बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तिनजुरे क्षेत्रमा  हिमपात : जनजीवन कष्टकर, पर्यटकलाई रमाइलो

शुक्रबार, ०७ माघ २०७८, १४ : ०८
शुक्रबार, ०७ माघ २०७८

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे क्षेत्रमा हिउँले ढाकेर सेताम्मे बनेको छ । बिहीबार दिउँसोदेखि परेको पानीसँगै हिमपात हुँदा यस क्षेत्र हिउँले ढाकेको  छ । पूर्वी नेपालमा पर्यटकीय गन्तव्यको रुपमा  परिचित तिनजुरे क्षेत्रमा तेस्रो पटक हिउँ परेको हो ।

हिउँ परेसँगै अत्यधिक जाडोका कारण यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।  विशेषगरी बालबालिका र वृद्धवृद्धाहरूलाई समस्या भएको स्थानीयहरूले बताउने गरेका छन । हिउँ परेसँगै आन्तरिक पर्यटकहरू भित्रिने क्रम बाक्लो रहेको देउरालीका छिरिङ शेर्पाले बताए । 

‘यहाँका नागरिकहरूलाई जाडोले समस्या भएको छ । तर, हिउँ खेल्नका लागि पूर्वी तराईका जिल्लाहरूबाट पर्यटकहरू निकै बाक्लो आउने गरेका छन्,’ उनी भन्छन् । सुनसरीको धरानदेखि तिनजुरेमा हिउँ खेल्न आएको शंकर राईले बताए । ‘जीवनको पहिलो अनुभव हिउँमा खेल्न पाउँदा एकदमै रमाईलो भएको छ । यसअघि आउन सकेको थिइँन । यसपटक भने हिउँ सँगै रमाउन पाएको छु,’ उनले भने ।

यसक्षेत्र खासगरी हिउँ पर्ने सिजन तथा गुराँस फुल्ने सिजनमा पर्यटक आउने गरेका छन् । चित्रे, बसन्तपुर, टुटे देउराली, आरआर गार्डेन, पाथीभरा तिनजुरे, पाँचपोखरी, मंगलबारे, चौकी गुफा पोखरीलगायतका स्थानहरू हिउँले ढाकेको टुटे देउरालीका होटल व्यवसायी श्री कार्कीले बताए । 

उनका अनुसार हिउँ परेसँगै पर्यटकहरू साना तथा ठुला सवारी साधान रिजर्भ गरी आउन थालेका छन् । पर्यटकहरू भित्रिन थालेसँगै यहाँका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।  विगतका वर्षहरूको तुलनामा यस वर्ष कोरोनाका कारण कमै पर्यटकहरू आएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप