मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा अब बाहिर जाँदा मास्क र कोभिड पास नचाहिने

शुक्रबार, ०७ माघ २०७८, १३ : २५
शुक्रबार, ०७ माघ २०७८

नेपालमा सार्वजनिक सेवा लिन शुक्रबारदेखि अर्थात् आजदेखि अनिवार्य रुपमा खोप कार्ड देखाउनुपर्ने नियम लागू भएको छ तर बेलायतमा भने यस्तै खालको नियमको अन्त्य गरिएको छ । 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘प्लान ए’ नाम दिइएको नियम उल्टाइदिएका छन् । बुस्टर डोज र जनताले प्लान ‘बी’ नीति अवलम्बन गरेकाले अब प्लान ‘ए’ लाई उल्टाइएको प्रधानमन्त्री जोनसनले बताएका हुन् ।

बोरिसले घरबाट काम गर्नुपर्ने नियमलाई पनि छिट्टै नै हटाउने बताएका छन् । 

बोरिसका अनुसार देशका वैज्ञानिकले ओमिक्रोनको लहर उत्कर्षमा पुगिसकेको विश्वास गरेका छन् ।  

डाउनीङ स्ट्रिटको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री साजिद जाभेदले भने, ‘यो हामी सबैले गर्व गर्न लायकको अवस्था हो ।’

‘सबैजना मिलेको अवस्थामा कुनै पनि देशले आफ्नो उद्देश्य प्राप्त गर्न सक्छ भन्ने कुरालाई यसले एकपटक पुनः स्मरण गरिदिएको छ ।’

उनले थपेका छन्, ‘तर यसलाई फिनिस लाइनको रुपमा हेर्न हुँदैन ।  किनकी भाइरस र यसका भावी भेरियन्टलाई निर्मुल पार्न सकिन्नँ । यसको सट्टा हामीले फ्लू हुँदा जसरी जीवनयापन गर्छौँ त्यसरी नै कोभिडसँग पनि बाँच्न सिक्नुपर्छ । ’

उनले भाइरसलाई किनारामै राख्न जनतालाई हात धुने, हावाको प्रवाह हुन सक्ने कोठामा बस्ने र पोजिटिभ आएमा स्वयंलाई आइसोलेसनमा राख्ने लगायतका काम गर्न आग्रह गरेका छन् । यसैगरी खोप नलगाएकालाई खोप लगाउन दबाब दिन समेत उनले आग्रह  गरेका छन् ।

हाउस अफ कमन्समा गरिएको सम्बोधनमा प्रधानमन्त्रीले समेत यसै कुरालाई जोड दिएका छन् ।

रात्रीकालीन क्लबमा जान र ठूला कार्यक्रममा जान कोभिड पासपोर्ट आवश्यकता पर्ने उनले बताए ।

यसका साथै, घरमा नै बसेर काम गर्न बाध्यसमेत नपारिने प्रधानमन्त्री बोरिसले बताएका छन् । कामका फर्कनका लागि आफ्ना रोजगारदातासँग सम्पर्क गर्न पनि उनले सुझाएका छन् । 

बोरिसका अनुसार बेलायतमा मास्क लगाउन पनि बाध्यकारी बनाइने छैन । यद्यपि, भीडभाडयुक्त र बन्द कोठामा भने फेस मास्क लगाउन उनले सुझाएका छन् । 

प्रधानमन्त्रीले कोभिड पोजेटिभ भएका व्यक्तिलाई आइसोलेशनमा बस्नका लागि तोकिएको नियम पनि समाप्त गर्न चाहेको बताएका छन् । सल्लाह र मार्गनिर्देशनसँगै यसमा परिवर्तन गर्ने उनले बताएका छन् । 

सेल्फ आइसोलेशनमा बस्दा अपनाउनुपर्ने नियमको तोकिएको म्याद २४ मार्चमा समाप्त हुँदैछ । जोनसनले ती नियममा परिवर्तन ल्याउनेबारे आफू सकारात्मक भएको र डाटाले दिएको खण्डमा त्यो मिति अघि सार्ने पनि उनले आशा व्यक्त गरे । 

बेलायतमा ओमिक्रोनका कारण लागू गरिएको प्रतिबन्ध जनवरी २६ मा समाप्त हुँदैछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप