बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व फेर्ने कसरत, काँग्रेसले थाल्यो आन्तरिक गृहकार्य

शुक्रबार, ०७ माघ २०७८, १२ : ०३
शुक्रबार, ०७ माघ २०७८

लुम्बिनी प्रदेशका सरकारको नेतृत्व फेर्नेगरी काँग्रेसले आन्तरिक गृहकार्य थालेको छ । माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच काँग्रेस र माओवादीले आठ–आठ महिना सरकारको नेतृत्व गर्ने आन्तरिक समझदारी भएको थियो ।

केसी मुख्यमन्त्री बनेको आगामी १२ फागुनमा आठ महिना पुग्दैछ । आलोपालो सहमतिअनुसार त्यसपछि काँग्रेसले प्रदेश सरकारको नेतृत्व लिनुपर्ने हुन्छ । काँग्रेस नेताहरूले अहिले आलोपालो सहमतिलाई कोट्याएर नेतृत्व परिवर्तनको गृहकार्य थालेका छन् । 

आलोपालो सहमतिअनुसार अर्को महिना आफ्नो दलले नेतृत्व पाउने नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्विन खाँणले बताए । “आठ–आठ महिना सरकारको नेतृत्व गर्ने विषयमा दुई दलबीच समझदारी भएको हो, सोहीअनुसार फागुनमा हाम्रो नेतृत्वमा लुम्बिनी सरकार बन्ने कुरामा हामी स्पष्ट छौं”, उनले भने ।

काँग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धनबाट केसी मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनभित्रको ठूलो दल काँग्रेससँग आलोपालोमा केसी आठ महिना मात्र मुख्यमन्त्री बन्ने सहमति छ । सहमतिअनुसार केसी नेतृत्वको सरकारको आयु अब एक महिना मात्र बाँकी छ ।

सहमति कार्यान्वयन भए फागुनपछि काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने छन् । तर मुख्यमन्त्रीले भने सरकार फेरिँदा आलोचना बढ्ने भन्दै आलोपालो सहमति कार्यान्वयन गर्ने पक्षमा नरहेको उनी निकट नेताहरु बताउँछन् ।

“नेतृत्व परिवर्तनले गठबन्धन दलभित्रै असन्तुष्टि बढ्ने भएकोले अहिलेकै नेतृत्व कायम राख्ने गरी पहल थालेका छौं”, मुख्यमन्त्री केसी निकट एक नेताले भने । यसका लागि मुख्यमन्त्री केसीले काँग्रेसलाई थप केही मन्त्री दिएर भए पनि मनाउने प्रयास गरिरहेका छन् । तर मुख्यमन्त्री केसी नेतृत्वको सरकारले गरेका धेरै निर्णयहरूमा काँग्रेसभित्र असन्तुष्टि रहेकाले सरकार फेर्नै पर्ने अडानमा काँग्रेस नेताहरू छन् । “मुख्यमन्त्री केसीले गरेका विवादास्पद नियुक्तिहरूमा हाम्रो गम्भीर असहमति छ, तसर्थ आलोपालो सहमतिअनुसार नेतृत्व फेर्नुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौं”, काँग्रेसका एक नेताले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप