । सबै सार्वजनिक यातायात खुला राखी सवारीसाधनमा यात्रु चाप कम गर्नुपर्छ ।’

यता, जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी उमाकान्त अधिकारी भने जोरबिजोर प्रणाली अव्यवहारिक नरहेको जिकिर गर्छन् । उनी भन्छन्, ‘जतिधेरै सवारीसाधन, उतिधेरै भीडभाड भयो । अनावश्यक आवतजावत रोकिएन, संक्रमण झनै फैलियो ।’

यस्तो प्रवृत्ति निरुत्साहन गर्न जोरबिजोर लगाइएको अधिकारीको तर्क छ । यो निर्णय कार्यान्वयन गर्दा नागरिकको प्रतिक्रिया बुझ्ने र थप निर्णय गर्ने उनले बताए । 

सर्वसाधारणबाट चर्को आलोचना
सार्वजनिक सवारीसाधन सञ्चालनमा जोरबिजोर लागू गर्ने प्रशासनको निर्णय नागरिकस्तरमै पनि आलोचित भएको छ । यसअघि जोरबिजोर लागू गर्दा खासै विरोध नगरेका नागरिकले यसपटक भने सरकारी कदमको चर्को आलोचना गरेका हुन् ।
यसैबीच जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले पनि जोरबिजोर लागू गरेर कोरोना संक्रमण नघट्ने जिकिर गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप