बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पाथीभरा क्षेत्रमा यो वर्ष तेस्रोपटक हिमपात

शुक्रबार, ०७ माघ २०७८, ११ : २७
शुक्रबार, ०७ माघ २०७८

ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित  प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा  हिमपात भएको हो । हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।

उनले भने, “चार जना तीर्थ यात्रीसँगै लिएर जाँदैछु । हिमपात हुन रोकिएको छैन । हिउँले बाटो पूरै छोपिएको छ । बाटो अनुमान गर्दै जानुपर्नेछ ।” पाथीभरामा जानुभन्दा पनि फर्किन समस्या हुने गरेको उनले बताए । मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्दछ ओरालो बाटोमा हिउँमा चिप्लिने समस्या हुने गरेको उनले बताए । पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात हुन सुरु भएको हो । सोदिन ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको क्षेत्र विकास समितिले जनाएको छ ।

समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ याङमा तीन हजार ४०० मिटर उचाइ क्षेत्रका बस्तीमा बिहीबारदेखि हिमपात हुन थालेको छ । हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए । हिमपातले जनजीवन प्रभावित हुनुका साथै पशुचौपायसमेत प्रभावित हुने घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले जानकारी दिए ।

हिमाली क्षेत्रका प्रमुख पुख्र्यौली पेसाका रुपमा पशुपालन गर्दै आएको छ । तर हिमपातको समय पशु जोगाउने मुस्किल पर्ने शेर्पाले बताए । सबैभन्दा याक चौँरीको बाछाबाछीलाई हिमपातको समयमा जोगाउने समस्या हुने उनले बताए । यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङ्चुगोला, भले र ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपात भएको छ ।

मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङ बस्तीमा समेत हिमपात भएको मिक्वाखोला गाउँपालिका–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताए । हिमपात भएसँगै  सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ । अत्यधिक जाडोले जनजीवन प्रभावित भएको छ । जिल्लामा पहिलो पटक गत पुस १३ र १४ गते हिमपात भएको थियो । दोस्रो पटक पुस २९ मा हिमपात भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप