बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली किन ? यसो भन्छ प्रशासन

शुक्रबार, ०७ माघ २०७८, १३ : ३६
शुक्रबार, ०७ माघ २०७८

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधिहरुलाई निरुत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको बताएको छ । काठमाडौं उपत्यकाका तिन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रवार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरुलाई रोक्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्नुपरेको बताए । 
सवारीसाधनको जोरबिजोर प्रणालीले आवश्यकताभन्दा बाहेकका गतिविधिलाई निरुत्साहित गर्ने ठहरका साथ प्रशासनले यस्तो निर्णय गरेको उनको भनाइ छ  

‘भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरुको कारणबाट कोभिडको संक्रमण फैलावटमा मद्दत गरिरहेको र यसलाई न्यूनिकरण गर्नलाई समस्या भएको भन्ने विश्लेषण हो । यसका साथै अत्यावश्यक काममा हिँडडुल गर्ने कुरा त आफ्नो ठाउँमा स्वभाविक रुपमा छ’, उनले भने, ‘तथापि संक्रमणको यो स्तरको वृद्धि हुँदापनि सामाजिक रुपमा त्यसले अझपनि मानिसहरुको आवत्जावत्, हिँडडुल, भीडभाड अझपनि नघटिरहेको अवस्था देखिएपछि यो सवारी साधनको व्यवस्थापनको पाटोबाट यसलाई जोर बिजोरको हिसाबले गएको हो र यसले अत्यावश्यक काममा जानुपर्ने बाहेक अन्य मान्छेहरूको गतिविधिलाई, भीडभाडजन्य गतिविधि, क्रियाकलापलाई केही हदसम्म निरुत्साहित गर्छ भन्ने यसको मकसद हो ।’

सवारी साधनमा जोरबिजोर प्रणाली लागु भएपनि उपचार लगायत अत्यावश्यक सेवा प्रवाहका लागि भने समस्यामा नपार्ने उनले स्पष्ट पारे ।  यसको निम्ति प्रशासन छलफलमा रहेको उनले जानकारी दिए । 

सवारी साधनको चापका कारण भीडभाड न्यूनिकरण नभएको र संक्रमण बढिरहेको सहायक प्रजिअ अधिकारीले बताए । सवारी साधन कम चल्दा भीडभाडजन्य गतिविधि कम हुने उनले उल्लेख गरे ।

प्रशासनले दिएको आदेशलाई प्रभावकारी कार्यान्वयनका निम्ति निरन्तर अनुगमन गरिरहेको सहायक प्रजिअ अधिकारीको भनाइ छ । आदेशको पालना गर्ने पहिलो जिम्मेवारी र भुमिका नागरिककै हुने भएकाले आदेश पालना गर्न पनि उनले आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप