आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण जोखिमको बेला प्रभावकारी बन्दै अनलाइन श्रम स्वीकृति

शुक्रबार, ०७ माघ २०७८, १० : १९
शुक्रबार, ०७ माघ २०७८

 वैदेशिक रोजगार कार्यालय, काठमाडौंले हालै शुरु गरेको अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको छ । दैनिक एक हजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुन: श्रम स्वीकृति लिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए। 

कोरोना संक्रमण जोखिमको बेला अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको कार्यालय प्रमुख अर्यालले बताए । यसअघि एक हजार बढी सेवाग्राहीको भौतिक उपस्थितिमा सेवाप्रवाह गर्दा विभिन्न गुनासो आउने गरेको र कर्मचारीले समेत रातीसम्म काम गर्नुपर्ने बाध्यता अहिले हटेको छ ।

 श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम स्वीकृतिलाई पेपरलेस बनाउन निर्देशन दिएसँगै छिटो, छरितो र  पारदर्शी र गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट पुन: श्रम स्वीकृतिको काम सुरु भएको थियो । अनलाइनमा कागजातहरु जाँच गर्न समय लाग्ने तथा कहिलेकाही इन्टरनेट सर्भरको समस्या हुनसक्ने भएकोले तीन दिन अगाडि अनलाइन फाराम भर्न कार्यालयले भनेको छ।

 अनलाइन प्रणालीमा समय बढी लाग्ने र खर्चिलो हुने तथा इपासपोर्टसँग म्याचिङ नहुने भनि अफवाह फैलाइएको भन्दै कार्यालयले सेवाग्राहीले विवरण सही भरेमा सोही दिन नै श्रम स्वीकृति दिने गरिएको जनाएको छ । पुनः श्रम स्वीकृतिको लागि म्यादी जीवन विमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायक मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ। 

म्यादी जीवन वीमाको शुल्क उमेर अनुसार हुने र वैदेशिक रोजगार कल्याणकारी कोषको लागि एक हजार पाँच सय रुँपैया शुल्क लाग्ने कार्यालयका सूचना अधिकारी हरिराम नागिलाले बताए । जीवन वीमा र कल्याणकारी कोष समेत गरी ३५ वर्षसम्मका लागि पाँच हजार दुई सय आठ रुँपैया, ३६ वर्ष देखि ५० वर्षसम्मका लागि छ हजार चार सय ३१ रुपैयाँ र ५१ वर्ष  देखि माथिका लागि १० हजार नौं सय ६३ रुपैया मात्र शुल्क लाग्छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप